शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गरुडा नगरपालिकाको वडा कार्यालयमा तोडफोड

बिहीबार, २३ माघ २०७६, १२ : ५९
बिहीबार, २३ माघ २०७६

रौतहट । जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिका–२ को वडा कार्यालयमा विद्यार्थीहरुको एक समूहले तोडफोड गरेको छ । उक्त समूहले वडा कार्यालयको लाखौँ रुपैयाँ बराबरको सम्पत्ति नष्ट गरेको छ ।

तोडफोडमा संलग्न १८ जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ । गरुडा नगरपालिका–२ गेडही गुठीस्थित माध्यमिक विद्यालयका केही विद्यार्थीले शिक्षकलाई बाहिर निकाली विद्यालयमा तालाबन्दी गरेर वडा कार्यालय पुगेर तोडफोड गरेका थिए ।

आक्रमणबाट वडा कार्यालयको कम्प्युटर, दराज, फर्निचर तथा सम्पूर्ण कागजपत्र नष्ट भएको छ । वडा कार्यालयको सम्पूर्ण अभिलेख नै नष्ट भएको जनाइएको छ ।

शिक्षकको दरबन्दी पूर्तिको माग गर्दै केही स्थानीयको ईशारामा वडा कार्यालयमा आक्रमण तथा तोडफोड भएको वडा नम्बर २ का अध्यक्ष विशुनदेव शहनीले बताए । तोडफोडबाट करिब ६ लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको उनको भनाइ छ ।

विद्यालयमा एक राहत कोटा तथा तीन करार शिक्षक नियुक्तिका लागि मावि गेडहीगुठी र वडा कार्यालयले प्रकृया अगाडि बढाईरहेको अवस्थामा केही राजनीतिक दलको ईशारामा बुधबार वडा कार्यालयमा आक्रमण भएको वडा अध्यक्ष शहनीले बताए ।

वडा कार्यालयमा तोडफोडपछि उक्त समूह तीन किलोमिटर टाढा रहेको नगरपालिका कार्यालयमा आक्रमण गर्ने उद्देश्यले अघि बढ्दा प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा प्रहरीमाथि नै विद्यार्थीहरुको उक्त समूहले आक्रमण गरेको थियो ।

तोडफोड गर्ने समूहका १८ जनालाई नियन्त्रणमा लिइएको र आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिए ।

यसअघि गत मंसिरको अन्तिम साता केही अभिभावकको उक्साहटमा विद्यार्थीको एक समूहले गेडहीगुठी माध्यामिक विद्यालयमा आक्रमण गरेका थिए । आक्रमणबाट विद्यालय भवनको झ्याल, ढोका, फर्निचर, पुस्तकायको किताव, आवशयक कागजात समेत नष्ट भएको विद्यालयका प्रधानाध्यापक रेणु गुप्ताले बताइन् ।

त्यसैगरी शिक्षक सरुवाको विषयलाई लिएर कटहरिया माविका विद्यार्थीहरुले गत भदौमा कटहरिया नगरपालिकाको कार्यालयमा आक्रमण गरेका थिए ।

यी दुवै घटनामा संलग्नलाई कडा कारवाही तथा क्षतिपूर्ति दिलाउने काम नभएकै कारण मावि गेडहीगुठी र गरुडा–२ को कार्यालयमा आक्रमण भएको मेयर सियाराम कुश्वाहाको दावी छ ।

रौतहटका सिडिओ वासुदेव घिमिरेले सरकारी सम्पत्तिमा क्षति पु¥याउने उपर कडा कारवाही हुने प्रतिवद्धता जनाए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप