शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के मेस्सी र रोनाल्डोलाई एउटै जर्सीमा हेर्ने दिन नजिकिएको हो ?

बुधबार, २९ माघ २०७६, ०९ : ०६
बुधबार, २९ माघ २०७६

स्पेनिस महारथी बार्सिलोनाले यस सिजन कमजोर प्रदर्शन गरेपछि कप्तान लियोनल मेस्सी खुसी नरहेको समाचारहरु बाहिर आएका छन् । मेस्सी पछिल्लो समय क्लबको खराब नजिता र त्यसमाथि क्लबका निर्देशक एरिक अबिडालले खेलाडीले अल्छी गरेर खेल्न नसकेको भन्दै लगाएको आरोपसँग बढी रुष्ट छन् ।

मेस्सीले आफ्नो पूर्व सहकर्मी रहिसकेका निर्देशकको भनाइको तत्काल आलोचना गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । बार्सिलोनामा नयाँ प्रशिक्षक क्वीक सेटिन आएपछि पनि टोलीको प्रदर्शनमा खासै सुधार देखिएको छैन । विस्तारै ला लिगामा समेत रियल म्याड्रिडको दबदबा सुरु भएको छ । यही परिदृश्यका बीचमा पछिल्लो साता कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने चर्चा चलेको छ । मेस्सीको आगामी सिजनदेखि फ्री ट्रान्सफर हुने र उनलाई इङ्लिस क्लब म्यानचेस्टर सिटीले अनुबन्धन गर्ने चर्चा चलेको छ । 

सिटीको प्रशिक्षक पेप ग्वार्डिओलाले दुई वर्षअघिनै मेस्सीलाई ल्याउन चाहे पनि त्यो सम्भव भएको थिएन । पछिल्लो समय सिटीको ब्यवस्थापन मेस्सीलाई प्रिमियर लिग खेलाउन भित्रभित्रै लागि परेको बुझिएको छ । तर १३ वर्षको उमेरदेखि बार्सिलोनामा रम्दै आएका ३२ वर्षीय मेस्सीले बार्सिलोना छाड्ने विषय त्यति सहज भने छैन ।

मेस्सीलाई सिटीले लाने हल्ला चल्दै गर्दा बार्सिलोनाकै पूर्व निर्देशक एरिओडो ब्राइडाले युरोपियन फुटबलमा दुई हस्ती मेस्सी र क्रिस्टियानो रोनाल्डोले भविष्यमा सँगै खेल्न सक्ने बताएका छन् । ‘मेस्सीले क्लब छाड्ने कुरा असम्भव छैन । मेस्सी र उनका खास प्रतिस्पर्धी युभेन्ट्सका रोनाल्डोले एउटै जर्सीमा खेल्न सक्छन् । मेस्सीले बार्सिलोनामा राम्रो गरिरहेका छन् । तर पछिल्लो समय त्यति खुशी छैनन् । मेस्सीका लागि बार्सिलोना छाड्न त्यति सहज नहोला । तरपनि उनका लागि बार्सिलोना छाड्ने ढोका खुला छ,’ एरिओडोले भने ।

स्पेनिस रेडियोलाई दिएको अन्तर्वार्तामा एरिओडाले मेस्सी असाधारण खेलाडी भएको र पोर्चुगल एवम् युभेन्ट्सका सुपस्टार रोनाल्डो पनि उस्तै असाधारण रहेको बताए । एडिओडाको यही भनाइलाई आधार बनाएर फुटबल खेल सम्बन्धी विश्व प्रख्यात अनलाइन गोल डटकमले पनि समाचार प्रकाशित गरेको छ । ‘मेस्सी र रोनाल्डोले फुटबलका सबै खाले सफलता भेट्टाएका छन् । कतिपय अवस्थामा मेस्सीले नपाएको सफलता रोनाल्डोले पाएका छन् । रोनाल्डोले नपाएको सफलता मेस्सीले पाएका छन् । दुवै विश्व फुटबलका सफल हस्ती हुन्,’ एरिओडोले भने । एरिओडोले मेस्सी र रोनाल्डो भविष्यमा कहीं न कहींबाट सँगै खेल्ने ठोकुवा गर्दै भनेका छन् –‘पर्खनोस् र हेर्नोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप