शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपा–समाजवादी पार्टी एकीकरण : नेता–नेताबीच बोलचालै बन्द !

सोमबार, २० माघ २०७६, १९ : ००
सोमबार, २० माघ २०७६

काठमाडौँ । ‘सरकारमा हुँदा राजपा नेपालका नेताहरुसँग बोलचाल हुन्थ्यो तर अहिले उनीहरु बोल्नै चाहँदैनन्, भागिरहेका छन्  । खोज्दै, पिछा गर्दै जन्छु तर उनीहरु भागिरहेका छन् ।’

यो भनाइ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी निजामती कर्मचारी मञ्चको २३ औँ स्थापना दिवसको कार्यक्रममा राखेका हुन् । समाजवादी पार्टीसँग एकीकरण गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकार छाड्ने सर्त राखेको थियो । सरकार नछाडेसम्म एकीकरणको प्रक्रिया अगाडि नबढ्ने राजपा नेपालका नेताहरु अडान थियो । यही कुरा उनीहरुले पटक–पटक दोहोर्याउँदै आएका थिए । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भन्ने गरेका थिए, ‘राजपा नेपाल एकताका लागी तयार छ तर समाजवादी पार्टीले सरकार नछाडेसम्म एकता प्रक्रिया अगाडि बढ्दैन ।’

उनी वार्ता समितिका संयोजक पनि हुन् । उनले उपेन्द्र यादवसँग एकताका लागि पटक–पटक वार्ता पनि गरेका थिए । राजपा नेपालभित्र एकता प्रक्रियाको विरोध भए पनि महतोले उपेन्द्र यादवसँग पटक–पटक वार्ता गरेर धेरै कुरामा सहमति पनि जुटाइसकेका थिए ।

सैद्धान्तिक र नेतृत्वका विषयमा केही कुरा टुङ्ग्याउन बाँकी थियो तर राजपा नेपालले भने अनुसार समाजवादी पार्टीले सरकार छाड्न मानिरहेको थिएन । अध्यक्ष उपेन्द्र यादवले एकीकरणसँग सरकारलाई नजोड्न आग्रह गर्दै आएका थिए । ‘एकीकरणको अगाडि सरकार गौण कुरा हो । पहिला एकीकरण गरौँ, त्यसपछि पार्टी सरकारमा बस्छ कि बस्दैन, एकीकृत पार्टीले निर्णय गर्छ । एकीकृत भएपछि राजपा नेपालका तर्फबाट आएका नेताहरुलाई सरकारमा पनि सहभागी गराउन सकिन्छ,’ भन्ने धारणा यादवले राख्दै आएका थिए ।

यही बीचमा गत कात्तिक २९ गतेदेखि बस्ने समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठकले सरकार छाड्ने निर्णय गर्ने आश्वासन महतोले पाएका थिए । त्यही आधारमा महतो विभिन्न ठाउँका कार्यक्रमहरुमा समाजवादी पार्टीले मङ्सिरको पहिलो साता सरकार छाड्दैछ, सरकार छोडेका भोलिपल्ट एकता घोषणा हुन्छ भन्दै हिँडेका थिए । तर, महतोको अपेक्षाविपरित समाजवादी पार्टीले सरकारको बारेमा केन्द्रीय समितिको एजेन्डा नै बनाएन ।


फलतः बैठकमा सरकारबाट बाहिरिने निर्णय हुन सकेन । समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय नगरेदेखि नै राजपा नेपालसँग दूरी बढ्दै गयो । महतोले जुन रूपमा उपेन्द्र यादवसँग वार्ता गरिरहेका थिए, त्यसको रफ्तारमा कमी ल्याए ।


सरकार छाड्ने कुरा बैठकको एजेन्डा नबने पनि बैठकमा आफूले सरकार छाडे राजपा नेपाल तुरुन्तै सरकारमा सहभागी हुने खतरा रहेको ब्रिफिङ समाजवादी पार्टीको बैठकमा भएको थियो । पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वयम्ले पनि आफूहरु सरकार छाडेपछि राजपा नेपाल सरकारमा सहभागी हुने तयारी भइरहेको बताउँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग छलफल पनि भइरहेको सूचना प्राप्त भएको बताएका थिए ।

फलतः बैठकमा सरकारबाट बाहिरिने निर्णय हुन सकेन । समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय नगरेदेखि नै राजपा नेपालसँग दूरी बढ्दै गयो । महतोले जुन रूपमा उपेन्द्र यादवसँग वार्ता गरिरहेका थिए, त्यसको रफ्तारमा कमी ल्याए ।

