बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ हुँदै

आइतबार, १९ माघ २०७६, १३ : ३६
आइतबार, १९ माघ २०७६

काठमाडौं । विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । 

काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ । 

कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा बुद्धको आदर्शलाई अनुसरण गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिए । विश्वकल्याणका लागि बुद्धले सिकाएको अहिंसा, मैत्री र करुणाको आदर्श फैलाउन दुःखकष्ट गरेर भए पनि पैदल यात्रा गर्न लागिएको उनले बताए ।

काठमाडौँको पश्चिममा रहेको चन्द्रगिरि डाँडा, मकवानपुरको चित्लाङ, हेटौंडा, नारायणघाट, भूमही, रामग्राम, लुम्बिनी, निग्रोधाराम हुँदै टोली निग्लिहवा पुग्नेछ । यात्राका क्रममा ठाउँठाउँमा भिक्षा मागेर भोजनको व्यवस्था गराइनेछ जुन बौद्ध भिक्षु व्यवस्थापनको अभिन्न पक्ष हो ।

यात्रामा थाइल्याण्डका भिक्षु सोमछाई महास्थवीरको नेतृत्वमा २० भिक्षु सहभागी हुने कार्यक्रम छ । यात्रा अवधिमा स्थानीयवासीलाई बुद्ध शिक्षा र शान्तिका बारे, ज्ञान, ध्यान, दर्शनका बारे जानकारी गराइनेछ । शान्ति यात्रा करिब ४०० किलोमिटर हुनेहुँदा यसक्रममा सिमेन्टका बुद्ध मूर्ति निर्माण गरेर केही स्कूल, हस्पिटल र विहार (गुम्बा) लाई निःशुल्क वितरण गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप