शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती रगतले लतपतिएको अवस्थामा फेला, कामदार मृत फेला

सोमबार, २७ माघ २०७६, १२ : ००
सोमबार, २७ माघ २०७६

काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित निवासमा रगतले लतपतिएको अचेत अवस्थामा (* सच्याइएको ) फेला परेकी छन् भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् । 

कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् । घटना करिब १०–११ बजे घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । 

शुरुमा छिमेकीले कार्कीको हत्या भएको जानकारी दिए पनि घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा कार्कीको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो । कार्कीलाई यतिबेला स्टार अस्पताल लगिएको छ । 

साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको छ । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

कार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा दुवैलाई फेला परेको बताएका छन् ।

कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

पूर्व सचिव कार्की यसअघि भूकम्पपीडितका लागि खरिद गरिएको भनिएको त्रिपाल र जस्तापाता काण्डमा भ्रष्टाचार गरेको आरोपमा छानबिनमा परेका थिए । उनीमाथि २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले भौतिक कारवाही समेत गरेको थियो । सानेपामा नै उनीमाथि विप्लवका कार्यकर्ताले आक्रमण गर्दा उनलाई सामान्य चोट लागेको थियो भने उनी सवार गाडीमा क्षति पुगेको थियो ।

(यसअघि, समाचारमा कार्कीकी श्रीमतीको हत्या भएको उल्लेख भएपनि त्यसलाई सच्याइएको छ । हाम्रो असावधानीबाट पाठकवर्गमा पुगेको असुविधाका लागि क्षमाप्रार्थी छौँ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप