शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको ‘एसिस्ट’को ह्याट्रिकमा बार्साको पुनरागमन

सोमबार, २७ माघ २०७६, ०७ : ३६
सोमबार, २७ माघ २०७६

स्पेनिस ला लिगामा बार्सिलोनाले दुईपटकसम्म एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल बेटिसमाथि ३–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।

आइतबार राति भएको खेलमा घरेलु टोली बेटिसले खेलको छैटौँ मिनेटमा नै सर्जियो कानालेसको पेनाल्टीबाट अग्रता लिएको थियो । तर, तीन मिनेटपछि नै फ्रांकी डि योङले खेल बराबरी गरे ।

नबिल फेकिरले २६ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै बेटिसलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा सर्जियो बुस्केटले बराबरी गोल फर्काए ।

खेलको ७३ औँ मिनेटमा लियोनेल मेस्सीको फ्रिकिकमा हेडमार्फत गोल गर्दै क्लेमेन्ट लेङ्लेटले बार्सिलोनालाई तीन अंक दिलाए ।

मेस्सीले बार्सिलोनाका तीनवटै गोलको अवसर सृजना गरेका थिए । योसँगै उनी युरोपको शीर्ष पाँच लिगमा दोहोरो अङ्कमा गोल र एसिस्ट गर्ने दोस्रो खेलाडी बनेका छन् । मेस्सीले यो सिजन १४ गोलका साथै ११ एसिस्ट गरेका छन् । उनीअघि बोरुसिया डर्टमन्डका जेडन सान्चोले १२ गोल र १३ एसिस्ट गरेका थिए ।

खेलमा दुवै टोली १० खेलाडीमा सिमिति बनेका थिए । दुवै टोलीका गोलकर्ता फेकिर र लेङ्लेटले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो ।

जीतसँगै बार्साले शीर्ष स्थानमा रहेको रियलमाथि दबाब कायम राखेको छ । २३ खेलपछि बार्सिलोनाको ४९ अंक रहेको छ र शीर्ष स्थानमा रहेको रियलभन्दा ३ अंकले पछि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप