शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी बन्यो कम्युन आधारशिला : समाजवादको खुड्किलो !

बुधबार, २९ माघ २०७६, १४ : ४६
बुधबार, २९ माघ २०७६

म तत्कालीन एकता केन्द्र मसालको जनकपुर, सगरमाथा, मेची, कोसीको इन्चार्ज थिएँ । हाम्रो बाहिरी मोर्चामा अमिक शेरचन अध्यक्ष रहनुभएको जनमोर्चा थियो । त्यसको म उपाध्यक्ष पनि थिएँ । नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ एकता केन्द्रको महासचिव हुनुहुन्थ्यो । २०४६ सालको आन्दोलनपछि नेपालको क्रान्तकारी आन्दोलन दुईवटा बहसहरु महत्त्वपूर्ण रह्यो । एउटा तत्कालीन एकता केन्द्रमा क्रान्ति कसरी सफल पार्ने र अर्को जनयुद्धमा जाने कि नजाने भन्ने थियो ? जनयुद्धको मोडेल के हुन्छ ? आधार इलाका बनाउने कि नबनाउने जस्ता विषयमा पनि बहस भएका थिए ।

अर्कोतर्फ ९० को दशकमा सोभियत सङ्घमा जुन विखण्डन भयो । त्यसपछि अन्तर्राष्ट्रिय रूपमा एउटा बहस सुरु भयो । उता तत्कालीन एमालेभित्र समाज कस्तो बनाउने बहस सुरु भएको थियो । सही खालको एउटा कम्युनिस्ट पार्टी बनाउनुपर्छ भनी २०४८ सालमा तत्कालीन एकता केन्द्रको महाधिवेशनमा मैले पनि प्रस्ताव पेस गरेको थिएँ । त्यतिबेला पार्टीमा मेरो नाम पियूष थियो । त्योबेला ती प्रस्ताव निकै चर्चित भएको थियो ।

आधारशिलाका आधार 

हामी जनयुद्धका पक्षधर थियौँ । तर नेपालमा चीन मोडेलका आधार इलाका बनाएर क्रान्ति गर्न सकिँदैन, त्यो क्रान्ति टिक्दैन भन्ने सोच हाम्रो थियो । २०५१ सालमा आएर पार्टी विभाजन भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कसरी सम्पन्न गर्ने, क्रान्ति कसरी सफल पार्ने भनेर बहसहरु भइरहेका थिए । क्रान्तिपछिको समाज कस्तो बनाउने त्यो पनि एउटा बहस थियो । त्यो सेरोफेरमा नै  प्रकाश (नारायणकाजी श्रेष्ठ) पार्टी नेतृत्वको भूमिकामा आउनुभयो ।

२०५४ सालमा हामीले एउटा विशेष सम्मेलन गर्यौँ । त्यसलाई हामीले महाधिवेशन तहकै सम्मेलन भन्ने गरेका छौँ । नेपाली क्रान्तिको कार्यदिशा के हुनसक्छ, पार्टी निर्माणको कुरा के हो, समाजवादी आन्दोलन किन ढले र ती क्रान्तिको शिक्षा के भन्ने जस्ता विषय त्यो विशेष सम्मेलनबाट हल गर्यौँ । त्यो हल भइसकेपछि कस्तो भयो भने तत्कालीन माओवादीसँग हाम्रो मतभेद थियो भने तत्कालीन राज्य सत्तासँग एकखालको मतभेद थियो ।

पूर्णकालीन नेता र सहिद

सम्मेलनबाट पार्टीको लाइन क्लियर भयो र क्रान्ति यसरी सम्पन्न हुन्छ भनी स्पष्ट भएपछि पूर्णकालीन कार्यकर्ताको तीव्र विकास भयो । माओवादीले आर्जन गरेको शक्तिलाई पनि नेपालको परिवर्तनको दिशामा सही ढङ्गले लैजानु पर्छ भनी नयाँ ढङ्गको बहसमा हामी आयौँ । त्यो सेरोफेरमा सत्ताको तर्फबाट हाम्रा ३६ जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु मारिनुभयो । एकातिर पूर्णकालीन नेताको पनि सङ्ख्या बढ्दै गइरहेको थियो भने अर्कोतिर सहादत दिनहरुको सङ्ख्या पनि बढिरहेको थियो ।

आधारशिलाका लागि अध्ययन

अब काम कसरी गर्ने त्यो चुनौती हामी समक्ष आयो । पूर्णकालीन कार्यकर्ता एवं सहिदका परिवार तथा बालबच्चाको व्यवस्थापन कसरी गर्ने त्यो चुनौती हामीसामु आइपुग्यो । हल गर्दाखेरी अन्तर्राष्ट्रिय कम्युनिस्ट अन्दोलनका पराजयको कारणहरु पनि सम्झाना आयो । त्यो आत्मगत पक्षमा ध्यानदिनुपर्छ भने मेरो सोच थियो । मैले धार्मिक संस्थाहरुको बारेमा अध्ययन गरेको थिएँ भने भारतको अङ्ग्रेजविरुद्ध आन्दोलनको बारेमा पनि अध्ययन गरेको थिएँ । त्यहाँ पनि एक खालको कम्युन निर्माण गरेर काम गरेको देखाइएको थियो । सावना आजमीका बुबा, केही साहित्यकार कम्युनमा हुर्केका व्यक्तिहरु हुनुहुन्छ । भारतका केही पार्टीले पनि यसखालको काम गरेको पनि मैले अध्ययन गर्ने क्रममा पाएको थिएँ ।

पश्चिमबाट आएको मार्क्सवाद हामीले बुझ्यौँ, तर पूर्वीय दर्शनको विषयलाई पक्रिएर सही ढङ्गले अगाडि बढाएको थिएन । बुद्धकै कुरा गर्ने हो भने उनले पनि सुरुदेखि आफूलाई कलेक्टिभमै आफूलाई अगाडि बढाउनु भएको थियो । समाज पनि त्यस्तै खालको छ, जनजातीय विशेषता पनि त्यस्तै खालको छ ।

यसरी बन्यो आधारशिला

अब पार्टी बनाएर मात्र हुँदैन, अलि भिन्न तरिकाले अगाडि बढ्नुपर्ने सोच पार्टीमा आउन थाल्यो । त्यही क्रममा २०५९ साल माघ २६ गते सिरहाको गोलबजारमा पूर्णकालीन नेता तथा सहिद परिवारका १८ जना केटाकेटीलाई राख्ने गरी कम्युन जस्तै आधारिशिला सुरु गर्यौँ । सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि आधारशिला भन्यौँ र होस्टेल मोडेलमा गयौँ । बच्चालाई राखेपछि उनीहरुलाई अध्ययन गराउन स्कुलमा लग्यौँ । गोलबजार असनपुरको मावि थियो । त्यसमा पढाइ राम्रो थिएन त्यतिबेला । हामी बच्चाका लागि स्कुलको खोजीमा थियौँ । बच्चाहरुको अध्ययन अध्यापन र लालन पालन हाम्रा लागि मुख्य कुरा थियो । सहिदका छोराछोरीले माया खोजिरहेका थिए, सामाजिक र पारिवारिक वातावरण खोजिरहेका थिए ।

पूर्णकालीन कार्यकर्ता तथा नेताहरुले आफ्ना बच्चाहरुका लागि के भइरहेको छ भनी चासो लिइरहेका हुन्थे । त्यो कुराले पनि हामीलाई पिरोलिरहेको थियो । हामीलाई त्यहाँ जग्गा पनि अपुग भयो । देउसी भैलो खेलेर केही रकम जम्मा गरेका थियौँ, त्यसले दुई कठ्ठा जमिन किनेका थियौँ । पछि त्यही जमिन बेचेर हामी महोत्तरी सरेका थियौँ । त्यहाँ सहकारी चलाएर होस्टल सञ्चालन गरेका थियौँ । बच्चाका कोणबाट हेर्दा यो होस्टल बनाएर हुँदैन भन्ने लागेको थियो । सहकारीबाट माथि उठ्नुपर्छ भनेर आह्वान गर्यौं ।

पैतृक सम्पत्तिको सामूहिकीकरण

हामीले आफ्ना पैतृक सम्पत्ति पनि यसमा राखेर सामूहिक अभ्यासको मोडेलमा जाने प्रयास भयो । बच्चाबाहेक अन्य पूर्णकालीन नेता तथा कार्यकर्ताहरु पनि बस्न थाल्नुभएको थियो । हामीले कोठा भाडामा लिएर बसेका थियौँ तर त्यो समाधान थिएन । यसलाई कसरी समाधान गर्ने भन्ने प्रश्न खडा भयो । यस विषयमा अन्य नेताहरुका साथै प्रकाश (नारायणकाजी श्रेष्ठ) सँग छलफल भयो ।

हामी केही परिवारले आधारशिलाको प्रक्रियामा जाने निर्णय गरेका थियौँ । सर्वहाराकरणको एउटा मान्यता छ, त्यो सम्पत्ति बुझाएर मात्र सर्वहाराकरण हुँदैन । चिन्तन, पद्धतिमा सर्वहाराकरण गर्दै सम्पत्तिमा पनि सर्वहाराकरण गर्ने प्रक्रियामा जानुपर्छ भन्ने सवाल उठ्यो । सर्वहाराकरण सम्पत्ति ल्याएर बुझाउने काम त भयो तर त्यसको मोडालिटी बनेको थिएन ।

कस्तो मोडेल बनाउने भनेर छलफल भएपछि हामी कलेक्टिभमा जाऊँ, यो पार्टी कम्युन हो, पार्टी कम्युनको रूपमा लैजाऊँ भनेर सहमति गर्यौँ । समाजवाद स्थापनाका क्रममा जन कम्युनहरु व्यापक रूपमा बन्दछन् र ती सर्वहारासँग गाँसिएका हुन्छन् ।

१५ परिवार ४८ सदस्य

विचार र मन मिल्ने पूर्णकालीन परिवारहरु सँगै बसौँ भनी कुरा भयो । तत्कालीन अवस्थामा हामी १५ परिवार सामूहिक रूपमा बस्ने तयार भयौँ । सदस्य सङ्ख्या ४८ भयो । विभिन्न कारणले कतिपय साथी हामी साथमा छैनौँ, आउने जाने क्रम जारी छ ।

त्यतिबेलादेखि बसेका केटाकेटीहरु ठूलाठूला भइसकेका छन् । १७ वर्ष उमेरभन्दा बढीका भइसकेका छन् । कलेज पढ्न थालेका छन् । कोही मास्टर्स गरेका छन् । आफ्नो ढङ्गलले सबै अगाडि बढिरहेका छन् ।

पछि माओवादी पार्टीसँग एकता गर्यौँ । एकता गरेपछि माओवादीका जन कम्युनहरु पनि छन्, हाम्रो पार्टीमा पनि कम्युनहरु छन् । दुवैलाई मिलाएर एक ढङ्गले अगाडि जाने कुरा भइरहेको थियो । हरेक ठाउँको भिन्न भिन्न परिस्थितिमा विकास भएको हो । तत्कालीन माओवादी जनयुद्धको क्रममा खोलेका कुनै कम्युन बाँकी छैनन् जस्तो लाग्छ । यद्यपि हामीले खोलेका जसोतसो चलाई नै रहेका छौँ । अब यत्रो ठूलो पार्टी बनेको छ । नेकपाले पनि यसको बारेमा केही सोच्नेछ । यसलाई विस्तृत बनाउने केही योजना आउन सक्छन् ।

कम्युनका चुनौती

२०७२ सालमा संविधान बनेपछि पुँजीवादी जनक्रान्तिको मूलभूत काम सिद्धियो । अबको हाम्रो बाटो समाजवाद उन्मुख कार्यदिशा नै हो । समाजवाद भनेको सामूहिक उत्पादन, सामूहिक वितरण जस्ता ढङ्गले त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । हाम्रा लागि हिजोभन्दा अहिले अनुकुल अवस्था छ ।

अहिले प्रतिक्रान्तिको कारण खोज्नुभयो भने त्यसलाई संस्थागत ढङ्गले जवाफ पनि दिनुपर्छ । जस्तो कि रुसमा गाँस, बास, कपास र शिक्षा, स्वास्थ्य ग्यारेन्टी थियो, तर त्यति हुँदाहुँदै किन ढल्यो त ? त्यहाँ दुई तीनवटा कमी भयो, श्रमिकहरुलाई निर्णय प्रक्रियामा सामेल गरिएन । कम्युनिस्ट शासक होइन, सेवकको रूपमा काम गर्ने हो । अर्को कुरा आलोचनालाई पक्रिन सक्नु पर्यो र माथिका लिडरसिपले वरिपरिका लागि त्यो काम गरेर देखाउपर्छ अनि मात्र समाज त्यसको वरिपरि आउन सक्छ ।

वस्तुगत रूपमा पनि कम्युनहरु बन्ने आधारहरु हुन्छन् । उनीहरु सत्तासँग गाँसिन्छन् । हरेक मान्छेलाई एउटा घर, एउटा गाडी, उसको एउटा छुट्टै फ्ल्याट दिन सक्नुहुन्छ कि सक्नु हुन्न यो अहम प्रश्न हो अहिलेको लागि । स्रोत बढेको छैन, जनसङ्ख्या बढी राखेको छ । यस अवस्थामा समाजवादी स्थापना गर्नुहुन्छ भने कसरी गर्नुहुन्छ ? त्यसैले सामूहिकता अनिवार्य पक्षसँग गाँसिनु पर्दछ । उत्पादन, वितरण, विनियम, उपभोग र विर्सजनको मोडेलमा जानै पर्छ ।

कुनै पनि काम व्यक्ति व्यक्तिले गर्न सक्दैन । एउटा कुनै काम सम्पन्न गर्न सामूहिकता अनिवार्य चाहिन्छ । यसलाई उत्पादन, वितरण, विनियम, उपभोग र विर्सजनसँग जोड्नुपर्यो । त्यसपछि मात्र हामी एउटा ब्रोडर समाजवादको स्थापना गर्न सक्छौँ । हामीले एउटा अर्को अक्टुबर क्रान्तिमा जाने हो भने उत्पादनको, विनिमयको, वितरणको, उपभोग र विसर्जनको स्रोतसहित यसलाई नयाँ ढङ्गबाट लग्नुपर्छ । हामीले सर्वहारा शैली अपनायौँ कि अपनाएनौँ, विज्ञानलाई हामीले आत्मसात गर्यौँ कि गरेनौँ, स्वयंसँग निरन्तर सांस्कृतिक अभियान चलाउनु भयो कि भएन, यसलाई विचार गर्दा हाम्रो पूर्वीय दर्शनमा यो सो सम्बन्धी महत्त्वपूर्ण पक्ष रहेको छ ।

बुद्धको शिक्षा छ, योग र ध्यानको पक्ष छ । पूर्वको यो ज्ञानसहित, विज्ञानको विकाससहित हामीले सामूहिक ढङ्गमा लग्यौँ भने समाजवाद प्राप्त गर्न सकिन्छ । यसका लागि व्यवस्थापकीय कुरामा ध्यान दिनुपर्छ । व्यक्तिलाई सामूहिकतामा ल्याउनु भनेको व्यक्तिलाई व्यक्तिगत स्वतन्त्रतामा सुनिश्चित गर्नु हो । सामूहिक र वैयक्तिक स्वतन्त्रतालाई सुनिश्चित गरियो भने फेरि चल्दछन् तिनीहरु । त्यसो गर्न सकिएन भने व्यक्तिगत स्तन्त्रता पनि जान्छ, सामूहिकता पनि टिक्दैन । त्यसैले यो प्रयोगलाई लिडरसिपले सचेततापूर्वक नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने आवश्यकता छ । हामी पनि अहिले प्रयोगकै क्रममा छौँ । सर्वहारा सोचका कारण हामीले आफ्नो सम्पत्ति यहाँ गाँसेका छौँ । कम्युन सोचको आधारशिला बनाएका छौँ ।

उत्पादनमा जोड

सिरहाको गोलबजारमा हुँदा चिया पसल खोलेका थियौँ, कम्प्युटरका तालिम केन्द्रहरु चलाका थियौँ । त्यो आधारशिला चलाउन हामीले सबै प्रयास गर्यौँ । हामीले हरेक सर्वहारा उपायहरु अपनायौँ । सर्लाहीमा जग्गा लिजमा लिएर खेतीपाती गर्यौँ । लालगढमा पनि जग्गा लिजमा लिएर खेतीपाती गरिरहेका छौँ । त्यहाँबाट हामीलाई दाल चामलको समस्या हल भएको छ । महोत्तरीमा सहकारी खोल्यौँ, अस्पताल खोल्यौँ, एफएम चलायौँ, मसला उद्योग चलायौँ । नाकाबन्दीका कारण मसला उद्योग बन्द भयो । सबैले सीप सिक्नुपर्छ र त्यसलाई उद्योगसँग गाँस्नुपर्छ भन्ने हाम्रो लाइन हो । आधारशिलामा रहेकालाई कुनै न कुनै रूपमा सीप सिकाउने प्रयास गर्यौँ ।

७० वर्षका बूढाबूढीलाई सुरक्षित जीवन बनाइदिनुपर्छ । केटाकेटी र बालबच्चाहरुलाई ग्र्याजुएटसम्म पढाइदिनुपर्छ । त्यसपछि उनीहरुले आफै केही गर्न सक्छन् । हाम्रो उद्देश्य भनेको हरेकलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ । केटाकेटीहरु सामुदायिक स्कुलमा पढेका छन् । सबैलाई राम्रो गरेका छन् । हामीले उनीहरुमाथि केही थुपार्दैनौँ । उनीहरुलाई स्वतन्त्र छाडिदिने हो । यसखालका अन्य आधारशिला बन्नुपर्छ अनि मात्र समाजवादको दिशातर्फ देश अगाडि बढ्छ र नेकपाले महाधिवेशनसम्म यसखालको प्रयासलाई निरन्तरता दिने विश्वास मैले लिएको छु ।

(नेकपा स्थायी समिति सदस्य एवं शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल महोत्तरीमा रहेको आधारशिलाका संरक्षक हुन् । आधारशिलाले आफ्नो १७औँ वार्षिक उत्सव मनाएको छ । सोही क्रममा संरक्षकसँग रातोपाटीले गरेको कुराकानीको अंश ।)   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराजमणि पोखरेल
गिरिराजमणि पोखरेल
लेखकबाट थप