शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

बिहीबार, ०१ फागुन २०७६, १३ : ०६
बिहीबार, ०१ फागुन २०७६

–काशीराम शर्मा

बाँके । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ ।

सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, कोरोना हेल्थ हेस्क हरेक दिन सुनसान हुने गरेको छ । स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन् । हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ । तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् । हेल्थ डेस्कमा जाँचका लागि खटिएका स्थास्थ्यकर्मी नै अनभिज्ञ देखिएका छन् । 

कोरोना भाइरस नयाँ भएकाले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउँछन् । उनले भने, ‘कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन ।’ भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणका बारेमा पनि आफूलाई जानकारी नभएको उनी बताउँछन् । थापाले भने, ‘नयाँ रोग भएकाले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन ।’ 

कोरोना भाइरस नयाँ भएकाले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन, नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालीम दिए मात्र सेवा प्रभावकारी बन्न सक्छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरणसमेत छैनन् ।
 
इन्फ्रारेड थर्मोमिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताए । हेल्थ डेस्क स्थापना भएको एक साता पुगिसकेको छ । तर, अहिलेसम्म २० जनाको मात्रै स्वास्थ्य जाँच गरिएको उनको भनाइ छ । भारतमा कोरोना भाइरस नदेखिएकाले कडाइका साथ जाँच गरिएको छैन ।
 
शङ्कास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन् । रुघाखोकी र ज्वरो आएकोजस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए । 

कोरोना भाइरस जाँचका लागि नाकामा हेल्थ असिस्टेन्टलाई खटाए पनि भारतको उत्तर प्रदेश सरकारले नेपालगञ्ज नाकाअन्तर्गत आफ्नो भूमिमा मेडिकल अधिकृत डा.मुकिम अहमदको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । चिनियाँ नागरिकलाई लक्षित गरी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको सिएचसी चर्दाका वार्ड असिस्टेन्ट धर्मराज बर्माले बताए ।
 
नेपालबाट भारत प्रवेश गर्ने नागरिकमा कोरोना भाइरस फेला परेमा एम्बुलेन्समार्फत तत्कालै जिल्ला अस्पताल बहराइच पु¥याउने व्यवस्था मिलाइएको उनले बताए । ‘एम्बुलेन्समार्फत बहराइच लगेर शङ्कास्पद व्यक्तिमा कोरोना भाइरस भए नभएको पत्ता लगाउन पूरै शरीरको जाँच गर्ने गरी स्वास्थ्यकर्मी परिचालन भएका छौँ’, बर्माले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप