शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक शून्य समयः कसले के भने ?

बुधबार, २९ माघ २०७६, १४ : ३४
बुधबार, २९ माघ २०७६

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । चीनबाट संक्रमण सुरु भएका कारोना भाइरसका नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा उठेका छन् । सांसद विद्या भट्टाराईले विश्वमा कोरोनाको जोखिम बढेको सन्दर्भमा विमानस्थलमा राखिएको स्क्यानिङन मेसिनबाट हुने चेकजाँचलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । 

भ्रमण वर्ष २०२० लाई सफल पार्न र विश्वभरी नै नेपालमा कोरोनाको जोखिम छैन् भन्ने सन्देश दिन विमानस्थलमा हुने चेकजाँचलाई कडाई गर्नुपर्ने उनले बताइन् । चीनको वुहानमा रहेका विद्यार्थीहरुलाई स्वदेश फर्काउने सरकारले तयारी गरिरहेको र सबैले यो विषयमा सबैले सरकारलाई आग्रह गरिन् । सांसद विनाकुमारी श्रेष्ठले नेपालको श्रम बजार औपचारिक भन्दा अनौपचारिक रुपम बृद्धि भएको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । श्रम ऐन जारी भएको लामो समय भएपनि संगठित नरहेका श्रमिकहरुले राम्रो सेवा सुविधा पाउन नसकेको उनले बताए । असंगठित क्षेत्रमा रहेको घरेलु श्रम नराम्रो सँग अगाडी बढिरहेको उल्लेख गर्दै उनले घरेलु श्रमलाई स्थानीय सरकार अन्तर्गत दर्ता गरी व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद विनादेवी बुढाथोकीले सरकारले जनताको आधारभूत स्वास्थ्य अधिकार सुरक्षित गरेको भएपनि अझै देशका धेरे अस्पतालमा निःशुल्क भनेर तोकिएका औषधिहरु उपलब्ध हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विन्दा पाण्डेले ललिता निवास प्रकरणमा मुद्दा विशेष अदालतमा गएको र अदालतबाट दोषी कोही नछुट्ने र निर्दोष कोही नफस्ने गरी निर्णय हुनेमा आफु ढुक्क रहेको बताइन् । उनले यति होल्डिङ्सको बारेमा सरकारले गरेका निर्णयहरुको आलोचना भइरहेका बेला सरकारले स्वेतपत्र जारी गरी जानकारी गराउनुपर्ने माग गराइन् ।

सांसद विमला विश्वकर्माले काभ्रेका अजित मिजारको परिवारले ४ वर्ष सम्म पनि न्याय पाउन नसकेको बताइन् । लास ४ वर्षदेखि टिचिङमा रहेको उल्लेख गर्दै उनले यो कुनै द्वन्दकालीन मुद्धा नभएर अन्तरजातिय विवाह गरेका कारण हत्या भएको र घटनाको विषयमा चित्तबुझ्दो अनुसन्धान गर्नुको साटो उल्टै १० लाख दिन खोजिएको बताइन् । सांसद विशाल भट्टराईले सर्वाधिक चासोको विषयका रुपमा रहेको ललिता निवास प्रकरणका दोषिहरुलाई कारवाहीको माग गरे ।

उनले देशभरीको सरकारी जग्गाका विषयमा छानबिन गर्न उच्चस्तरिय समिति बनाएर काम अगाडी बढाउन आग्रह गरे । सांसद विष्णु शर्माले छाउगोठ भत्काउने अभियान सरकारले सुरु गर्नु सराहनीय भएपनि गोठ भत्काउँदैमा कूरीति नहट्ने भएकाले जनचेतनामुलक अभियान सुरु गर्न आग्रह गरे । सांसद शशी श्रेष्ठले महिला माथि भएका कूसंस्कृति र कूसंस्कार विरुद्ध केही काम भएपछि राष्ट्रिय महिला आयोग जस्ता संवैधानिक आयोग गठन भएको साढे ४ वर्ष वित्दा पनि पदाधिकारी विहिन हुनु राम्रो नभएको बताइन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग लगायत अन्य धेरे संवैधानिक निकायहरुले अझै पूर्णय पाउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै श्रेष्ठले सबै आयोगहरुमा पदाधिकारी नियुक्ति गरी सरकारी कामकारवाही प्रभावकारी बनाउन माग गरिन् ।

सांसद शान्ता चौधरीले सिंहदरबार प्रवेश गर्न लामो समय कुरेर पास पाइने गरेको बताउँदै निश्चित समय छुट्याएर राष्ट्रिय परिचयपत्रको आधारमा प्रवेशको व्यवस्था गर्नुपर्ने बताइन् । आफ्नो राष्ट्रिय परिचय पत्र देखाएर दिनको २ घण्टा भएपनि भित्र प्रवेश गर्ने व्यवस्था गरी जनतालाई सिंहदरबार हाम्रो पनि हो भन्ने आभास दिलाउनुपर्ने बताइन् ।

सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको जुगलमा कोरोना फैलियो भन्ने भ्रम सिर्जना फैलाइएको बताए । त्यहाँ फैलिएको प्रकोपका विषयमा सत्यतथ्य बाहिर ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए । सिन्धुपाल्चोक लगायत नेपाल नै कारोना मुक्त भएको उल्लेख गर्दै तामाङले भ्रमपूर्ण समाचार लेख्ने कुरामा सजगता अपनाउन आग्रह गरे । सांसद सरलाकुमारी यादवले उपत्यकाको सवारी जामले उपत्यकावासीको दैनिकी नै प्रभावित गरेको बताइन् ।

सांसद हिरा गुरुङले ‘सार्वजनिक रुपमा ५ हजार मान्छे मैले मारेको छु’ भन्ने व्यक्तिलाई अहिलेसम्म किन कारवाही नभएको भन्दै प्रश्न गरिन् । ठूलालाई चैन र सानालाई ऐन भन्ने कुन कानूनमा छ भन्दै उनले सरकारलाई प्रश्न गरिन् । माघ १ गते नेकपा अध्यक्ष दाहालले टुँडिखेलमा भएको एक कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाएका ५ हजारको जिम्मा आफुले लिने तर बाँकी १२ हजारको जिम्मा सरकारले लिनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप