शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ पुग्यो चीनमा नेपाली नागरिक फर्काउने प्रक्रिया ?

वुहानबाट उद्धार गरिएका नागरिक अहिलेसम्म सुरक्षित
सोमबार, २७ माघ २०७६, १७ : ००
सोमबार, २७ माघ २०७६

चीनमा रहेका नेपाली नागरिकहरु कयौँ दिनदेखि आफ्नै कोठाभित्र सीमित रहँदा जेलमा बसेसरह भएको अनुभूति गरिरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएको वुहानमा बजारहरु बन्द हुनका साथै कयौँ मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता लगिसकेका कारण नेपालीहरु एक्लिएका हुन् ।

खानेकुरा तथा पानीको समेत अभाव हुन थालेको गुनासो आफ्ना छोराछोरीले गर्दै आएको चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरुको भनाइ छ ।

यसैबीच चीनबाट स्वदेश ल्याइने नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार ६० जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार चीनमा उद्धार गरी ल्याइने नेपालीहरुलाई क्वारेन्टराइनमा राख्ने क्रममा उनीहरुको निगरानीका लागि आवश्यक स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन गरिएको हो ।

स्वास्थ्यकर्मीलाई सोमबारदेखि आभिमुखीकरण तालिम सुरु गरिए पनि चीनको हुवाई प्रान्तको हुवान शहरबाट आफ्ना नागरिकलाई कहिले ल्याउने भनेर सरकारले अझै निर्णय गर्न सकेको छैन । दाहालका अनुसार चीनबाट नेपालीहरुलाई ल्याउने तयारी भइरहेको छ ।

पाँच दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा रहेका नेपाली नागरिकलाई उपत्यकाका चार स्थान  खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचङ्गुनारायणमा क्वारेन्टाइनमा राख्न निर्देशन दिएका थिए ।

चीनबाट आफ्ना नागरिक ल्याएर राख्ने स्थानको टुङ्गो लगाए पनि उनीहरुलाई कहिले ल्याउने भन्ने अन्योल कायमै छ ।

चीनमा रहेका छोराछोरीलाई तत्काल स्वदेश फिर्ता गर्न अभिभावकहरुले माग गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अभिभावकहरुले चीनमा रहेका आफ्ना छोराछोरीलाई ल्याइदिन माग गरेका हुन् ।

के भन्छन् अभिभावक ?

चीनमा रहेका आफ्ना छोराछोरीलाई तत्काल उद्धार गर्न भन्दै गत सातादेखिस्वास्थ्य तथा जनसङ्ख्या, गृह मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पुगेर आग्रह गरिसकेको अभिभावक भगवतीलाल कक्षपतीले बताए ।

‘सरकार चीनमा अध्ययन गर्न, कामको सिलसिलामा गएमा नागरिकलाई तत्काल उद्धार गर्ने भन्छ,’ उनले भने, ‘तर उनीहरुलाई ल्याउन आलटाल गरिहेको छ ।’

चीन रहेका आफ्ना छोराछोरीको अवस्था जेलमा बसेजस्तै रहेको उनको भनाइ छ । ‘कोठामै बसेका भए पनि उनीहरु चाहेर पनि निस्कन पाइरहेका छैन,’ उनले भने, ‘सरकार  फिर्ता ल्याउने भन्छ, तर ल्याउने प्रक्रिया चालेको छैन ।’

अर्का अभिभावक बसन्तबहादुर भण्डारीसरोकारवाला निकायमा चीनबाट नेपाली नागरिक कहिले ल्याउने भनेर आफूहरुले बारम्बार सोध्दा ‘काम भइरहेको’ भन्दै सदावहार जवाफ दिने गरेको बताउँछन् । ‘तीन हप्तादेखि कोठाभित्र छोराछोरी थुनिएर बसेका छन्,’ उनले भने, ‘लुकेर कति दिन बस्ने, जम्मा गरेर राखेको खानेकुरा पनि सकियो भनेर फोनमा गुनासो गर्छन् ।’

करिब ३ हप्ताअघिदेखि कोठामा थुनिएर बस्दा खानेकुरा तथा पानीको अभाव सिर्जना भएको चीनमा रहेका नेपाली विद्यार्थीहरुको गुनासो छ ।

‘कोरोना भाइरसको संक्रमण भएको भए चीन सरकारले अस्पताल लैजान्थ्यो, अहिलेसम्म नेपाली नागरिक सो भाइरसबाट संक्रमित भएका छैनन्, बरु लामो समय चीनमै रहँदा संक्रमणको जोखिम बढ्न सक्छ,’ आफ्ना छोराछोरीको भनाइ उद्धृत गर्दै अभिभावक गुनासो गर्छन्, ‘सरकारले तत्काल उद्धार गरोस् ।’

आइतबार राष्ट्रिय मानव अधिकार आयोगले चीनमा रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आयोगका अध्यक्ष अनुपराज शर्माले नेपाली नागरिकहरुलाई छिटोभन्दा छिटो स्वदेश फिर्ता गर्न आग्रह गरेका थिए ।

वुहानबाट करिब १ सय ८० जना नेपाली स्वदेश आउनका लागि सरकारको निर्णय कुरेर बसिरहेका छन् ।

आइतबारसम्म उक्त भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय १० जना पुगिसकेको छ । हालसम्म ४० हजारभन्दा बढी नोबेल कोरोना भाइरसबाट संक्रमित छन् ।

क्वारेन्टाइन र आइसोलेसन भनेको के हो ?

संक्रमित क्षेत्रबाट फर्किएका व्यक्तिहरुलाई निश्चित समयसम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्ने प्रक्रिया नै ‘क्वारेन्टाइन’ हो ।

यसरी निगरानीमा रहँदा उनीहरुमा उक्त भाइरसको संक्रमण भेटिएमा ‘आइसोलेसन’ मा राखिन्छ । त्यसपछि उपचार प्रक्रिया सुरु हुन्छ ।

निश्चिम अवधिसम्म क्वारेन्टाइनमा रहेका मानिसमा संक्रमणको कुनै लक्षण नभेटिए उनीहरुलाई घर पठाइन्छ । संक्रमण फेला परेमा भने उनीहरुलाई आइसोलेसनमा राखेर उपचार प्रक्रिया सुरु गरिन्छ ।

कोरोना भाइरसको सन्दर्भमा चीनबाट आउने विद्यार्थीलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ ।

वुहानबाट उद्धार गरिएका नागरिक अहिलेसम्म सुरक्षित

कोरोना भाइरसको इपिसेन्टर हुवेइ प्रान्तको वुहानबाट भारत, बंगलादेश, श्रीलंकालगायतका अन्य देशले आफ्ना नागरिक फिर्ता लगिसकेका छन् ।

भारतले हालसम्म ६५४ जनालाई उद्धार गरिसकेको छ । ६४७ भारतीय र ७ जना माल्दिभ्सका नागरिकलाई भारतले उद्धार गरेको हो ।

उद्धार गरिएका आफ्ना नागरिकलाई भारतले क्वारेन्टाइनमा राखिरहेको छ । २२० जनालाई हरियाणाको मानेसरस्थित सेनाको तालिम केन्द्रमा र अन्य १०४ जनालाई इन्डो तिब्बतियन बोर्डरको पुलिस ब्यारेकमा राखिएको छ ।

भारतले दोस्रो चरणको उद्धारका गत शनिबार नै आफ्नो विमान वुहान पठायो र स्वदेश फर्कन चाहने भारतीयलाई फिर्ता गर्यो । दोस्रो चरणमा फिर्ता ल्याइएका नागरिकलाई पनि हाल क्वारेन्टाइनमा राखिरहेको छ । हालसम्म उद्धार गरिएका कसैलाई पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

त्यसैगरी, बंगलादेशले ३१२ जना आफ्ना नागरिकलाई फिर्ता लगेको छ । बंगलादेशले आफ्ना नागरिकलाई शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आशकोना हज क्याम्पमा आइसोलेसन केन्द्र बनाएर राखेको छ । बंगलादेशमा पनि उद्धार गरिएकाहरुमा हालसम्म कोरोनाको संक्रमण भेटिएको छैन ।

इन्डोनेसियाले पनि वुहानबाट आफ्ना नागरिक फिर्ता लगेको छ । इन्डोनेसियाले उनीहरुलाई नाटुना आइल्याण्डको सैन्य क्याम्पमा राखेको छ ।

अन्य देशहरु श्रीलंका, टर्की, जोर्डनले पनि आफ्ना नागरिक फिर्ता लगिसकेको छ । जापानले फर्काएका नागरिकमध्य केहीमा भाइरसको संक्रमण भेटिएसँगै उपचारका लागि अस्पतालमा राखेको छ ।

त्यसैगरी, अमेरिकाले वुहानबाट फिर्ता लगेका नागरिकलाई दक्षिण क्यालिफोर्नियाको मार्च एयर रिजर्भ मिलिटरी बेसमा तीन दिन राखेर डाक्टरहरूको निगरानीमा घर पठाएको छ ।

दक्षिण कोरियाले वुहानबाट लगेका नागरिकलाई आसान र जिन्चुअन सहरको कर्मचारी तालिम केन्द्रमा राखेको छ । अस्ट्रेलियाले फिर्ता लगेका नागरिकलाई क्रिसमस आइल्यान्डमा राखेको छ । बेलायतले पनि वुहानमा रहेका आफ्ना नागरिक फिर्ता लगेको छ । बेलायतले फिर्ता लगेका आफ्ना नागरिकलाई इंग्ल्यान्डको उत्तरपूर्वी क्षेत्रमा राखेको छ ।

वुहानबाट उद्धार गरिएका नागरिकहरुमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण भेटिएको छैन । यसकारण पनि नेपालले आफ्ना नागरिकलाई छिटो भन्दा छिटो उद्धार गर्ने हो भने संक्रमणबाट बच्न सक्ने वुहानमा रहेका नेपाली विद्यार्थीहरुको भनाई छ । उनीहरु जतिसक्दो छिटो आफूहरुलाई उद्धार गरेर देश फिर्ता गर्न बारम्बार नेपाल सरकारसँग आग्रह गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप