केन्द्रीय संस्करण

सत्तासीनहरुलाई त प्रशंसाले पथभ्रष्ट पार्छ

प्रशंसा र आलोचनासम्बन्धमा हाम्रा शास्त्रका विचारहरु

person explore access_timeमाघ २०, २०७६ chat_bubble_outline0

बुढापाकाहरु भन्छन् ‘ससाना बालबालिकालाई पढाउँदा हुर्काउँदा समय समयमा हौसला दिनुपर्छ । प्रशंसा गर्नुपर्छ । बालिबालिकाका लागि पथप्रदर्शनका साथै सफलताका क्षणमा प्रशंसा पनि एउटा आवश्यकता हो । कार्यक्षेत्रमा लागिसकेका पाकाहरुकालागि प्रशंसा त्यस तहको आवश्यकता होइन । अझ सत्तासीनहरुलाई त प्रशंसाले पथभ्रष्ट पार्छ । चाटुकारहरु प्रशंसाबाट आफ्नो हुँदोनहुँदो काम पट्याउँछन् । जिम्मेवार र इमानदार सत्तासीनले समाजका बुढापाका र वौद्धिक व्यक्तित्वहरुबाट आलोचनाको कामना गर्नुपर्छ । प्रशंसा खोज्न हुँदैन ।”

 सम्मान र निन्दा, अर्थात् प्रशम्सा र आलोचनाका सम्बन्धमा हाम्रा वैदिक ऋषिमुनिहरुको भनाइ यस्तो रहेको पाइन्छ —

“बुद्धिमान्  र विवेकशील व्यक्तिले सम्मान तथा प्रशंसाबाट मक्ख पर्न हुँदैन । प्रशंसा त विखबराबर हो । अर्थात् लागु पदार्थजस्तै हो प्रशंसा । प्रशंसाको मात लाग्छ  । यसैले प्रशंसाबाट त निरन्तर सावधान रहनुपर्छ । अमृत त आलोचना हो । निन्दा हो अमृत । कसैले निन्दा गर्छ, आलोचना गर्छ भने बडो चाख दिएर सुन्नुपर्छ । आलोचनाबाट नै आफूलाई सुधार्न सपार्न र तिखार्न सकिन्छ । यसै काररण बुद्धिमान् व्यक्तिले आलोचना सुन्ने आकाङ्क्षा नै राख्नुपर्छ र  खोजी खोजी सुन्नुपर्छ ।

‘सम्मानात् बुद्धिमान्नित्यम् उद्विजेत विषादिव । अमृतस्येव चाकाङ्क्षेत् अपमानस्य सर्वदा ।’ —मनु संहिता ।”

यसै विषयमा पुराना एक शास्त्रीय कविले लेखेका छन्, “सूर्य किरणहरुले समुद्रका नुनिलो पानी छानीछानी पिएर बादल बनाउँछन् र धर्तीमाथि मधुर र स्वास्थ्यकर पानी सिन्चन गर्छन् । यो आलोचनालाई अमृत बनाउने प्रकाशको विवेक बिम्ब हो । देश र समाजको सेवा गर्ने र उन्नतितिर हाँक्ने हुटहुटी भएका राजनेताहरुमा यो भाव अन्तर्निहित रहन्छ ।

‘क्षारम् पिवति पयोधेः वर्षति अम्बोधरो मधुरम्भः ।’—सुभाषित रत्न भाण्डागार ।”

प्रशंसाकै सन्दर्भमा एउटा अर्को भनाइ यस्तो पनि छ— “तस्करहरु जसको प्रशंसा गर्छन्, भाटहरु जसको प्रशंसा गर्छन्, वेश्याहरु जसको प्रशंसा गर्छन् त्यो उत्तम वा मध्यम स्तरको व्यक्ति त हुनै सक्दैन, अवश्य पनि त्यस्तो व्यक्ति कुनै अधम स्तरको मात्र हुन सक्छ । ‘तस्कराः यं प्रशंसन्ति यं प्रशंसन्ति चारणाः । यं प्रशंसन्ति वन्धक्यः स पार्थ पुरुषाधमः ।‘—महाभारत शान्तिपर्व ।” (यसको तात्पर्य खराव नियतका स्वार्थीहरु प्रशंसाको तेल घसेर काम लिन खप्पीस हुन्छन् । मूर्खहरु तिनीहरुका प्रशंसाबाट मक्ख पर्छन् । विवेकशील व्यक्तिहरु प्रशंसाबाट सधैं सावधान रहन्छन् । कसले कसरी प्रशंसा गर्छ त्यस आधारमा प्रशंसकका साथै प्रशंसित व्यक्तिको मूल्याङ्कन पनि भइरहेको हुन्छ ।)

—   प्रस्तुति: एसआरएन

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.