बरु समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले एकतामा विशेष जोड दिँदै वार्तालाई अगाडि बढाएका थिए । यही विषयलाई लिएर अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई राजेन्द्र महतोको घरसम्म पुगे तर राजपा नेपालका नेताहरुले वार्तालाई वस्ता गर्न छाडिदिए ।

बरु राजपाले नेकपासँग पुस २ गते दुई बुँदे सम्झौता गर्यो । नेकपा र राजपा नेपालबीच भएको दुई बुँदे सम्झौताले समाजवादी पार्टी नराम्ररी झस्कियो ।

किनभने नेकपाले राजपासँग सम्झौता गरिरहँदा सरकार र समाजवादी पार्टीको सम्बन्धमा चिसोपना सुरु भइसकेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नसोधी समाजवादी पार्टीको राज्यमन्त्री हटाउने तथा मन्त्रालय हेरफेर गर्ने काम गरेका थिए ।

यस कार्यप्रति समाजवादी पार्टी असन्तुष्ट थियो । त्यही बेला नेकपा र राजपा राष्ट्रियसभाका लागि गठबन्धन बनाएपछि संविधान संशोधनको निहुँ देखाएर समाजवादी पार्टी सरकारबाट बाहिरियो ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि भएको पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपाल सरकारमा नजाने ठोकुवा नै गरेका थिए । उनले भनेका थिए, ‘राजपा नेपाल आत्महत्या गर्न सरकारमा जाने छैन ।’ अब राजपा र समाजवादी पार्टीको एकता प्रक्रिया अगाडि बढ्ने उनको दाबी थियो ।

यादवले दाबी गरे झैँ राजपा नेपाल सरकारमा गएन तर समाजवादी पार्टीसँग यथास्थितिमा एकता नगर्ने राजपा नेपालका नेताहरुले घोषणा गरे ।

राजेन्द्र महतोले त्यतिबेला सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भनेका थिए, ‘हामीले जुनबेला सरकारबाट बाहिरिन भनेका थियौँ त्यो बेला पार्टी बाहिरिएन, अहिले किन र कुन हालतमा बाहिरिए त्यो कुरा सबैलाई थाह छ । त्यसैले तत्काल एकता हुँदैन । नयाँ ढङ्गबाट छलफल र वार्ता अगाडि बढ्छ अनि मात्र एकताको कुरा हुन्छ ।’

समाजवादी पार्टी सरकारबाट बाहिरिएको डेढ महिनाभन्दा बढी भयो तर न उपेन्द्र यादवले दाबी गरेजस्तो न एकीकरणका प्रक्रिया अगाडि बढ्न सक्यो न राजेन्द्र महतोले भनेको जस्तो नयाँ ढङ्गबाट वार्ता सुरु भयो ।

कतिसम्म भने अहिले दुई दलका नेता बीचमा बोलचाल समेत छैन । अर्कोतर्फ राजपा र नेकपाबीच भने दोस्ती बढ्दै गएको छ । सँगसँगै समाजवादी पार्टी र काँग्रेसबीचको दोस्ती बढ्दै छ भने राजपा र समाजवादी पार्टीबीच दूरी बढ्दै गएको छ ।

स्रोतका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले उपेन्द्र यादवसँग अन्तरिक रूपमा वार्ता भइरहेको दाबी गरे । तर, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालसँग एकताका लागि कुनै छलफल नभएको बताउँदै आएका छन् । यादवले पार्टी एकताका सबै कुरा टुङ्गो लागे पनि साना प्राविधिक कुरामा त्यतिबेला रोकिएको बताए । उनले भने ‘राजपाले त्यतिबेला सरकार त्याग्नुपर्ने मुख्य सर्त राखेको थियो, अहिले सरकार त्याग्यौँ तर अहिले ऊ भागिरहेको छ’ ।

अर्कोतर्फ राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले समाजवादी पार्टीसँग एकताका लागि वार्ता गर्ने जिम्मेवारी राजेन्द्र महतोलाई दिएको र उनले केके कुरा गरिरहेका छन् भन्ने बारेमा कुनै जानकारी आफूलाई नभएको बताए । उनले भने, ‘यो अवधिमा दुई पार्टीबीचमा कुनै संवाद भएजस्तो लाग्दैन । केही भएको छ भने राजेन्द्र महतोजीलाई नै थाह होला ।’

समाजवादी पार्टीका तर्फबाट गठित वार्ता समितिका सदस्य तथा पार्टीका महसचिव रामसहाय यादवले पहिला कुराकानी हुन्थ्यो तर अहिले केही दिनदेखि वार्ता ठप्प छ । तर अध्यक्षस्तरमा केही कुराकानी हुँदै होला, त्यो विषयमा आफूलाई केही जानकारी नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप