शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनस्थित नेपाली दूतावासले लियो ‘सेम डे सर्भिस, नो टुमरो’ नीति : यस्ता छन् दूतावासका भावी कार्ययोजना

आइतबार, २६ माघ २०७६, १८ : २०
आइतबार, २६ माघ २०७६

लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो सम्पूर्ण सेवा द्रुत गति (फाष्ट ट्रयाक) मा प्रदान गर्न थालेपछि सेवाग्राही लाभान्वित भएका छन् । दूतावासले फाष्ट ट्रयाकमा ‘सेम डे सर्भिस’ र ‘नो टुमरो’ नीति अपनाएसँगै दूतावासको काम कारवाही बढी प्रभावकारी बनेको हो ।

लामो समयसम्म राजदूतबिहीन रहेको नेपाली दूतावास लण्डनमा सन् २०१६ को अन्ततिर संयुक्त अधिराज्य (बेलायत) का राजदूतको रुपमा डा दुर्गा बहादुर सुवेदीले २० औं राजदूतका रुपमा आफ्नो कार्यभार सम्हाले लगत्तै दूतावासका सेवा सुविधाहरुमा थुप्रै परिवर्तन गरिए । 

कार्यभार सम्हाल्दा शुरुमै राजदूतले दूतावासको सेवा सुविधा छिटो, छरितो र सहज बनाउने अनि ढिलासुस्ती, भ्रष्टाचार, भेदभाव एवं अशिष्ट व्यवहार नियन्त्रण गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताएका थिए । 

डा.सुवेदी माल्टा र आयरल्याण्डका लागि समेत राजदूत छन् । हाल दूतावासले ‘सेम डे सर्भिस’ अन्तर्गत भिसा, गैरआवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा, यात्रा अनुमति पत्र लगायत थुप्रै काम उही दिन तुरुन्तै गर्दै आएको छ । 

कसैलाई आपत परेको खण्डमा राती १२ बजे पनि दूतावासको ढोका खोलिने राजदूत डा। सुवेदीले बताउंदै आएका छन् । दूतावासका कारण कुनै पनि व्यक्तिले कुनै पनि किसिमको सास्ती भोग्न नपरोस् भन्ने राजदूतको अठोट छ ।

एउटा कामका लागि एउटै व्यक्ति दुईपटकसम्म दूतावास धाउनुपर्दा दूतावासमा भीड बढ्नुका साथै सेवाग्राहीले अनावश्यक रुपमा समय र खर्च व्यहोर्नुपर्ने समस्या मध्यनजर गर्दै सर्वसुलभ तरिकाले तुरुन्तै सेवा प्रदान गर्ने नीति लिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताए ।

पहिला ३-४ दिनसम्म लाग्ने काम अहिले तिनै कर्मचारीबाट फाष्ट ट्रयाक, सेम डेु र नो टुमरोु नीति लागू गर्न कसरी सम्भव भयो त भन्ने प्रश्नमा उपनियोग प्रमुख आरन भन्छन् ‘मुख्य कुरा कामप्रतिको लगनशीलता नै हो ।

आफ्नो कार्यालय समय पूर्ण रुपमा सदुपयोग गर्न सके कामको गति अवश्य बढ्न सक्छ । काम गर्दा आफ्नो होइन, सेवाग्राहीको दृष्टिकोणले नियाल्ने र कुन तरिकाले कसरी काम गर्दा उनीहरुलाई सहज हुन्छ त्यो अनुरुप नै आफूहरु अगाडि बढिरहेको आरनले बताए ।

आपतकालिन अवस्थामा बिदाको दिन समेत र कार्यालय समयपछि पनि दूतावास कार्यक्रममा सहभागी हुन आउनेहरुलाई आवश्यक सेवा प्रदान गर्दै आइएको आरनले बताए ।

भिसा सम्बन्धि कामले दूतावास पुगेकी लन्डन रायस्लिप बस्ने सुकेधारा काठमान्डौकी प्रदिप्ती खड्काले दूतावास कर्मचारीको व्यवहार र सेवाप्रति सन्तुष्ट रहेको बताइन् ।

दूतावासले आयोजना गरेको कार्याक्रममा सहभागी हुन आउनेहरुका लागि राति नै कार्यालय खोलेर काम गर्ने गरेको दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मीले बताए ।

 एक पटक कार्यक्रम भइरहंदा हलमा नै पासपोर्ट लगायत विभिन्न काममा व्यस्त देखिन्थे रेग्मी । दूतावासले बेलायतका विभिन्न स्थानमा बस्ने नेपालीहरुको सुविधाका लागि विभिन्न शहरमा घुम्ती सेवा समेत सञ्चालन गरि पासपोर्ट, भिसा, एनआरएन कार्ड लगायत सेवा दिंदै आएको छ । 

माल्टामा गरिएको घुम्ती सेवाबाट धेरै जना लाभान्वित भएको भर्खरै माल्टामा घुम्ती सेवा प्रदान गरेर फर्किएका द्वितीय सचिव लव सुवेदीले बताएका छन् । 

करिब ३ हजारको संख्यामा नेपाली रहेको माल्टामा विशेषगरी रोजगारी सम्बन्धि बढि काम हुने सुवेदीले बताए । दूतावासले पछिल्लो समय पारिवारिक तथा सामाजिक समस्या समाधानको जिम्मेवारी पनि बेहोर्दै आएको छ । 

विशेषगरी नेपाल र बेलायतमा छुट्टिएर बसेका परिवारबीच विभिन्न समस्या हुने गरेको छ । मानसिक पीडित बिरामी, सम्बन्ध विच्छेद, वारेसनामा जस्ता निकै जटिल विषयमा पनि दूतावासले डिल गर्दै आएको छ । 

इमिग्रेशन सम्बन्धि समस्याका कारण हाल बेलायतमा करिब ११ जना नेपाली यहांको जेलमा छन् ।

के कस्ता छन् दूतावासका भावी कार्ययोजना

नेपाली दूतावासको प्रमुख लक्ष्य भ्रमण वर्ष २०२० लाई सफल पार्नुछ । नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न दूतावासले गतवर्षदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

बेलायतवासी नेपालीहरुलाई परिचालन गर्न विभिन्न कमिटी मार्फत पर्यटन प्रबर्धन सम्बन्धि काम भइरहेको छ । एक जना नेपालीले आफ्नो एकजना विदेशी साथीलाई नेपाल पठाउन पहल गर्न समेत दूतावासको अनुरोध छ ।

गैर आवासीय नेपाली संघ लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्था र पर्यटन पेशामा आवद्ध सबैसंग सहकार्य गर्दै दूतावासले विभिन्न काम गर्दै आएको छ ।

दूतावासले बेलायती विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीमार्फत उनीहरुका ब्रिटिश सहपाठीहरुलाई नेपालतर्फ आकर्षित गर्न, पर्यटन प्रवर्धन र नेपाली कला संस्कृति झल्काउने गरि आगामी जुनमा एक कार्यक्रम गर्ने योजना बनाएको छ ।

साथै, मिडल्याण्डवासी नेपालीहरुलाई लक्षित गर्दै नोटिंगहाममा नेपाल भ्रमण वर्ष विशेष कार्यक्रम पनि गरिने भएको छ । नेपाली दूतावासले कार्यालय हाताभित्र नेपाल भ्रमण वर्षसंग सम्बन्धित सामग्री र विभिन्न नेपाली उत्पादनहरुको प्रदर्शनी पनि राखेको छ । 

दूतावासले प्रत्येक महिना कुनै न कुनै कार्यक्रम गर्दै आएको छ । दूतावासद्वारा हुने हरेक कार्यक्रम विभिन्न संघसंस्थासंगको सहकार्यमा गरिने भएकाले त्यसको आर्थिक भार दूतावासलाई नपर्ने आरन बताउँछन् । 

दूतावासले सहारा यूकेसंगको सहकार्यमा यही मेमा इंग्ल्याण्ड र नेपालबीच फुटबल खेल गर्दैैछ भने सन् २०२१ मा ब्रिटिश फुटबल टोली नेपाल जाने तयारीमा छ ।

त्यस्तै विभिन्न शहरसंगको भगिनी सम्बन्धलाई पनि दूतावासले प्रथामिकता दिएको छ । हालसम्म नेपालका तीनवटा नगरपालिका र यहांका बरोबीच भगिनी सम्बन्ध कायम भइसकेको छ ।

नेपाली दूतावास लन्डनले कुटनीतिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दावी गरेको छ । ब्रिटेन नेपाल सम्बन्ध थप प्रगाढ बनाउन उच्चस्तरीय काम भएका उसको जिकिर छ ।

गोर्खा समस्या समाधानका लागि दूतावासले विशेष पहल गर्दै आएको छ । राजदूतको आगमनपछि विभिन्न ध्रुवमा रहेका गोर्खा संगठनलाई एक ठाउंमा ल्याउने र ब्रिटिस सरकारसमक्ष कुरा राखेर वार्ता गराउन सफल भएको दूतावासको भनाइ छ ।

दूतावासले बेलायत नेपालबीच विभिन्न उच्चस्तरीय भ्रमण संयोजन पनि गरेको छ । जस अन्तर्गत केही महिनाअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण र ब्रिटिश नेताहरुको नेपाल भ्रमण भएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप