मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा – सहरमा छाउपडी

शनिबार, २५ माघ २०७६, ०८ : १२
शनिबार, २५ माघ २०७६

उनी सामाजिक अभियन्ता थिइन् । हाम्रो मन मिल्यो । बिहे भयो । उनी प्रायः बाहिर हुन्थिन् । म अफिसमा बिजी हुन्थे । बुढाबुढीको भेटघाट साँझमा मात्र हुन्थ्यो । जिल्ला बाहिर खटिँदा महिनौँ भेट हुँदैनथ्यो ।

पुस महिनादेखि नेपाल सरकारले छाउगोठ भत्काउने कार्य सुरु गर्न थाल्यो । उनको संस्था पनि सहकार्यका लागि सुदूरपश्चिमतिर लाग्यो । हाम्रो फोनमा कुरा भइरहन्थ्यो । स्थानीय प्रतिनिधि, प्रहरी र संस्थाहरुको सहयोगमा छाउगोठ भत्काउने कार्य सुरु भयो । रुढीवादी परम्पराले जगडेको ठाउँमा काम गर्न गाह्रो हुने रहेछ । स्थानीयलाई बुझाउन साह्रै गाह्रो छ भन्थिन् ।

छाउपडी प्रथाका बारेमा उनले फोनमा लामै कुरा गर्थिन् । बेलाबेलामा छाउगोठका पुराना घटनाहरु सुनाउथिन् । त्यहाँका चेलीहरुले कैयौँ अँध्यारा रात छाउगोठमा एक्लै बिताएका कुरा सुन्दा आङ नै सिरिङ्ग हुन्थ्यो । अहिलेसम्म धेरैको छाउगोठमा मृत्यु भइसकेको रहेछ । कतिलाई सर्पले डस्ने रहेछ । कतिलाई जङ्गली जीवले आक्रमण गर्नेरहेछन् । कति चिसोले कठ्याङ्ग्रिने रहेछन् । परम्परा आफैले बसाल्ने हो । नराम्रो छ भने त्याग्ने हो । राम्रो छ भने अनुशरण गर्ने हो । त्यति भइसक्दा पनि हामीले किन चेत्न नसकेका ? आफैलाई साह्रो नरमाइलो लाग्यो ।

बीस दिनपछि उनी घर फर्किन् । म भर्खर अफिसबाट आएको थिएँ । उनले चिया बनाउन आग्रह गरिन् । अफिसको कामले थाकेको भन्दै उनलाई नै बनाउन अनुरोध गरेँ । उनी आवाजलाई उचाइ दिदै बोलिन्– ‘म मिन्स भा’छु । अबको पाँच दिन तिमीले  नै बनाउने हो । म किचनमा छिर्दिन ।’

म केही बोल्नै सकिनँ । ट्वाँ परेर उनको अनुहारमा हेरिरहेँ ।

–बलबहादुर थापा मगर

बागलुङ नगरपालिका– १०, भकुण्डे, अर्भक  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप