शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिन्दगी बित्दैछ

शनिबार, २५ माघ २०७६, १२ : ४६
शनिबार, २५ माघ २०७६

- साकार बाबु सुवेदी

आराम छ जीन्दगी आजकल तिमी नभएर,
भएर त बिरामै बिरामको आरोप नै त हो,
छातीभित्रका मनहरू हुर्के  पत्थरकै भएर,
गुनासो छैन चोटहरूले नै भगवान बनेकै त हो ।

नदीका बगरहरूमा भेला गरिएका गोल ढुङ्गा,
बर्षाै बहावमा घोटिएर प्यारो बनेको नै त हो
तिमीले मेरा लागि मैले तिमीलाई दिएको संज्ञा,
दुग्धपान गराउन हातारो मै सर्प छानेकै त हो ।

हावामा गम्किरहेका बेलीका बासनाहरू थिए,
तिमी थियौ तर तिमीभित्र म पनि भएर नै त हो,
प्रायश्चित्का पहाड थिए, नदीका धार बेधार थिए,
उचाईबाट बगेर ओरालोतिर झर्न डराएकै त हो ।

पारिलो घाम थियो, प्रकाश छरिएकै थियो घरभरी,
मन घमाउन नसकेको मेघै मेघको सहाराले नै त हो
हिमालझैँ चुलिएका अहमता पालिएकै हो मनभरी,
ठूलो बन्ने होडमा शिरहरूको उचाई नापिएकै त हो ।

आराम छ जिन्दगी आजकल तिमी गुमनाम हुँदा,
बदनाम हुँदा त शहरभरि तिम्रै मात्र चर्चा थियो
कहिले नेत्र, कहिले कर्ण थुन्दा थुन्दै सुनसान हुँदा,
राम्रोसँग छापिएको तिम्रो कुरूपताको पर्चा थियो ।

तिम्रो सुगन्धको भ्रम थियो मैले फेर्ने श्वासहरूमा, 
दुर्गन्धहरू त आफ्नै शरीरमा पर्याप्त सरेकै थियो,
कहिले अत्तर, कहिले स्नानले जित्ने विश्वासहरूमा,
कस्तुरी झैँ भाग्दा भाग्दै आफैँसँग मन मरेकै थियो ।

आराम छ जीन्दगी आजकल तिमी नभएर,
भएर त बिरामै बिरामको आरोप नै त हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप