शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देश विखण्डनको ठेक्का अमेरिकालाई दिन सकिन्न: भीम रावल

मङ्गलबार, २१ माघ २०७६, २० : ०२
मङ्गलबार, २१ माघ २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नाममा देश विखण्डनको ठेक्का अमेरिकालाई दिन नसकिने बताएका छन् । एमसीसी तथा लिम्पियाधुरा, कालापानी लिपुलेकमाथिको कब्जा र राष्ट्रिय स्वाभिमानको प्रश्न विषयक सर्वपक्षीय अन्तरक्रियामा रावलले एमसीसीले देशमा विखण्डन ल्याउने र त्यसको जिम्मा अमेरिकालाई दिन नसकिने बताएका हुन् ।

परियोजनाका बुँदामा सीमान्तकृत को ? पछाडी परेको को ? अमेरिकाले छुट्याउने उल्लेख भएको प्रसंग जोड्दै रावलले यस्तो बताएका हुन् । नेपालको कानूनले नै स्पष्ट रुपमा सीमान्तकृत र पछाडी परेका समुदायको विषयमा व्यख्या गरेको बताउँदै उनले भने, ‘सीमान्तकृत को ? पछाडि परेको को ? त्यो ब्याख्या गर्ने काम नेपालको हो । हाम्रो कानूनले गरेको छ । हामी कुनै देशलाई निम्ता गरेर को सीमान्तकृत हो ? को पछाडी परेको हो भनेर हाम्रो सामाजिक विखण्डनको ठेक्का हामी दिन सक्छौ ? दिन मिल्छ ? मिल्दैन ।’

उनले विद्युत प्रशारण लाइन काठमाडौं, नुवाकोट हुँदै पाल्पा किन लान खोजिएको भन्दै प्रश्न समेत गरे । स्वतन्त्र र सार्वभौम मुलुकले कुनै देशसँग दुईपक्षीय सम्झौता गर्दा तेस्रो मुलुकको सहमति लिनुपर्छ भनेर कतै नलेखेको उल्लेख गर्दै रावलले प्रसारण लाईन नेपालको भित्र पर्छ कि बाहिर भन्दै प्रश्न समेत गरे । परियोजनाका प्राविधिक कर्मचारीहरुलाई कथितको संज्ञा दिँदै रावलले भने, ‘म कथित प्राविधिक र जागिरेहरुलाई सोध्न चाहान्छु । यो प्रशारण लाइन नेपालको सीमाना भित्र पर्छकि सीमाना बाहिर ?’ रावलले नेपाललाई रानीतिक, कानूनी, व्यवहारिक, इसारा, संकेत कुनै पनि किसिमले अरु देशको उपग्रह हो भन्ने अर्थ लाग्ने गरी शब्द लेख्न नमिल्ने समेत बताए  ।

सम्झौताका बुँदाहरुमा अमेरिकामा भविष्यमा बन्ने कानूनको उल्लंघन भएमा वा अमेरिकाको हित विपरित कृयाकलाप गरेमा सम्झौता बदर हुने भन्ने विषयमा मान्न नसकिने रावलले उल्लेख गरे । उनले भने, ‘अमेरिकाको वर्तमान वा भविष्यमा लागू हुने कानून उल्लंघन गरेमा र राष्ट्रिय हित विपरितका कृयाकलाप गरेमा यो सम्झौता बदर हुनेछ भनेको छ । यो कस्तो आश्चर्यको कुरा हो ? आजको कानून मात्रै होइन, उसले भविष्यमा बनाउने काूनन पनि नेपालमा लागू हुने ? यस्तो कुरा प्रष्ट देख्दादेख्दै । ठिक छ भनेर तर्क दिने मानिसहरु नेपालको भूमिमा टेकिरहेको ठानेका छन् कि कुनै देशले अन्तरिक्षमा पठाएको स्याटेलाइटमा यात्रा गर्छु भनेर ठानेका छन् । मलाई आश्चर्य लागेको छ ।’

रावलले सार्वजनिक रुपमै एमसीसीमा भएका बुँदाहरु राष्ट्रहित विपरित भएको भन्दै विरोध जनाउँदै आएका छन् । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अमेरिकी सरकारका मन्त्री, दूतावास, दूतावासका कर्मचारीले एमसीसी इण्डो प्यासिफिक रणनीतिकको अंग भएको बताइरहँदा पनि यो होइन भनेर नेताहरुले भन्दा शंका गर्ने ठाउँ रहेको बताए ।

‘उनीहरुले ढाँटेका छैनन् । यो मामलामा ढाँटेका छैनन कि यो एमसीसीचाहिँ आइपीएसकै अंग हो भन्ने कुरामा मन्त्रीले पनि त्यही कुरा भनिरहेका छन् । राजदूतावासले त्यहि कुरा भनिरहेका छन् । र दूतावासको कर्मचारीले पनि त्यही कुरा भनिरहेका छन् । बोल्दाबोल्दै पनि यो कुरा होइन है भनेर भन्ने कुरा भइराखेको छ शंका गर्ने ठाउँचाहिँ त्यहाँ छ । यो किन भनिराखिएको छ, त्यसकारणले यो सम्बन्धमा यो डकुमेन्ट त्यहाँको सैनिक डकुमेन्ट हो, चाइनालाई घेर्नको लागि हो, रसियालाई घेर्नको लागि पनि हो, उत्तर कोरीयालाई घेर्नकै लागि हो भनेर यसैमा लेखिएको छ ।’ उनले भने ।

सीमाविद बुद्धिनारायण श्रेष्ठले एमसीसीले मुलुकको स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रतिकूल असर पर्ने बताए । सम्झौता इण्डो प्यासिफिकभित्र पर्ने भएकाले यो लागू भएमा नेपालको असंग्न पराराष्ट्र नीतिको उल्लंघन हुने पनि उनले बताए । श्रेष्ठले नेपालबाट चीनको विकासको खुट्टा तान्न र चीनलाई घेर्न यो परियोजना अमेरिकाले अघि सारेको उल्लेख गर्दै उनले नेपालमा फ्रि तिब्बतको नारा घन्किने चेतावनी समेत दिए ।

श्रेष्ठले महाकाली सन्धि अपरिपक्व भएका कारण भारतले नेपालको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने साहस गरेको उनले बताए । महाकाली सन्धि हुँदा महाकाली नदी नै सीमा नदी भनेर उल्लेख गरेको तर नदीको उद्गमस्थल लिम्पियाधुरा भनेर नलेखेका कारण यो अवस्था आएको उनले दाबी गरे । सीमा समस्या सामाधानका लागि सरकारले जतिसक्दो चाँडो आफ्नो पुरै भूमि समेटेर नयाँ नक्सा जारी गर्नुपर्ने उल्लेख समेत गरे । संविधान संशोधन गरेर नेपालको पुरै नक्सा राख्नुपर्ने उनले बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले राष्ट्रिय स्वाधिनताका लागि आफ्नो पार्टी कहिल्यै नझुक्ने बताए । नेपालमाथि हमला गरी कब्जा गर्ने षडयन्त्रलाई ध्वस्त पार्न एकजुट हुनुनपर्ने उनले बताए  । सत्तारुढ दलभित्र र बाहिर पनि एमसीसीको विषयमा बहस सुरु भएको छ । पछिल्लो समय सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठकमा पनि यो विषय उठेपछि अध्ययन गर्न कार्यदल नै बनेको छ । कार्यदलमा झलनाथ खनाल संयोजक  रहेका छन् भने रावल सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप