केन्द्रीय संस्करण
स्वास्थ्य

नेपालको गाँजा खुल्ला गर्नुभन्दा पनि गैर-अपराधीकरणतिर लग्नु उत्तम

गाँजा टक : गाँजाको वैधानिकताबारे क्यानडाको अनुभव

person explore access_timeमाघ २०, २०७६ chat_bubble_outline0

क्यानडामा खाद्य, हर्बल र हिलिङ फुड क्षेत्रको अनुसन्धानमा लागेको क्यानडाकै सबैभन्दा ठूलो फ्लेभर हाउसमा दशकौँदेखि वैज्ञानिक र प्रयोगात्मक अनुसन्धान वैज्ञानिक तथा प्राविधिक प्रमुखका रूपमा काम गर्यौँ ।

त्यहाँ गाँजाको डि–क्रिमिनलाइज गर्न लबिङ गर्दादेखि औषधि र खाने इडिबलमा हाली मनोरन्जन प्रदायक अम्मल र खाद्य तथा पेयमा हाली खाने नियम, विनियम बनाउने चरणसम्म हामी क्यानेडियन उद्यमीहरूले सरकारसँग निकै नजिकमा रहेर काम गरेका थियौँ ।

गाँजा संसारमै डर लाग्दो ड्रग भएको भनी प्रसारित बनेकाले घृणा गरिने तर यथार्थमा मानव स्वस्थका लागि वरदान नै रहेको वैज्ञानिक परीक्षणबाटै सावित बनिसकेको विषय हो । तर कसरी जनमानससँग पुर्याउने भन्ने मुद्दा निकै चुनौतीपूर्ण थियो । यसलाई वैध बनाउन सरोकारवालाहरूसँग परामर्श गरेर धेरै मुलुकका उस्तैउस्तै प्रकृतिका केसको अध्ययन गरी क्यानेडियन सरकारले आन्तरिक गृहकार्यका गरी तयारी सुरु गरेको थियो ।
यसको मुख्य उद्देश्य समाजमा पुर्याउन सक्ने सामाजिक विकृतिको नियन्त्रण गर्ने, यसका मानवीय फाइदाका गुणबाट क्यानेडियन समाज र विश्वलाई लाभ पुर्याउने भन्नेमा मात्र सीमित थियो ।

अहिले आएर नेपालमा यो अभियानमा लागेकाहरू गाँजालाई अमेरिका, क्यानडा, युरोप जस्ता मुलुकले कानुनी बनाए र पैसा कमाए । हामी पनि कानुनी बनाएर पैसा कमाउने अवसर नगुमाऊँ भन्ने पाराले प्रस्तुत भएको देखिन्छ । नेपाल गरिब भए पनि बहुसङ्ख्यक  नेपाली मानवता, दया, करुणा, उदारवादी आर्थिक सोच र उच्च नैतिकतामा स्वसन्तुष्टि लिने प्रकृतिका छन् । त्यसैले यसलाई कानुनीकरण गर्न खोज्दा झन् धेरै जटिलता आइलाग्ने देखिन्छ ।

क्यानेडिएन समाज पनि नेपाली समाज जस्तै भावना बोकेको र यहाँको राजनीति पार्टी  भ्रष्टाचारमा शून्य सहनशीलताको अवधारणा बोक्ने हुँदा आर्थिक लाभका कारण नभई अन्य सामाजिक संवेदनशीलता र उत्थानका जरुरतका गहन मुद्दाका कारण यहाँ गाँजाको डि–क्रिमिनलाइजेसन अभियान सफल भएको हो । गाँजा डि–क्रिमिनलाइजेसन अभियान सफल बन्नुको परिणाममा यो मुलुकमा गाँजा वैधानिक बनेको हो । गाँजाको खेती तथा प्रशोधन लगायतका गतिविधिका कारणबाट ठूलो धनराशि कमाउने समेत अवसर जुरेको हो ।  

गाँजाको औषधीय उपयोग देखाउने चक्र

क्यानडाले मुख्यतः दुई उद्देश्यले गाँजालाई वैध बनाउने निर्णय लिएको  हो । पहिलो, गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई कम गर्ने । दोस्रो, किशोर किशोरीमा यसको उपलब्धता वा पहुँच घटाएर शून्य प्रायः बनाउने । अर्थात औषधिको प्रयोजनबाहेक मनोरञ्जन वा नसाका रूपमा युवा अवस्थाका किशोर किशोरीहरूको उपलब्धता वा पहुँच पूर्ण नियन्त्रण गर्ने ।

डि–क्रिमिनलाइजेसन र वैधानिकता 
सामाजिक परम्परा वा कानुनद्वारा अस्वीकृत कुनै वस्तु तथा सेवा लिने कार्यलाई अपराधीकरण भन्ने बुझिन्छ, यस्ता कार्य गर्नेलाई नियन्त्रण गरी कारबाही हुन्छ  । उक्त कुरा वास्तवमा सही छैन भने समाजमा जनचेतना जगाएर परम्परागत सामाजिक विश्वासको क्रमभङ्ग गर्नु पर्छ । कानुनमै उक्त कुरा आपराधिक हो भनी उल्लेख गरिएको छ भने त्यसलाई राजनीतिक मुद्दा बनाएर समाजबाट अनुमोदन गरी जनप्रतिनिधिमार्फत संसद्बाट कानुन परिवर्तन गरी लागू गरिनुपर्छ । यसैलाई गैरअपराधीकरण वा डि–क्रिमिनलाइजेसन गरौँ भनिएको हो ।

वैधानिक बनाउने भनेको कुनै कुरालाई कानुनको दायरामा ल्याउनु भनेको हो । जस्तै महिलाबाट पुरुष बलात्कृत भएको घटना अदालतमा दर्ता भएको कुनै घटना नै छैन र सोबारे कानुन नै बनेको छैन तर महिलाले पुरुषको मनोवैज्ञानिक वा शारीरिक शोषण वा बलात्कार गरेको घटना देखियो र पीडितहरूलाई न्यायको जरुरत पर्यो भने त्यसलाई कानुनको दायरामा ल्याउनु पर्यो । त्यसपछि अपराधी कानुनको घेरामा आउँछ । तर छुवाछूत जस्ता कुरीति हटाउन भने छुवाछूत र विभेद निषेध गर्ने कानुन बनाउने र सामाजिक मान्यता र विश्वास दिलाउने दुवै पक्षमा एकैसाथ सुरु गर्नुपर्ने हुन्छ । सबै मानिस बिनाभेदभाव मन्दिरमा जान, पूजा गर्न र मनलाई शान्त पार्न पाउने कानुन बन्नु र व्यवहारमै लागू हुनु गैरअपराधीकरण हो ।      

क्यानडामा हाल नेपालमा हुनेजस्तै शिवरात्रि जस्ता चाडबाड र घरेलु रूपमा गाँजा सेवन सामान्य नै थियो तर कानुनबाट भने वर्जित । तपाईं गाँजा खाएको भेटिनु भयो भने तपाईंको क्रिमिनल रेकर्ड रहने गथ्र्यो । तपाईं समाजमा कामकाजी बन्नका लागि जरुरी हुने कारोबार गर्न, राम्रो तहको जागिरमा रहन, बैङ्कको कर्जा पाउन सबैमा अवरोध आउने हुँदा भविष्य नै अन्धकार बन्ने अवस्था थियो ।

क्यानडाका हालका प्रधानमन्त्री जस्टिन ट्रुडो यहाँका पहिलेका निकै प्रख्यात  प्रधानमन्त्री पियरे ट्रुडोका छोरा हुन् । जस्टिनले बताए अनुसार उनका भाइ माइकल ट्रुडो लुकीछिपी गाँजा खान्थे । एक पटक उनी गाँजासहित पक्डिएकाले उनको पुलिस रिपोर्ट बिग्रन नदिन उनका पिताले आफ्नो सम्पर्क र पहिचानको उपयोग गरी उनका भाइको पुलिस रिपोर्टमा अपराधीको रूपमा नाम उल्लेख गर्नबाट बचाएका थिए । १९९८ को नोभेम्बरमा उनी स्की खेल्न जाँदा त्यतै हराए । स्की खेल्दै गर्दा कतै बाटो बिराएर हिउँ कुवा वा एभेलेंचमा कहिल्यै नभेटिने हराए । उनको स्वर्गारोहण भएको अनुमान गरिन्छ । 

जस्टिन ट्रुडोे आफू प्रधानमन्त्री हुने दौडमा होमिँदै गर्दा उनले आफू क्यानडामा गाँजाको गैरअपराधीकरण गरिनुपर्ने पक्षमा रहेको घोषणा गरे । चुनाव जितेपछि उनी प्रधान मन्त्री बने । गाँजाको गैरअपराधीकरण किन जरी छ भन्ने सन्दर्भमा उनले आफ्नो भाइको कथा सार्वजनिक गर्दै भने, ‘परम्परागत रूपमा क्यानडामा सर्वत्र पाइने र सेवन गरिने गाँजा सेवन गरेको मात्र आधारमा क्यानडाका धेरै युवाहरू पुलिस रेकर्डमा अपराधी करार गरिएकाले आफ्नो सुन्दर भविष्य निर्माण गर्नबाट वञ्चित हुनुपरेको छ । उनीहरूसँग मेरो भइसँग भएको जस्तो पहुँच र सम्पर्कवाला पिताजी थिएनन् ।

सामाजिक कार्यमा मात्र एक दुई चिलिम गाँजा, त्यो पनि कतिपयले त औषधिका रूपमा खानुपर्ने भएर खाएको आधारमा, उक्त समयमा पुलिसले भेटेकाले उनीहरू अपराधी करार हुनु सामाजिक न्यायको विरुद्ध छ । उनको यो कथाले धेरै क्यानेडियनमा सामाजिक मान्यता परिवर्तन गराउन प्रेरित गर्यो ।

अर्कोतर्फ वैज्ञानिक परीक्षणबाट रक्सी र सुर्ती सेवनभन्दा गाँजा सेवन धेरै सुरक्षित रहेको प्रमाणित भइरहेको थियो । इजरायल, होलेन्ड, अमेरिका लगायत धेरै मुलुकले औषधिजन्य र मनोरन्जनका लागि गाँजाको नियन्त्रित बिक्री वितरण गर्न पाइने कानुन बनाएर कारोबार सञ्चालन गरिसकेका थिए । गाँजा कम्तीमा चालीस रोग समूहभित्र पर्ने सात सय हाराहारीको रोगको प्रत्यक्ष निदानमा सहयोगी हुन्छ । गाँजा हाली संसारभर हजारौँ हजार ड्रग वा औषधि बनिसकेको, मनोरन्जनका हिसाबमा खाना, पेय, धूमपान, मद्यपान, इभेपका रूपमा समेत विकास भइसकेको अवस्था थियो । नयाँ नयाँ उपलब्धिमूलक औषधि र निको पार्ने खानाहरू बन्दै थिए । यी सबै कारणबाट यहाँ गाँजाको गैरअपराध करण हुने माहौल बनेको हो । 

जब गाँजाको गैरअपराधीकरण गर्ने सरकारी योजना सफल बन्यो । कानुनबाट नै संरक्षण प्राप्त हुने गरी नियन्त्रित रूपमा खाजा खेती सुरु गरियो । नयाँ प्रविधि र सीप हस्तान्तरण गरिए । यसका प्रशोधन, गाँजायुक्त औषधि, गाँजाजन्य खाद्य तथा पेय र धूमपान, इभेप जस्ता उत्पादन सम्भव बने । काम गर्दै जाँदा क्यानडाभित्र कम्पनीहरू आफैले धेरै इनोभेटिब प्रविधि र फर्मुलेसनहरू विकास गर्न सफल भए । मात्र ५ वर्षभित्र आज क्यानडा यो क्षेत्रमा विश्वमै आफूलाई अग्रणी भूमिकामा राख्न सफल बनेको छ । क्यानडाको इकोनोमीलाई समेत यसले राम्रो टेवा दिएको छ ।

मेडिकल र गैरमेडिकल दुवै उद्देश्यमा गाँजालाई  गैरअपराधीकरण गर्न क्यानडालाई किननार्कोटिक्स महासन्धिमा गरेको उसको हस्ताक्षरले किन रोक्न सकेन ?
नार्कोटिक्स महासन्धिमा क्यानडा लगायतका धेरै मुलुकले गाँजाजन्य औषधि बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको थिए । नेपालले औषधि बनाउने प्रयोजनमा गाँजाजन्य पदार्थको उपयोगको महत्त्वसमेत वास्ता नगरी  हस्ताक्षर गरेको देखिन्छ । जब क्यानडाले गाँजालाई मनोरन्जनात्मक उपयोगका लागि समेत गैरअपराधीकरण गर्ने कानुन बनायो संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय लागू पदार्थ नियन्त्रण बोर्डको विज्ञप्ति आएको थियो ।

लागू पदार्थ नियन्त्रण बोर्डको विज्ञप्तिमा कानुनी दायित्व र कूटनीतिक प्रतिबद्धताको बेवास्ता गर्दै गैरमेडिकल उद्देश्यका लागि समेत गाँजालाई वैधानिकता दिने क्यानडाको निर्णयले अन्तर्राष्ट्रिय लागू पदार्थ नियन्त्रण बोर्डको कानुनको उलङ्घन गर्न र नियन्त्रण फ्रेमवर्कलाई समेत कमजोर पार्न योगदान पुर्याएको भनिएको थियो । ग्लोबल अफेयर्स क्यानडाले उक्त निर्णय क्यानाडावासीहरूको स्वास्थ्य रक्षा र कल्याणका लागि अन्तर्राष्ट्रिय लागू पदार्थ नियन्त्रणको फ्रेम वर्कको दृष्टिकोणको लक्ष्य अनुरूप नै रहेको जवाफ फर्कायो ।

यसरी क्यानडाको नार्काेटिक्स महासन्धिमा भएको हस्ताक्षरको मान्यता मेडिकल र गैरमेडिकल दुवै उद्देश्यमा गाँजाजन्य पदार्थको प्रयोगमा छुटको सर्तमा मात्र मान्य हुने क्यानडाको औपचारिक जानाकारी दर्ज भयो । हाल क्यानडामा मेडिकल प्रयोजन र गैरमेडिकल अथवा मनोरञ्जनात्मक उपयोगको लागि समेत गाँजाको उपभोग गर्नु वैधानिक भइसकेको छ ।
 
गाँजाको औषधीय उपयोग देखाउने चक्र

नेपालमा मेडिकल र गैरमेडिकल दुवै उद्देश्यमा कसरी खुला गर्न सकिन्छ ?
नेपालको गाँजाको खुल्ला भन्दा पनि गैरअपराधीकरणतिर लग्नु उत्तम होला । गैरअपराधीकरण भन्नुको मतलब नेपालमा कसैले नियमविपरीत गाँजा सेवन गरेको वा कारोबारमा संलग्न भएको भेटिएमा जघन्य अपराधीका रूपमा जेल हाल्ने नियम परिवर्तन गरी कसुर अनुसार जरिवाना र कानुनी कारबाही हुने गरी कानुन परिवर्तन गर्ने भनेको हो । 

विगतमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपालले संयुक्त राष्ट्रसङ्घको ‘सिङ्गल कन्भेन्सन अन नार्काेटिक ड्रग, १९६१’ मा हस्ताक्षर गरेको थियो । राष्ट्रसङ्घको ‘नार्काेटिक्स कन्ट्रोल बोर्डले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागू औषधको दर्जामा राखेका कारण नेपालले पनि सोही मान्यतालाई मान्दै ‘लागू औषध नियन्त्रण ऐन, २०३३’ जारी गरी मुलुकभरि प्रतिबन्ध लगायो । उक्त प्रतिबन्धका कारण नेपालमा आजसम्म पनि गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ गैरकानुनी छन् ।

नार्काेटिक्स कन्ट्रोल बोर्डको जोखिमपूर्ण लागू औषधको दर्जामा रहेका उच्च जोखिमपूर्ण लागू औषध प्रतिबन्ध गर्न नार्काेटिक्स महासन्धिमा नेपालले गरेको हस्ताक्षर भनेको कानुन हैन मात्र प्रतिबद्धता हो । उक्त प्रतिबद्धता लागू गर्न ‘लागू औषध नियन्त्रण ऐन, २०३३ जारी भएपछि मात्र नेपालभर गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ पूर्ण गैर कानुनी बनाइएका हुन् ।

नार्काेटिक्स महासन्धि अनुसार नेपालले औषधिको प्रयोजनका लागि लागू औषधलाई सरकारले तोकेको मापदण्ड अनुरूप नियन्त्रित तरिकाले खेती र प्रशोधन गरी औषधि बनाउन पाइने, अनुसन्धान गर्न पाइने र अयुर्वेधिक औषधिमा प्रयोग गरी डाक्टरको सिफारिसमा बिरामीले खान पाउने गरी अन्य देशले जस्तै लागू औषध नियन्त्रण ऐन, २०३३ जारी गरेको भए हुन्थ्यो । तर त्यति बेला राज्य कठोर हुँदै चाहिने भन्दा कठोर नियम लादेकाले हालको अवस्था आएको हो । अब त्यसलाई नेपालको सांसदले सच्याउनु पर्ने भएको हो ।  

तपाईलाई थाहै होला कतिपय मुलकमा ड्रगको कारोबारीलाई फाँसी दिइन्छ । नेपालमा  फाँसी त दिइँदैन नि । किनकि लागू औषध नियन्त्रण ऐन, २०३३ मा गाँजा र गाँजाजन्य पदार्थको कसुरमा अन्यत्र जस्तो फाँसी नभएर कैद र जरिवाना भएकाले कैद र जरिवाना हुने गरेको हो । नार्काेटिक्स महासन्धिले कुन कुन कामलाई प्रतिबन्ध गर्ने वा अपराधीकरण मान्ने भन्ने कुनै मापदण्ड दिने हो । उक्त कुरालाई आफ्नो सन्दर्भमा कसरी व्याख्या गर्ने र उलङ्घनको अवस्थामा कस्तो सजायको निर्धारण गर्ने भन्ने राज्यको आफ्नै अधिकार र दयित्वको कुरा हो । त्यसैले राज्यले आफ्नो जस्तो नियम बनायो त्यही लागू हुने हो । हाल राज्यले नार्काेटिक्स महासन्धि अन्तर्गतको नार्काेटिक्स कन्ट्रोल बोर्डले सूचीबद्ध गरेको गाँजालाई आफ्नो सूचीबाट हटाउने र  गाँजा तथा  गाँजाजन्य पदार्थ सम्बन्धको कसुरलाई जघन्य अपराध रूपमा व्यवहार गरिने नियमलाई हटाएर गैरअपराधीकरण गरे पुग्छ ।

नेपालले यदि आफू क्यानडा जस्तै मेडिकल र गैरमेडिकल दुवै उद्देश्यमा गाँजाजन्य पदार्थको मुलुकभित्र प्रयोगमा नियन्त्रित छुट गर्न चाहने हो भने मुलुकको मुलुकभित्र गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई कम गर्ने, युवा अवस्थाका किशोर किशोरीहरूमा मेडिकलबाहेक अन्य प्रयोजनमा उपलब्धता वा पहुँच घटाएर शून्य प्रायः बनाउने र मुलुकभित्र रहेको मेडिकल र गैरमेडिकल गाँजाजन्य पदार्थको नियन्त्रण प्रभावकारिताको मूल्याङ्कन र नेपाल सरकारलाई सल्लाह दिने गरी समय समयमा नेपाल भ्रमण गर्न अन्तर्राष्ट्रिय निकायहरूलाई पर्यवेक्षकका रूपमा नेपाल भ्रमण गराउने आफ्नो नियत रहेको स्पष्ट धारणा सार्वजनिक गर्नु उपयुक्त हुन्छ । जसअनुसार मेडिकल र गैरमेडिकल उद्देश्यमा गाँजा व्यावसाय गर्न चाहनेलाई नियम बनाएर नियम अनुसार नियन्त्रित मानव कल्याण र कारोबारमा जाने बाटो खोल्नु उपयुक्त होला ।

गत साल मात्र छिमेकी भारतको अरुणाचल प्रदेश, उत्तर प्रदेश र उत्तराखण्ड राज्यहरूमा गाँजाको औषधि र औद्योगिक प्रयोगलाई वैधानिक बनाइएको छ । भारतको उत्तर–पूर्वमा रहेको मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले चाँडै नै गाँजाको औषधि र औद्योगिक प्रयोगलाई मणिपुर राज्यमा समेत कानुनी मान्यता दिने घोषणा गरेका छन् ।

गाँजालाई गैरअपराधीकरण गरिसके पछि नेपालले वैधानिक रूपमा आफ्नो कानुन संशोधन गरी अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट गाँजाजन्य कारोबारका लागि छुटकारा लिने निर्णयमा पुगेको जानकारी राष्ट्रसङ्घीय नार्काेटिक्स बोर्डमा दिनुपर्नेछ ।

नार्काेटिक्स सन्धिमा हस्ताक्षर गरेका तर हाल गाँजाको वैधानिक उत्पादन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो पछ्याउँदै नेपालले पनि गाँजा खेती र बिक्री वितरणलाई अपराधीकरण गरिने कानुन सच्याउन र नियन्त्रित बिक्री वितरण तत्काल खुला गर्नेतर्फ कदम चाल्नु जरुरी छ । हुन त हाल अन्तर्राष्ट्रिय रूपमै नार्काेटिक ड्रग्सको सूचीबाट गाँजालाई हटाउन बहस पनि सुरु भइसकेको छ । सूचीबाट हट्नासाथ नेपाललाई आफ्नो आन्तरिक कानुन संशोधन गरी गाँजा खुल्ला गरी कारोबार थाल्ने बाटो स्वतः खुल्छ ।

गाँजाको हालसम्म पहिचान भएका फाइदाहरू
प्रयोगशालामा भएको अनुसन्धानले गाँजा ४८० भन्दा धेरै केमिकल पदार्थबाट बनेको जसमा १०० भन्दा बढी त औषधीय क्यानाबिनोइडहरू रहने प्रमाणित भएको छ । गाँजामा भेटिएका त्यस्ता ४८० केमिकलहरूमध्ये मात्र छवटा उल्लेखनीय केमिकलको औषधीय गुणबारे आज संसारभर गरिएका दस हजारभन्दा धेरै अनुसन्धानबाट गाँजाबाट मानिसमा दर्द कम गर्ने र अनिन्द्रा जस्ता समस्या दिने दस समूहका रोगहरू, पाचन प्रणालीमा हुने अनियमितताले जन्माउने सात समूहका रोगहरू, मानिसको मुड र बानी बेहोरामा जन्मेको विकृत रोक्ने सात समूहका रोगहरू, स्नायु समस्या सम्बन्धका नौ समूहका रोगहरू  र अन्य समूहअन्तर्गत राखिएका जस्तै दम, क्यान्सर, एड्स जस्ता सात समूहका रोगहरू गरी कम्तीमा चालीस रोग समूहको प्रत्यक्ष निदान हुने यकिन गरिदिएको छ ।

प्रत्येक रोग समूहमा आफ्नै अन्य उपसमूह पनि हुने हुँदा आज मानिसमा हुने अन्दाजी सात सयभन्दा धेरै स्वस्थ सम्बन्धको विकृतिमा गाँजा उपयोगी हुने देखिन्छ । यसरी हेर्दा आज संसारमा बन्ने हजारौँ हजार औषधिमा गाँजाको उपयोग हुने अवस्था आएको छ । क्यानडा जस्ता मुलुकमा औषधिबाहेक ट्रपिकल जस्तै मालिस गर्ने क्रिम, तेलहरू, कस्मेटिकलगायत मनोरन्जनात्मक गैरऔषधीय पदार्थ धूमपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पको रूपमा समेत उपयोगमा आउन थालेको छ ।

२०१४ मा उरुग्वेका राष्ट्रपति जोस मुजाकालाई उरुग्वेलाई संसारकै पहिलो गाँजाको उत्पादन र बिक्रीलाई वैध बनाउने देश बनाउन सफल बनेकोमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको थियो । महिनावारी हुँदाको पीडा निकै धेरै हुन थालेपछि सन् १८०० महारानी भिक्टोरियालाई गाँजाको औषधि दिइएको थियो । संसारमा सबैभन्दा पहिले मेडिकल एनेस्थेसियाको रूपमा चाइनिज सर्जनले गाँजाको प्रयोग गरेका थिए ।

इन्टरनेटमा सबैभन्दा पहिले अनलाइन बेचिएको चिज पनि गाँजा नै थियो । तपाईंले आज बजारमा बिक्रीमा रहेका बियर तितो–टर्राे हुनुको कारण त्यसमा हालिएको होप हो । जुन गाँजा प्रजातिकै बिरुवाबाट बन्ने गर्छ । अमेरिकाका जर्ज वासिङ्टन आफैले माउन्ट भेरोनमा गाँजा लगाएका थिए, जसलाई उनले पछि गाँजाको प्रजाति हेम्प भएको बताएको थिए । अमेरिकाको अलस्कामा १९७५ देखि नै घरेलु प्रयोजनमा गाँजा खानु कानुनी रूपमै स्वीकृति थियो । गाँजालाई संसारमै सबैभन्दा पहिले २०१३ मा उरुग्वेले मुलुकभर कानुनी मान्यता दिएको थियो ।

क्यानडाले २००१ देखि मेडिकल उद्देश्यका लागि गाँजा वैधानिक बनाएको थियो । मनोरन्जन प्रयोजनमा गाँजाको प्रयोग मुलुकभर कानुनी बनाउन क्यानडालाई १७ वर्ष लाग्यो । कानुन बनेपछि पनि व्यावहारिक रूपमा मनोरञ्जन प्रयोजनका लागि गाँजाको बजारमा उपलब्ध गराउन १ वर्ष र खानेकुरामा हाली इडिबलका रूपमा गाँजा मिश्रित खाद्य ताता पेय बजारमा ल्याउन क्यानडालाई २ वर्ष लाग्यो ।

आयुर्वेदका अनुसार गाँजा शरीरको दर्द नाशक अचुक उपाय हो । मानिसमा पाचन गडबडी र झाडापखाला ठीक पार्ने, डिप्रेसन, छारे रोग लगायत धेरै मनोवैज्ञानिक रोगको निदानमा यसले ओखतीको काम गर्छ । गाँजा सेवनले पुरुषमा शुक्रकीट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवासको क्षमता वृद्धि गर्ने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने आदि अब्बल गुणका कारण कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधिको सूत्रमा र ८ वटा युनानी फर्मुलामा गाँजा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधि बनाउने गरेको तथ्यसमेत भेटिएको छ ।

यतिखेर मुलुकमा गाँजालाई वैधानिक बनाउनुपर्ने चर्चा चलेको छ र सदनमा समेत कतिपय सांसदहरूले यसबारेमा माग उठाइसकेका छन् । यसैसन्दर्भमा लेखक घिमिरे जडीबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धान र उद्यमशीलताको विकासका लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरणका क्षेत्रमा काम गर्ने खाद्य वैज्ञानिक नारायण घिमिरेले प्रश्नोत्तर शैलीमा तयार गरी पठाउनुभएको यो सामग्री हाम्रा पाठकहरूका लागि उपयोगी हुने ठानी प्रकाशित गरिएको छ । –रातोपाटी

Title Photo credit:https://cdn.vox-cdn.com

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...