शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पताल : सर्वोच्च अदालतको आदेश लत्याउँदै सटर भत्काउन एकाबिहानै डोजर चलाइयो

बिहीबार, २३ माघ २०७६, १२ : ३२
बिहीबार, २३ माघ २०७६

बुटवल । बिहीबार बिहानै लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर भत्काएपछि विवादले नयाँ मोड लिएको छ । 

अस्पताल प्रशासनलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको अवस्थामा समेत उक्त आदेशविपरीत सटरहरु भत्काइएको भन्दै व्यवसायीका पक्षबाट सर्वोच्च अदालतमा बिहीबार अदालतको अवहेलनासम्बन्धी अर्को मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार दुबै पक्षलाई फागुन १ गते छलफलमा बोलाउने र त्यतिन्जेलसम्म सटरहरु खाली गराउने विषयको पत्र र यस सम्बन्धमा भए–गरेका निर्णयहरु कार्यान्वयन नगर्नू, नगराउनू भन्दै अन्तरकालीन आदेश दिएको थियोे । 

तर अस्पताल प्रशासनले सर्वोच्चको उक्त आदेश आएको भोलिपल्टै बिहीबार बिहानै सटरहरुमा डोजर चलाएपछि सटर भाडामा लिएका व्यवसायीले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर प्रक्रिया अघि बढाएका हुन् ।
व्यवसायी ज्ञानप्रसाद पौडेलका अनुसार बिहीबार सर्वोच्चमा अस्पताल प्रशासनविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको छ । उनले भने, ‘आदेश कान्र्यान्वयन गर्ने जुन जुन पक्षले उल्लंघन गरेका छन्, ती सवैलाई विपक्षी बनाई हामीले मुद्दा हाल्ने तयारी गरेका छौँ, अहिले हामी सर्वोच्च परिसरमै छौँ ।’

गत कार्तिक १८ गते प्रदेश ५ सरकारको मन्त्रिपरिषद बैठकले अस्पतालका सटर मंसिर मसान्तसम्म खाली गर्न व्यवसायीहरुलाई चेतावनी दिदैँ सो अवधिसम्ममा खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो ।त्यसविरुद्ध व्यवसायीहरु अदालत पुगेका थिए ।

अस्पतालमा प्रमुख डा. राजेन्द्र खनालले अदालतको पत्र विधिवत रुपमा अझै आफुकहाँ नआएको बताए । ‘सटर भत्काउने काम भइसक्यो, अदालतको आदेशबारे हामीले औपचारिक जानकारी पाएका छैनौँ ।’
यसअघि जिल्ला अदालत रुपन्देहीले व्यवसायीको माग खारेज गरिदिएको थियो । जिल्ला अदालतको आदेशसँगै अस्पताल प्रशासनले माघ २२ गतेसम्मको समय दिएर ४८ घण्टाभित्र सटर खाली गर्न अल्टिेमेटम दिएको थियो ।
उक्त अवधिसम्म पनि व्यवसायीले सटर खाली नगरेपछि अस्पताल प्रशासनले प्रहरीको सहयोगमा बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काएको हो ।

अस्पताल प्रमुखमाथि हातपातको प्रयास 
बिहानै सटर भत्काउन डोजर चलेपछि आक्रोसित समूहले अस्पतालका कर्मचारीमाथि हातपात गरेको छ । अस्पताल गार्ड र एक जना महिलालाई अहिले १०÷१२ जनाको संख्यामा आएको समूहले हातपात गरेको अस्पताल प्रमुख डा. राजेन्द्र खनालले रातोपाटीलाई बताए । उनले आफ्नो कार्यकक्षमा समेत हातपातका लागि उनीहरु आएको बताए ।
‘त्यो बीचमै गार्ड र अर्को एक महिला कर्मचारीलाई हातपात भएको छ,’ उनले भने, ‘अहिले सिसिटिभी फुटेजबाट ती व्यक्तिहरुको परिचाहन भइरहेको छ । अब प्रशासनले उनीहरुमाथि कारवाही गर्ने छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप