केन्द्रीय संस्करण

नेपाली र नेवारी भाषामा फरक स्वस्थानी

person explore access_timeमाघ २६, २०७६ chat_bubble_outline0

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म घरघरमा वाचन गरिने श्री स्वस्थानीको कथा वाचन तथा साँखुको सालीनदीमा लागेको मेला समापन हुँदैछ । प्राचीन कालदेखिका मूल्य, मान्यता, आस्था र विश्वास रहेको श्रीस्वस्थानी देवीको महिला तथा पुरुषहरुले काठमाडौँको साँखुमा रहेको सालीनदीमा एक महिनासम्म विभिन्न विधिका साथ व्रत बस्ने गर्छन् । साथै देशभर हिन्दुहरुका घरमा स्वस्थानीको कथा वाचन गरिन्छ ।

श्रीस्वस्थानीको व्रतकथासँग जोडिएको सालीनदी काठमाडौँको साँखुमा पर्छ । साँखुका संस्कृतिप्रेमी प्रवीणराज श्रेष्ठ सालीनदीको नामकारण शालीन नदीबाट अपभ्रश भएर भएको हुन सक्ने बतााउँछन् ।

उनले भने– ‘साँखुको ब्रजयोगिनी मन्दिर रहेको मणिच्यूड पहाडलाई मणिशैल पर्वत पनि भनिन्छ । मणिशैल पर्वतको मुनिबाट बगेको नदी शालीन नदी, शैल नदी हुँदै अपभ्रंश भएर सालीनदी भएको हुनसक्छ ।’  

माघ महिनामा विष्णु भगवानले पनि स्वस्थानीको व्रत बसेको मान्यताका आधारमा पुरुषहरुले माधवनारायण उच्चारण गर्दै स्वस्थानीको व्रत बस्छन् । विष्णुले एक महिना माधवको रूप धारण गरेर एक महिना उपवास बसेको कथन रहेको श्रेष्ठ बताउँछन् । पौष शुक्ल पूर्णिमादेखि व्रत सुरु हुने भए पनि अघिल्लो दिनमै पुरुष व्रतालुहरूले हात गोडाको नङ काटी, कपाल खौरिएर, शुद्घ एकभक्त भई ज्र्योतिलिङ्गेश्वर महादेवस्थानबाट जल र व्रत बस्ने सङ्कल्प लिन्छ ।

एक महिनासम्म व्रत बस्दा माछा, मासु, अण्डा, दाल, लसुन, प्याज, साग, नुन, तेल, खान नहुने मान्यता छ भने केराउ, चाकु, अदुवा, दुध, घिउ, पाटने पालुङ्गो, लप्सी, रातो मूला मात्रै खाने गर्छन् । प्रत्येक दिन नुहाएर नित्यपूजा गर्ने, सम्पूर्ण देवीदेवताहरूको पूजा अर्चना गरी बेलुका अलिनो खाना खाने गर्दछन् । 

एक महिनासम्म निकै कठोर नियम पालाना गरेर भक्तजनले स्वस्थानीको व्रत बस्ने गरका छन् । व्रतका क्रममा उनीहरुले मन्त्रोच्चारण, पूजापाठ, जपतप तथा स्वस्थानी कथा वाचन गर्ने गर्छन् ।

नेपाली र नेवारी भाषामा फरक स्वस्थानी

एक महिनासम्म हिन्दु धर्मावलम्बीका घरघरमा वाचन गरिने श्रीस्वस्थानी परमेश्वरीको कथा नेपाली र नेवारीमा भने केही भिन्नता रहेको अध्ययनले देखाएको छ ।

नेपाल भाषामा स्वस्थानी कथालाई ठ्यासफु बाख भनिन्छ । यसमा अध्याय छुट्याइएको पाइँदैन । यसमा इच्छाअनुसार कथामा वाचनमा विश्राम लिन सकिने र ३० दिनभित्र सक्नुपर्ने साँखुका संस्कृतिप्रेमी प्रवीणराज श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘स्वास्थानीमा बाखन ट्वा भन्ने विश्राम चिन्ह हुन्छ, त्यो आएपछि रोक्न सकिन्छ । त्यसभन्दा अगाडि पनि जान सकिन्छ तर त्यसलाई ३० दिनभित्र सक्नुपर्छ एक दिन यति कथा नै पढ्नुपर्छ भन्ने छैन । मैले देखेको नेपाल भाषाको स्वस्थानीको किताबमा त्यस्तो देखिन्छ ।

नेपाल भाषाबाट देवनागरिक नेवारी भाषामा आएको स्वस्थानीमा पनि अध्याय छुट्याएको देखेको छु । नेपाली भाषामा त अध्याय भइहाल्यो । अध्यायमा थोरैमा ७ अध्यायको पनि छ भन्ने सुनेको छु, त्यो चाहिँ देखिएको छैन । कुनै स्वस्थानी कथामा नलराज दमयन्ती रानीको कथा पनि जोडिएको छ । त्योबेला स्वस्थानीको कथा तयार गर्नेले सन्दर्भ मिल्ने कथा जोडिदिएको पनि पाइन्छ ।’ 

स्वस्थानीको कथाबारेमा २ जना अमेरिकनहरुले अध्ययन गरेका छन् । त्यसका लागि साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठ र प्रवीणजराज श्रेष्ठले उनीहरुलाई सहयोग गरेका थिए ।

धेरै अघि लिन्डाले अध्ययन गरेकी थिइन भने सन् २००५ देखि जेसिका भन्टाइन्ले अनुसन्धान सुरु गरेकी थिइन् । सिकागो विश्वविद्यालयको दक्षिण एसियाली देशको हिन्दु धर्म विभागबाट छात्रवृत्ति लिएर उनी अनुसन्धान गर्न आएकी थिइन् ।

जेसिका सुरुमा भारत गएको र पछि अनुसन्धानका लागि नेपाल आएपछि भेट भएको श्रेष्ठले बताए । उनले यो विषयमा किन अध्ययन गर्न लागेको भन्दा जेसिकाले दक्षिण एसियामा महिलाहरुको विषय र हिन्दु धर्मको विषयमा रुचि लागेकोले अध्ययन गर्न खोजेको बताएपछि सहयोग गरेको उनले बताए ।

हिन्दु भनेपछि भारत वा हिन्दुस्तानलाई मात्र सम्झने गरे पनि हिन्दुको उद्गम नेपाल रहेछ भनेर हिन्दु धर्मको प्रचार प्रसार गर्ने उद्देश्य लिएर स्वस्थानीको अनुसन्धान गर्न खोजेको उनले त्यतिखेर बताएकी थिइन् ।  

उनले स्वस्थानीको अनुसन्धानका लागि सुरुमा विश्वविद्यालयमा नेपाली भाषामा लेखेको किताब बुझाएको तर त्यसलाई स्वीकृत नगरेपछि उनी फेरि नेवारी भाषामा लेखेको स्वस्थानीको किताब बोकेर अमेरिका गएकी थिइन् ।

त्यो पुस्तक विश्वविद्यालयले स्वीकृत गरेपछि उनी फेरि फर्किएर साँखु आएको बताए । श्रेष्ठले नै उनलाई नेवारी भाषाको स्वस्थानी किताब उपलब्ध गराएका थिए । उनलाई कसरी स्वस्थानी पढ्ने भनेर सबै विधि पनि देखाइएको थियो ।

साँखुका ती पुस्तक पाएपछि उनले अन्य केही पुस्तकालयबाट पनि किताब भेटेको श्रेष्ठले बताए । उनी स्वयंले पनि अनुसन्धानमा लागि विभिन्न ठाउँमा लगेका थिए । उनले भने, ‘मैले स्वयं नै उनलाई पनौती लिएर गएँ, भक्तपुर पनि लिएर गएँ, जहाँ जहाँ नेवारी भाषामा स्वस्थानी पढिन्थ्यो त्यहाँ लगेँ । सन् २००५ देखि २०१० सम्म उहाँले पीएचडी सक्नुभयो । अहिले उहाँ प्रध्यापक भएर पेन्सलभानियाँ विश्वविद्यालयमा पढाउनुहुन्छ ।’ 

नेपाली र नेवारी भाषाको स्वस्थानीमा के फरक छ ?

नेपाली भाषामा रहेको स्वस्थानी पुस्तकभित्र शून्यदेखि सृष्टिकल्पसम्मका कुराहरु, देवासुर सङ्ग्राम, शिव र सतीदेवीको विवाह र विछोड, सतीदेवीको अङ्गपतनबाट विभिन्न स्थानमा शक्तिपीठ उत्पत्तिका कथा, शिवपार्वती विवाह, हिमालय पर्वत, जालन्धर, कामदेव र रती, शिवशर्मा र शिवभट्ट, गोमा, श्रीस्वस्थानीको व्रत, चन्द्रावती, नवराजको कथा विषयमा ३० अध्यायसम्म कथा समेटिएको पाइन्छ ।

नेपाली र नेवारी भाषामा रहेको श्रीस्वस्थानी कथा वाचन गर्नुअघि र सकेपछि वाचन गर्ने मन्त्र एउटै हुन्छ । तर भित्र कतिपय कथामा भने फरक रहेको श्रेष्ठ बताउँछन् । उनले स्वस्थानीमा मधुकैटवको वध विष्णुले गर्ने र त्यसबाट सारा कुरा उत्पन्न हुने कथा छ । तर नेवारीमा भने श्रीस्वस्थानीले मधुकैटवको यसरी बध गर्नु भनेर विष्णुलाई आदेश दिएको कथा रहेको श्रेष्ठले सुनाए ।

नेपाली भाषामा लेखिएको स्वस्थानी हरेक दिन अध्याय छुट्याएर पढिन्छ भने नेवारीमा यति नै पढ्नुपर्ने भन्ने नरहेको तर एक महिनामा सक्नुपर्ने हुन्छ । अध्याय नभए पनि पुस्तकमा बाखन ट्वा भन्ने रोक्ने ठाउँ भने हुने उनले बताए ।

नेपाल भाषामा रहेको श्रीस्वस्थानी कथा कसले र कहिले लेखिएको भन्ने अहिलेसम्म थाहा छैन । तर नेवार समुदायको बस्ती रहेको ठाउँमा नेवारी भाषामै लेखिएको स्वस्थानीको किताब रहेको प्रवीणराज बताउँछन् । 

छापाखाना नभएका बेला नेवारी भाषाको स्वस्थानीको किताबको अर्को प्रति माना चामल दक्षिणा लिएर गुभाजुले हरेक दिन लगाएर लेखिदिने गरेको पनि पाइएको उनले बताए ।

स्वस्थानीमाथि बहस : कति उचित कति अनुचित ? 

पछिल्लो समयमा श्रीस्वस्थानी कथाभित्र रहेका विषय र घटना महिलामाथि अन्यायका कुरा रहेको भन्दै आलोचना पनि हुने गरेको छ । स्वस्थानी कथा वाचन गरिने एक महिनाको अवधिमा विभिन्न मिडियामा खासगरी महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरुले स्वस्थानीमा पितृसत्तालाई मलजल गर्ने कथा रहेको भन्दै बहिष्कार गर्नुपर्नेदेखि पुनर्लेखन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

संस्कृृतिविद् प्रवीणराज श्रेष्ठ परम्परागत मूल्य मान्यतालाई अहिलेको समयअनुसार विश्लेषण गर्न नहुने बताउँदै त्यसमा भएको सन्देशलाई ग्रहण गर्नुपर्ने बताउँछन् ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी हिन्दुधर्म उदार भएका कारण यसप्रकारका आलोचना हुने गरेको बताउँछन् ।

अथाह समय लागेर विकास भएको धर्म संस्कृतिको बारेमा वर्षौंपछि मूल्याङ्कन गर्यो भने त्यसमा कमीकमजोरी भेटिए पनि त्यसका राम्रा पक्षलाई उपेक्षा गर्न नहुने बताउँछन् । कतिपय शोधकर्ताहरुले हिन्दुधर्म ग्रन्थमा नकारात्मक कुरा खोतलेर बदनाम गर्न खोज्ने प्रवृत्ति पनि रहेको उनी बताउँछन् ।

हिन्दु उदारताको दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन : देवप्रकाश त्रिपाठी

मलाई के अचम्म लाग्छ भने मुस्लिम धर्ममा अनुसन्धान गरेर त्यति नकारात्मक टिप्पणी गर्न शोधकर्ताहरुले नसक्ने, कतिपय धर्मभित्रका कुराहरु अनुसन्धान नगर्ने तर हिन्दु धर्मभित्र गरिन्छ, अरू धर्मभन्दा यो उदार पनि छ । हाम्र्रो वैदिक धर्मसंस्कृति उदार भएर पनि होला, वैज्ञानिक भएर पनि होला विदेशीले यसमा चासो राख्नु एक किसिमले राम्रो पनि छ ।

हाम्रो धर्मसंस्कृतिमाथि कसैले पीएचडी गर्छ भने त्यसलाई हामीले नकारात्मक मान्नुपर्ने अवस्था छैन तर त्यो अनुसन्धानलाई कसरी प्रयोग गर्न खोज्छन त, त्यही अनुसन्धानको आधारमा संस्कृतिको बदनाम गर्ने, उपेक्षा गर्ने काम भयो भने चाहिँ त्यो स्वीकार्य हुँदैन ।

स्वस्थानी मात्र हैन कुनै पनि धर्म ग्रन्थमा संशोधन गर्ने अधिकार यो दुनियाँमा कसैलाई पनि छैन । यो जस्तो छ त्यही रूपमा रहनुपर्छ, रहन दिनुपर्छ मान्न चाहनेले मान्छन्, मान्न नचाहनेले मान्दैनन् ।

श्रीस्वस्थानी माताको कुरा गर्दा, स्व स्थानी माता । यसमा आफैमा गजवको महत्त्व देख्छु म । आफ्नो मातृभूमिप्रति, आफ्नो संस्कृतिप्रति, आफ्नो धर्मप्रति, आफ्नो मौलिक मूल्यामान्यताप्रति मान्छेलाई सजग गराउने, सचेत गराउने, अभिप्ररित गराउन प्रेरित गराउने काम हो यो स्वस्थानी माताको व्रत भनेको । ती कुराप्रति मानिसलाई एकाग्र गराउने कुरा हो ।

त्यो प्रयासलाई अहिले बङ्ग्याउने, यसको बदनाम गर्ने भन्ने कुरा हुँदैन । जहाँसम्म महिला दिदीबहिनीहरुले यसमा हाम्रो अपमान भयो, उपेक्षा भयो भन्नुहुन्छ भने उहाँहरुले संस्कृतिलाई बुझ्नुपर्छ । उहाँहरुलाई पनि यो भन्ने अधिकार छैन । महिलालाई कति होच्याएको छ अरू ग्रन्थमा पनि हेरौँ ।

अरू धर्मग्रन्थमाथि पनि त्यसरी उठ्न सक्नुपर्यो नि । हिन्दु धर्मसंस्कृतिको उदारताको दुरुपयोग गरी लाभ उठाउने अधिकार कसैलाई पनि छैन । पुरानो समयमा शताब्दीऔँ अगाडि तयार भएका ग्रन्थहरु या त्यतिबेलाका मौलिक मानसिकताका कुराहरुलाई विगार्ने भत्काउने गर्नुहुँदैन र यसको विरोध गर्नुको अर्थ  पनि छैन । यो चाहिँ नियोजित प्रयास हो हाम्रो संस्कृतिलाई बदनाम गराउने । मैले धर्मग्रन्थ माथिको विरोधलाई सामान्य रूपमा लिन सकेको छैन । खासगरी महिला अधिकारवादी भन्नेहरुको विरोेधलाई मैले तर्कपूर्ण मानेको छैन ।

खासगरी पश्चिमा शक्तिहरुले हाम्रो धर्म संस्कृति परम्पराको अनुसन्धान अहिले मात्र हैन धेरै पहिलेदेखि सुरु गरेको पाइन्छ । कतिपय देशका विश्वविद्यालयमा हाम्रो संस्कृतिबारे पढाइन थालेका छन् । हाम्रो धर्म वैज्ञानिक भनेर यसमा आधारित भएर पाठ्यपुस्तक बनाइन थालिएको छ । तर अनुसन्धान आफैमा नराम्रो नभए पनि यसलाई बङ्ग्याउने काम भने स्वीकार्य हुँदैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.