शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : एसपी गंगा पन्तको पर्सामा सरुवा, भीम रावलले पाए थप जिम्मेवारी

मङ्गलबार, २१ माघ २०७६, १९ : ०१
मङ्गलबार, २१ माघ २०७६

भीम रावललाई थप जिम्मेवारी
काठमाडौ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागमा १० जना सदस्य थपिएका छन् । जसमा नेकपाभित्र प्रतिपक्षका रुपमा चिनिएका तथा खरो शैलीमा उत्रने स्थायी समिति सदस्य भीम रावल पनि परेका छन् । 

यसअघि रावलले आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । रावल नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज हुन् । 

नयाँ सदस्यहरु थपिएलगत्तै सोमबार बसेको विभागको बैठकले महाधिवेशन लक्षित कार्ययोजना तयार गरेको छ । 

महाधिवेशनको मिति तय भैसकेकाले त्यसलाई आधार बनाएर विभागले आफ्नो कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । 

‘महाधिवेशनको मिति तोकिसकेको अवस्थामा जटिल काम बनेको सदस्यता व्यवस्थित गर्ने काम चुनौतीपूर्ण छ । त्यसलाई व्यवस्थित गर्ने दिशामा अघि बढ्ने निर्णय भएको छ’ शाक्यको भनाइ छ । 

पछिल्लो पटक संगठन विभागमा १० जना सदस्यहरु थपिएपनि पूर्णता भने अझै भएको छैन । नेकपाको पार्टी नियमावलीअनुसार विभागहरू पूर्ण हुन ३५ सदस्य रहनुपर्नेछ । 

नेकपाको यो विभागका प्रमुख वामदेव गौतम हुन् । आइतबार बसेको सचिवालय बैठकमा विभाग प्रमुख गौतमले सिफारिस गरेका नामहरुलाई अनुमोदन गरेको हो । 

तेस्रो पटक संगठन विभागमा थपिएका सदस्यहरुमा भीम रावल, भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन् । पोखरेल प्रदेश ५ र सुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।

गत साउन ३ गते बसेको सचिवालय बैठकले संगठन विभागमा बामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख तोकेको थियो भने असोज २९ गते अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थपिएका थिए । 

 


प्रतिनिधिसभा कोरोना

सरकारले नोवेल कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भइरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ । 

प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समय लिएर बोल्दै कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकार बाट भएका कामकारवाहीको जानकारी गराएका हुन् । 

प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको जानकारी दिँदै उनले आफ्नै नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको पनि जानकारी दिए । यस्तै प्राविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयको सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको पनि उनले  स्पष्ट पारे । संक्रमणबाट बच्नका लागि जनचेतना मुलक विज्ञापन बनाइएको र सम्बन्धित विज्ञहरुसंग विभिन्न चरणमा बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भईरहेको उनले उल्लेख गरे । 

उनले चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको र बिलम्ब नगरि ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पारे । 

युवान प्रान्तमा विमानस्थल बन्द रहेको र यातायात पनि संञ्चालनमा नरहेकाले स्थानीय सरकारसंगको समन्वयनमा त्यहाँका नेपालीलाई नेपाल ल्याई न्यूनतम १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरि आवश्यक तयारी गरिएको उनले बताए । 

कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्तर्गत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधान अनुसार आदेश जारी पनि गरिसकेको उनले स्पष्ट पारे । 

 उनले तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा वेडको व्यवस्था मिलाइएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भइरहेको बताए ।  तत्कालका लागि काठमाडौ उपत्यका भन्दा बाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि संभावित जोखिमको ठाउमा राखेर आवश्यक तयारी गरिएको उनले बताए । 

प्रतिनिधि सभा बैठकको शुन्य समय

त्यसैगरी, प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद निरु देवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिइन् । 

 छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौति समेत दिइन् । 

सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबार सम्म सुदुरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ ।

केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए । 

त्यसैगरी सांसद डिला संग्रौलाले नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएपनि कार्यान्वयन नहुन नसकेको भन्दै सो को बारे यथार्थ जानकारी सदनलाई गराउन माग गरिन् । 

दिलेन्द्र प्रसाद बडूले कोरना भाईरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ भनी प्रश्न गरे । उनले चीनमा रहेका नेपालीको संख्या, अवस्था र उद्धारका लागि भइरहको प्रयास र सो रोगको भरपर्दो र सुरक्षित उपचारको व्यवस्था गर्न सक्ने तयारी के छ सो बारे सदनलाई जानकारी गराउन माग गरेका थिए । 

कोरोना र भिजिट नेपाल २०२० 

यता, कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् । 

 होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्ती मार्फत अफ्ठ्यारो परिस्थितीसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यवद्धता जनाउँदै दुःख व्यक्त गरेका हुन् । 

हानका अध्यक्ष सृजना राणाले भ्रमण वर्षको सुरुवाती महिनामा केही चिनियाँ पर्यटकहरु कम आउने भएपनि होटलमा भएका पाहुनाहरुलाई कोरोना भाइरसको पूर्व सावधानी अपनाउन र संकेत देखिने वित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताइन् । 

नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले चिनियाँ पर्यटकहरु कम हुँदा होटल व्यवसायी मात्रै नभएर कृषक र ट्याक्सी चालकहरुलाई समेत समस्या परेको बताए ।  नेपाल भ्रमण वर्षको प्रचारसँगै कोरोना भाइरसका विषयमा पनि सचेत रहन र यसबाट कसरी जोगिने भन्ने विषयमा सन्देश दिन अभियान नै सञ्चालन गरिएको बताए । 

गत डिसेम्बरमा चीनमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट ४ सय भन्दाबढीको मृत्यु भएको छ । विभिन्न मुलुकमा २० हजार भन्दा बढी प्रभावित भएका छन् । 

एसपीको काज सरुवा

जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर पनि त्यहाँको जिम्मेवारी नपाएकी एसपी गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । 

चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन । 

हाल आएर प्रहरी प्रधान कार्यालयले उनलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । 

यसैगरी चितवन प्रहरी प्रमु्खको रुपमा नान्तिराज गुरुङको काज सरुवा भएको छ । 

यस्तै बारा प्रहरी प्रमुखमा कृष्ण पंगेनीलाई सरुवा गरिएको भने बारा प्रहरी प्रमुख  विकाशराज खनाल दंगा नियन्त्रण गण सुनवलमा काज सरुवा भएका छन् । 

यस्तै एसपीहरु दीपक रेग्मी पूर्वी नवलपरासी, मोहन पोखरेल गण्डकी प्रदेश र अशोक सिंह प्रहरी प्रधान, कार्यालय इन्टरपोल शाखामा काज सरूवा भएका छन् । यता पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई भने काठमाडौं प्रहरी परिसर सरुवा गरिएको छ ।


प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा बाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन् । 
 पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे ।  
छाउपढी जस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले विद्रोह र सङ्घर्षलाई सही बाटोका साथ सङ्घर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको बताए । 

सभामुख र जापानी राजदूत भेट

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । 

मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनीसँग भेटवार्ता गरेका हुन् ।  भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

विकास समिति

कमसल निर्माण सामाग्री प्रयोग गरी कमजोर संरचना निर्माण गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । 

विकास समितिको सोमबारको बैठकमा निर्माण व्यवसायीहरुसँग छलफल गर्दै सांसदहरुले गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गर्नु उचित भएको बताएका हुन् । 

समिति सभापति कल्याणीकुमारी खड्काले भुलवस कमसल सामाग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिलेसम्मको स्थिति हेर्दा व्यवसायीहरुले मिलेमतोमा कमशल निर्माण सामाग्री प्रयोग गर्ने गरेको पाइएकाले त्यस्ता निर्माण व्यवसायीहरुलाई कालोसूचिमा राख्ने व्यवस्था उचित भएको बताइन् । 

गंगामाया अधिकारी

संयुक्त राष्ट्र संघका आवसीय प्रतिनिधि जुलियान्ड भ्यालेरीले नेपाल सरकारले संक्रमणकालीन न्याय प्रक्रिया परिमार्जन गरी पीडितलाई न्याय दिनुपर्ने बताएका छन् । 

ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको  कार्यालयमा मंगलबार न्यायका लागि लडिरहेकी गंगामाया अधिकारीसंग भेट गर्दै  भ्यालरीले सबैलाई न्याय दिलाउन संक्रमणकालिन न्याय प्रक्रियामा परिमार्जन गर्नु आवश्यक रहेको बताएका हुन् ।  
भ्यालरीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै गंगामाया अधिकारीले सरकारले आफूलाई न्याय नदिएकोले संयुक्त राष्ट्र संघसँग न्यायको अपील गर्न  बाध्य भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप