बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्य : कोरियामा कोसी किनारका लोक सुसेलीहरू

आइतबार, १९ माघ २०७६, १३ : ११
आइतबार, १९ माघ २०७६

–मिलनकान्छा किराँती

सलनाल (नयाँ वर्ष) चाड कोरियनको, रौनक र व्यस्तता–नेपालीको । चाडबाड भनेपछि जसको होस् ! जस्तो होस् ! नेपालीलाई अलिक विशेष लाग्ने गर्छ । सलनाल बिदा मनाउन दुईतिहाइ मानिसहरू काम छाडेर कम्पनीबाहिर निस्कँदै थिए । म पनि चार दिनको बिदा सम्मुख थिएँ । यो चार दिन कोरियाको राजधानी सौलभरि नेपालीले अनेक कार्यक्रम गर्छन् । ती कार्यक्रमसँग उनीहरू आफ्नो प्रतिष्ठा जोडेर हेर्छन् । मानौँ, यस्तोबेला केही नगर्नु आफू केही नहुनु हो । विशेषतः थुप्रै केही नहुनुमध्ये समाजसेवी नहुनु पनि हो । यसपल्ट पनि विगतझैँ थुप्रै कार्यक्रम हुँदैथिए । त्यसमध्ये एक संस्थाले साङ्गीतिक कार्यक्रमसँगै राष्ट्रगानका सर्जक व्याकुल माइलालाई अभिनन्दन पनि गर्दैथियो ।

व्याकुल माइला दाजु कोरिया आउनुहुने पक्का भएपछि हामी निरन्तर सम्पर्कमा रह्यौँ । बिहानै आइफोन एरोप्लेन मोडअफ गर्ने बित्तिकै मेसेन्जरमा घण्टी बज्यो । हेरेँ । एयरपोर्टमा बोर्डिङ भएर हङ्कङ हुँदै कोरिया आउँदै गर्नुभएको जनाउ रहेछ । म हरेक रात सुत्नुअघि मोबाइल एरोप्लेन मोडमा राख्छु, ता कि राति मोबाइलले कनेक्ट गर्ने हाई रेडिएसनको इफेक्टले स्वस्थ्य नबिग्रियोस् ।  अँ ! म भन्दैथिएँ, उहाँले हिजो बेलुका नै पठाउनु भएको म्यासेज बिहान मोबाइल खोलेर हेर्दैथिएँ । सायद, उहाँ बिहान भएकाले इन्छन् झर्दै हुनुहुन्थ्यो ! 

भोलिपल्ट बिहान लगभग आठ बजेतिर दाजुभाइ भेट भयौँ– आक एसिया होटल सौलमा । वार्तालापको सुरुवातमै सोधेँ, दाजु चिसो कत्तिको छ ? मुस्कुराउँदै भन्नुभयो, गफ दिन नजान्ने मान्छे, अब हेर्नू है ! कहिलेदेखि त्यो अरबमा पानी नपरेको रे, माइला गयो ! पानी पर्‍यो । कोरिया त हिउँले ढाकेको छ, चार फिट हिउँ छ सौलमा– भन्थे । माइला आयो ! जाडो गयो । अलिक बाक्लो लुगा बोक्ने सल्लाह पाएर बोकेको, काम नलाग्लाजस्तो छ । हामी एकछिन हेराहेर गरेर हाँस्यौँ । केही दिनदेखि हुन पनि सौल वरिपरि माइनस नौ–दसको तापक्रम अनौठो गरी घटेर जिरो एक–दुई डिग्री सेल्सियसमा आएको थियो । हिउँ त यसपल्ट खासै गतिलो पर्न सकेन । राम्रै भयो । 

मौसम हल्का चिसो र घमाइलो थियो । असाध्यै रमाइलो पनि । दिनभरि कोरियाको सामगाक्षीमा रहेको युद्ध सङ्ग्रहालय भ्रमण गर्‍यौँ । साथमा हिलेपानीका नातागोता र साथीहरू जोडिनु भएको थियो । विशेषगरी ओखलढुङ्गा समाजका सक्रिया साथीहरू जो हाम्रो सम्बन्ध मातृभाषा साहित्य, संस्कृति र साहित्यको लेखनले वर्षौंअघिदेखि जोडेको थियो । आजसम्म अटुट जोडिरहेको छ । हामीसँग जोडिएकी थिइन्, एकजना बहिनी । नेपालबाट कार्यक्रमका लागि आएकी रे ! नाम –अञ्जु राना । अत्यान्त शालीन, सुशील ! हाम्रै साथीभाइ आयोजक भएकाले उहाँहरूसँगै भ्रमणमा निस्किएकी रहेछन । दिनभर सँगसँगै घुम्यौँ । सामूहिक रूपमा एतिहासिक महत्त्वका पुरातात्विक स्थलहरूमा तस्बिरहरू खिच्यौँ । सङ्ग्रहालयभित्र तीन वर्ष एक महिना स्वतन्त्रताको लागि कोरियाले जापानविरुद्ध लडेको युद्धको डोबहरू आलो देखिन्थे । त्यतिखेर अमेरिकाले कोरियालाई सहयोग गरेका अत्याधुनिक हतियार, जहाज र अनेक इक्युपमेन्टहरू भवनका सबैभन्दा तल्लो तला र बाहिर देब्रेपट्टिको प्राङ्गणमा झकिझकाउ सजाएर राखिएका छन् । दोस्रो तलाको दक्षिण लबीमा आफ्ना आफन्त जो आफूसँग अहिले हुनुहुन्न । उहाँहरूलाई केही भन्न नपाई छुट्नु पर्‍यो, उहाँहरूको नाम लेख्ने ठाउँ राखिएको छ । 

यो देख्ने बित्तिकै व्याकुल माइला दाजुले उहाँको बुबाको नाम लेख्न पेन खोज्न थाल्नुभयो । सम्झनामा भित्ताको एकछेउ बुबाको नाम लेखेर छोड्नुभयो । माइला दाजुले बुबाको खातिर सम्झनामा ठूले मास्टर शोक पुस्तिका प्रकाशन गर्दै हुनुहुन्छ । अञ्जु बहिनीलाई मनको आयतन नाप्न सोधेँ, तपाईंलाई बोर भयो होला है ! यो अलिक शैक्षिक भ्रमण टाइपको पर्‍यो । बहिनीले मुस्कुराउँदै भनिन्, होइन दाइ ! खुब रमाइलो भइर’छ । मलाई यस्तै भ्रमण राम्रो लाग्छ । बहिनीको उत्तरमा बौद्धिकता मिसिएको थियो । सोध्ने मेलो पाएँ, कतिमा पढ्दै ? हल्का लजाउँदै भनिन्, प्लस टु सकेँ । अब, ब्याचलर ज्वाइन गर्नेछु । बहिनीमा बौद्धिक गहनता भेटियो । नत्र नाच, गान गर्ने टिनएजरहरूलाई अलिक हल्का नै हेरिन्छ । घाम हाननदी टेक्दै बादल बोकेर पहाड छिचोल्न खोजिरहेथ्यो । हामी नामसान सौल टावर उक्लियौँ । पहाड चढेपछि मलाई निष्ठुरी नभन्नू है व्याकुल माइलाको कविताले नामसान टावर काव्य आलय बनायौँ, बन्यो । मैले पनि जूनको कथा शीर्षकको कविता राष्ट्रगान सर्जकको समीपमा उभिएर सुनाएँ । बेलुकी अबेरसम्म घुम्यौँ । पहाडको जानमिल्ने ठाउँसम्म गयौँ । टावरको चढ्न मिल्ने टुप्पोसम्म चढ्यौँ । खुब रमाइलो गर्‍यौँ । असीम आनन्द लियौँ । साँझ निकै अबेर बासस्थान तल सहरतिर ओरालो झर्‍यौँ ।

बेलुका रुममा आइसकेपछि दाजुले उहाँको कोसी किनारका लोक सुसेलीहरू गीति सङ्ग्रहका लोक भाकाहरू सुनाउनुभयो । लोक भाकाहरू हम्रा चिनारीहरू हुन् । पहिचान हुन् । पुर्खाले छोडिगएका नासो हुन् । कोसी किनारका लोक सुसेलीहरू दूधकोसी किनार सुनकोसी किनार विशेष गरेर व्याकुल माइलाको गाउँ, समाज अर्थात वाम्बुले राई समुदायको चाडपर्व र सांस्कृतिक अवसरहरूमा विगत तीन चार पुस्ता अगाडिसम्म गाइने नाचिने लोक सांस्कृतिक भाकाहरू हुन् । 

जो अहिलेको नयाँ पुस्ताले गाउन जान्दैनन् भन्ने मात्र होइन, सुन्ने मौकासमेत पाएका छैनन् । पाइएको छैन । अर्थात यी भाकाहरू लोप भइसकेका छन् । 

राष्ट्रिय लोकभाका सोरठीअन्तर्गत पूर्वेली लोकभाका मारुनीभित्रका अदिया, सरूमा, ख्याली र सरादलगायतका मौलिक लोकसांस्कृतिक भाकाहरू रहेका छन् । जसले त्यहाँको भूगोलको परिचय दिन्छ ।  जनजीवनको परिचय दिन्छ । जनभावनाको अभिव्यक्ति दिन्छ । यसलाई विशेष तिथि÷मिति विधिसमेत पुर्‍याएर नाच्ने, गाउने गरिन्थ्यो । बेलुकी आवास फर्किएपछिको समय आफ्नै बलबुँतामा उहाँले खोज, सङ्कलन गर्नुभएको अदिया र सरुमा लोकभाकाको फरक रसस्वादन गर्ने मौका पाएकाले अहिलेसम्म मन प्रफुल्लित भइरहेछ । यो सुनौलो अवसर दिनुभयो । माइला दाजुलाई धन्य छ । यी लोकभाकाहरू कोसी किनारका लोक सुसेलीहरूमा सङ्ग्रहित छन् ।

यस सङ्ग्रहबारे भोलिपल्ट केही बोल्नुपर्ने भएकाले साहित्य मेलामा प्रमुखवाचक हुँदाहुँदै समय छोट्याए अनेसासको कार्यक्रमबाट खोङ्नारु लाइभहल व्याकुल माइला दाजु साथै पुग्यौँ । तर त्यहाँ कार्यक्रम सञ्चालिकाले एमसी अनुभव अभावका कारण मास नियन्त्रण गर्न सकिनन् । अनियन्त्रित हलमा त्यस्तो प्राज्ञिक विषयमा बोल्न उचित हुँदैहुँदैनथ्यो । मैले मेरो रोल काट्न अनुरोध गरेँ । आतङ्कित मुद्रामा काटिएको जनाउ दिए । बोल्नकै लागि बोल्न नपरोस् । जानकै लागि फगत कहीँ जान नपरोस् । कहिलेकाहीँ परिस्थति त्यस्तै बनेर आइदिन्छ ।

कोरियामा हामी दुईखाले लेखक छौँ । एकखाले आवरणमा देखिन चाहने र अर्कोखाले भित्रैदेखि हुन चाहने छौँ । एकखाले नेपालबाटै लेख्दै आएका र अर्कोखाले कोरिया आएर बल्ल लेख्न थालेका छौँ । नयाँ पुरानो जेजो जस्तो भए पनि जोजो कवि हृदय बोक्ने सर्जक थियौँ । राष्ट्रगानका सर्जकको कोरिया आगमन स्रष्टा भेटघाटको अवसर थियो । त्यो चाँजो मिलाउने जिम्मा मैले पाएको थिएँ । जो नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष प्रियभाइ मुक्तककार रामचन्द्र शर्मासँग धेरैपटक कुरा भएको थियो । त्यस कुरामा इतर समाजका प्रियकवि पराजित पोमु र अनेसासका महासचिव प्रियभाइ छन्दकवि सरोज सर्वहारा मनग्यै चासोका साथ अपेक्षित देखिन्थे । राष्ट्रगानका सर्जक व्याकुल माइला कोरियामा रहेका नागरिकबाट भव्य अभिनन्दित भइसकेपछि हामी सरासर स्रष्टा भेटघाट कार्यक्रम दोङ्देमुन शुभेक्षा हल पुग्यौँ । विशेष कारणवश थुप्रै स्रष्टा अनुपस्थित रहे पनि बाक्लो उपस्थितिबीच रचना वाचन गरी स्रष्टा भेटघाट सम्पन्न गर्‍यौँ । विशेषगरी हामीलाई व्याकुल माइलाको उपस्थिति नै हामी सबैको ऊर्जाको स्रोत थियो ।

सलनाल बिदाभरि थुप्रै कार्यक्रम भ्याइयो । थुप्रै प्रिय मान्छेसँग भेटघाट, भलाकुसारी भयो । केहीथान पुस्तक पनि प्राप्त गरियो । सबै सरसर्ती पढी पनि सकाइयो । त्यसमध्ये माइला दाजुले ल्याइदिनु भएको प्रज्ञा आधुनिक नेपाली कविता निकै महत्त्वपूर्ण र ज्ञानवद्र्धक लाग्यो । पहिचान भन्ने एउटा अत्यान्त सतही जर्नल भनिएको पुस्तकसमेत पढेँ । आहुतीको गन्थन र वैरागी काइँलाको विचारोत्तेजक वार्तालापबाहेक अरू त्यस्तैउस्तै लाग्यो । इतरले निकालेको इतर कविता सङ्ग्रह इतर नभई आदिवासी स्वरहरू नाम उपयुक्त ठानेँ । 

आफ्नो सिर्जना आफैले किनेर पढेको अक्सर मेरो जीवनको यही पहिलो पुस्तक होला । आइती घले, धीरेन्द्र प्रेमर्षि, राजन मुकारुङ र मुन्नाराज सेर्माहरू सशक्त लाग्यो । श्रवण मुकारुङको उही कोरियाली कवि सिम हुनको पट्यार लाग्दो सम्झना भेटियो । कुमारी लामा र चन्द्र गुरुङहरू मीठो सान्दर्भिक टिप्पणीमा उत्रिएका छन् । हुन त सार, सतही लोलोपोतो लगाउनेहरूले उधुम राम्रो छ भन्लान्– यो पुस्तक । तर भित्रैदेखि अभियानलाई माया गरेर यसको सार्थकता खोज्ने होभने पुस्तकको मोटाई बमोजिम इतर कविता महत्त्वका नहुनु स्वाभाविक नै सम्बन्धित तत्वज्ञानको अभाव हो भन्न किन हिच्किचाउने ? खैर ! प्रियकवि सम्पादक मित्र पराजितलाई अनैकौँ बधाई ! जे होस्, केही नहुनुभन्दा केही त भयो !

खप्तड काव्य यात्राले खप्तड राष्ट्रिय निकुञ्जको लोकेसन र कवि हेमन यात्रीलाई चिन्ने मौका पाएँ । बिउँ–अक्षरले राष्ट्रगानको सर्जक व्याकुल माइलालाई थप वाम्बुले राई मातृभाषाको पहिलो मुक्तककारका रूपमा उहाँको गहिरो चिनारी फेला पारेँ । यसरी कोसी किनारका लोक सुुसेलीहरूसँग सुसैल्दै जीवनका अनेक आयम र पाटाहरू हेर्ने, देख्ने र अनुभूत गर्ने मीठो पलहरू छोडेर सलनाल कोरियन नयाँ वर्ष गयो । जे होस्, रमाइलो र फलदायी भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप