सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

के काँग्रेसलाई संसदको ‘कार्यक्षेत्र’ थाहा छैन ?

आइतबार, २६ माघ २०७६, १६ : ५२
आइतबार, २६ माघ २०७६

काठमाडौं । ‘नेपालको कुनैपनि अदालतमा विचाराधीन मुद्दाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्यपालनको सिलसिलामा गरेको न्यायीक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन । तर महाअभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले वाधा पुर्याएको मानिने छैन,’ नेपालको संविधानको धारा १०५ मा भनिएको छ ।

तर, आफैले बनाएको यो संविधानको प्रावधानविपरित नेपाली काँग्रेसले संसदबाट निरुपण हुन नसक्ने विषयलाई लिएर गत विहिबारयता लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

‘माननीय सदस्यहरु, आज समेत गरेर तीन पटक संसद बैठक अवरुद्ध भैसकेको छ । र, यो बैठकलाई अलि जीवन्त, चलायमान र प्रभावकारी बनाउने हामी सबैको साझा उद्देश्य हो’ आइतबार तेस्रो दिन काँग्रेसले संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले संसद अवरुद्ध बन्दै जाँदा यसको प्रभावकारीतामाथि प्रश्न उठ्न सक्ने संकेत गरे ।

आइतबार पनि बिहीबार र शुक्रबार जस्तै ‘प्रतिनिधि सभाको बैटक प्रारम्भ हुन्छ’ भन्नासाथ काँग्रेस सांसदहरु उठेर संसद अवरोध गर्न पुगेपछि सभामुख सापकोटाले लगातार संसद अवरुद्ध पार्नु कसैका लागि हितकर हुन नसक्ने भन्दै ध्यानाकर्षण गराए ।

यसरी सदन अवरोध गर्दा आफु गत माघ १४ गते सभामुख पदमा निर्वाचित भएका बेला प्रतिपक्ष दलका नेताले समेत सदन निश्पक्ष र समानता होस् भनेर दिएको सुझावको ख्याल राख्न पनि प्रतिपक्ष सांसदहरुलाई आग्रह गरे ।

‘प्रतिपक्ष दलका नेताले समेत यो सदन निश्पक्ष होस् र सवैलाई समानताको व्यवहार होस् भनेर दिएको सुझाव अहिले मैले स्मरण गरिरहेको छु’ सभामुख सापकोटाको भनाइ छ ।

त्यसक्रममा उनले सुरुका दिनदेखि नै बैठक अगाडि बढाएर मात्रै सदनको प्रभावकारिता रहने भन्दै संविधानको व्यवस्थाबारे पनि सांसदहरु जानकार नभएर संसद अवरुद्ध गरेको भन्ने आफुलाई विश्वास नभएको बताए ।

‘संविधानको धारा १०५ मा सुस्पष्ट रुपमा भनिएको छ र फेरि यो विषय अदालतमा गैसकेको छ । त्यसकारण यहाँबाट निरुपण हुन सक्दैन भन्ने कुरा स्वतःस्पष्ट छ,’ सभामुख सापकोटाले संविधानको धारा पनि स्मरण गराए ।

गत बुधबार काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुद्दा दायरगरेसँगै नेपाली काँग्रेस सदन र सडक संघर्षमा छ ।

अख्तियारको बुधबारको उक्त कदमको विरोधमा भोलिपल्टै बैठक बसेर काँग्रेसले आफ्ना भ्रातृ संगठनलाई सडकमा प्रदर्शनमा उतारेको हो भने काँग्रेस सांसदहरुले सदन अवरोध गरेका हुन् ।

सभामुख सापकोटाले अदालतमा गइसकेको विषयमा व्यवस्थापिकाले केही गर्न नसक्ने स्पस्ट सन्देश प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई दिइसकेका छन् ।

यस अघिका दुई बैठकमा सभाुमख सापकोटाले काँग्रेस सांसदहरु पुष्पा भुसाल र मीनबहादुर विश्वकर्मालाई बोल्न दिइसकेका छन् । तर आइतवारको बैठकमा भने उनले प्रमुख प्रतिपक्षीका लागि बोल्न माइकसमेत खोलिदिएनन् । माइक नखोलेपनि काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसैलाई काखा र कसैलाई पाखा लगाएको भन्दै आफुहरुलाई बोल्न समय दिन माग गरे ।

‘संविधानका धाराबारे थाहा छ’

लगातार संसद अवरोध गरेपछि सभामुखले तपाइहरुलाई संविधानको ख्याल गर्न आग्रह गर्नुपर्यो नि ? भन्ने प्रश्नमा काँग्रेस सांसद डिला संग्रौलाले आफुहरु संवैधानिक व्यवस्थाबारे जानकार हुँदाहुदै पनि सदन अवरोध गर्न बाध्य भएको बताइन् ।

‘अख्तियारले गरेको निर्णयको छिनाफानो गर्ने निकाय व्यवथापिका होइन भन्ने काँग्रेसलाई राम्रोसँग थाहा छ । तर, अख्तियारले गरेको भेदभावप्रति काँग्रेसको आपत्ति हो । कम्युनिस्टलाई बचाउने, काँग्रेसलाई फसाउने नीति अन्र्तगत ललितानिवास प्रकणमा मुद्दा दायर गरियो । यो कुरा सवैलाई जानकारी होस् भनेर हामीले बाध्य भएर सदन अवरुद्ध गर्नुपरेको हो’, सांसद संग्रौलाले भनिन् ‘संसद सार्वभौम जनताको सजर्वोच्च जनप्रतिनिधि मुलक संस्था पनि भएकाले त्यहाँबाट सबै जनतालाई थाहा होस् भन्ने काँग्रेसको आशय हो ।’ त्यस्तै अर्का सांसद मीन बहादुर विश्वकर्माले संसद सवै किसिमका कुराहरु राख्ने थलो भएकाले ललित निवास प्रकरणबारे कसैलाई छुट दिएर कसैलाई मुद्दा चलाएपछि सदन अवरोध गर्न बाध्य भएको प्रतिकृया दिए । ‘हामी संसदलाई गलत रुपमा प्रयोग गर्न चाहँदैनौ । संसदीय अभ्यास र प्रणालीप्रति जिम्मेवार हुदै संसद प्रतिपक्षको हो भन्ने बनाउन हामीले अवरोध गरेका हौँ,’ विश्वकर्माले भने,‘अख्तियार सरकारको छाया बन्नु हुँदैन भन्नै हो ।’

सभामुख कठोर बन्ने सङ्केत

सभामुख अग्नि सापकोटा संसद चलाउन कठोर बन्ने संकेत गरेका छन् । उनले आइतबारको बैठकमा काँग्रेस सांसदहरुलाई सम्झाउने बुझाउने प्रयास मात्रै गरेनन् संविधानको ख्याल गर्न समेत सुझाए । तर पनि काँग्रेस सांसदले आसन ग्रहण नगरेपछि उनले बाध्य भएर आइतबारको बैठक स्थगन गर्न पुगे । अर्को बैठक माघ २८ गते मंगलबारका लागि बोलाएका सभामुख सापकोटाले सो दिन पनि काँग्रेसले अवरोधको नीति नछाडे कसरी अघि बढ्छन् त्यो भने हेर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप