शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकको नयाँ साथी

शनिबार, १० भदौ २०७४, ०८ : ०९
शनिबार, १० भदौ २०७४

कथा:
-सूचना तिमल्सिना 

म्यासेन्जरमा आज पनि उसको म्यासेज थुप्रिएको रहेछ । बिना कुतूहल उसको घुर्कीपूर्ण म्यासेज पढ्छु । कुरा नगर्ने भए किन साथी बनाएको त ? उसको प्रश्न जायज थियो । साथी त मैले उसलाई  कोरिएन नायक ली मिन होको हिस्सी प्रोफाइल फोटोले गर्दा बनाएको थिएँ । साथी बनेपछि उसले दिनहुँ पठाएको  म्यासेज बेवास्तामा परे । उसको म्यासेजबाट दिक्दारी बनेर मैले ब्लक गर्न नखोजेकी होइन । तर उसले गर्ने गरेको मेरा स्टाटस र फोटोपिच्छेको लाइक र कमेन्ट गुमाउन चाहिन । लागातारको झरी र यसबाट प्रभावित नेपालका पहाड र तराई बारे खबर बुझ्न फेसबुक खोल्छु । कतै सरकारलाई दोषार्पर्ण । काही इन्डियालाई गाली । कसैकोमा  सीताराम कट्टेल (धुर्मुस)को बयान । यिनै स्टाटसको पढाइलाइ बिथोल्दै उसको म्यासेज आउँछ । यसपालिको तीज कसरी मनाउने ? देशमा बाढी पहिरो गएको बेला उसलाई तीजको चिन्ता । ऊसँग साथी बनेपछिको पहिलो प्रत्युत्तर दिन्छु । म तीज मनाउँदिन । एकछिनपछि उसको जवाफ आउँछ  । मतलब तिमी दर खान्छौ तर व्रत बस्दिनौँ । म तीज मानाउँदिनको आर्थ म हिन्दू धर्म मान्दिन हुन सक्थ्यो । माने पनि तीजप्रति मेरो लगाव छैन हुन सक्थ्यो । मलाई उसको बेवकुफी अर्थ  देखेर हाँसो लाग्छ । 

बिहान उठ्नासाथ उसको म्यासेज देख्छु । कृष्ण अष्टमीको शुभकामाना ! आज त व्रत बस्छौ होला नि ? म मन नलागी भन्छु । म व्रत बस्दिनँ । फेरि उसको अर्को झटारो आइपुग्छ । मतलब व्रत नबसी कृष्णजीको पूजा गर्नुहुन्छ ? मलाई जवाफ फर्काउन मन लाग्दैन । ममीको गाली र उसको झटारोले गर्दा यसपालि व्रत बस्ने निर्णय गर्छु । मैले व्रत लिएको कुरा मेरा साथीहरू विश्वास गर्दैनन् । बाह्र बजेबाट मलाई भोकले तर्साउँछ । ममीले पूजा थालीमा राखेको केरा र स्याउमा मेरो आँखा गइरहन्छ । मानौँ उहाँले कृष्णजीलाई होइन कि मेरै लागि तयार पार्नुभएको हो । साँझमा उसलाई फुर्ति लगाउँदै म्यासेज टाइप गर्छु । ‘म नि आज व्रत बसेँ नि’ । उसको तुरुन्त उत्तर आउँछ । साँच्ची ? म उसले पत्याओस भनेर भन्छु । ‘कृष्ण कसम !’ म आफ्नो शब्द देखेर आफै हाँस्छु । ऊ स्माइलिका साथ लेखेर पठाउँछ । मेरो पनि आज व्रत थियो । एकछिनसम्मको विचरणपछि म लेख्छु । वाउ ! 

  ऊ फेसबुकबाट गायब हुन्छ । म्यासेन्जरले उसले नचलाएको पाँच दिन जनाउँछ । यी पाँच दिनमा मैले बल्ल बुझेँ ।  मेरो म्यासेन्जर आउने प्राय म्यासेजका उसका हुँदा रहेछन् । आजसम्म मलाई नजागेको उत्सुकता ऊ को रहेछ, कस्तो रहेछ भन्ने जान्न मन लाग्छ । म उसको प्रोफाइल चेक गर्छु । त्यहाँ उसको वास्तविक फोटो पो रहेनछ । कहिले ब्राड पिटको । कहिले अब्राहम लिङ्कनको । कहिले सेलिब्रेटी त कहिले राजनीतिज्ञको फोटो थियो । ऊ को हो ? मलाई उत्सुकता जाग्छ । कतै फेक आईडी त होइन । जे भए पनि ऊसँग अब धेरै खुल्न नहुनेमा आफूलाई विश्वस्त पार्छु । त्यतिकैमा उसको स्टाटस आउँछ । ‘ब्रह्माण्डको अघि एक पृथ्वीको अस्तित्व र पृथ्वीको अघि एक मानवको अस्तित्व तुलना गर्नु आवश्यक छैन । ध्रुव सत्य यो हो कि सबले आआफ्नो अस्थित्व बोकेका छन् ।’ म स्टाटसमा भनेको कुरा अर्थाउन खोज्छु । तर मेरो दिमागले शाब्दिक अर्थ मात्र भ्याउँछ । उसको म्यासेज आइपुग्छ । हाइ ! म गुडनाइट भन्दै हाम्रो वार्तालाप टुङ्ग्याउँछु । भोलिपल्टदेखि उसले म्यासेज गर्ने पुरानो दिनचार्यलाई निरन्तरता दिन्छ । 

कुशेऔँशीको दिन उसको बिहानै म्यासेज आइपुग्छ । बुबालाई के दिने ? उसको प्रश्न उसलाई नै फिर्ता गरिदिन्छु । ऊ मलाई लिस्ट पठाउँछ ।  म पनि उसलाई लिस्ट पठाइदिन्छु । यी चाडबाडले गर्दा हाम्रा गफका सिलसिला बढिरहेका छन् । ऊ मलाई तीज आउन लागेको बताउँछ । म चासो नरहेको बताउँछु । ऊ भने उत्साहित रहेको बताउँछ । मेरो मनमा भने चिसो पस्छ । तीज त केटीलाई लाग्नु पर्ने होइन र ? भन्ने मेरो प्रश्न बेवास्तामा पर्छ । मलाई फेरि ऊ को हो भन्ने कुराले सताउँछ । म एकछिन पछी सोध्छु– के तिमी केटी हो र ? ऊ होइन भन्छ । म उसलाई कृष्ण कसम खुवाउँछु । ऊ निर्धक्कसाथ कृष्ण कसम खाइदिन्छ ।

बल्ल ढुक्क हुन्छु । यदि तिमी चाहन्छौ भने म व्रतको दिन प्रोफाइलको फोटो  परिवर्तन गर्छु । म उसलाई थम्प्स अपको सङ्केत गर्छु । उसको फेरि म्यासेज आउँछ । म पनि व्रत बस्छु नि । मेरो आउन लागेको निन्द्रा भाग्छ । कहिले बस्छौ व्रत ? म विश्वास गर्न नसकी सोध्छु । उसको जवाफ आउँछ । ‘तीजमा !’ म हाँस्दै सोध्छु । साच्ची ? ऊ लेख्छ– कृष्ण कसम ! म उसको कुरालाई चिरफार गर्न तत्पर हुन्छु । कहिलेदेखि बस्ने गरेको व्रत ? निन्द्रा लागेको भनी ऊ कुराको बिट मार्छ । उसको रहस्य सर्जरी गर्ने चाहना विफल हुन्छ । म शङ्काबीच निदाउँछु ।

दर खाने दिन ।  फुपू आइपुग्नुहुन्छ । यसपाली चाहिँ व्रत बस्नुपर्ने फुपूको आदेश छ । म फुपूको आदेशलाई  हाँसोमा उडाउँछु । फुपू ढिपी नछाडी व्रत बस्नु नै पर्ने भनी कर लगाउन थाल्नु हुन्छ । म बाहनामा भन्छु । म बस्नु पर्दैन । मेरा लागि अरु कोही बस्दैछन् । मैले यो भन्दै गर्दा उसको याद आउँछ । साच्ची ऊ पनि त व्रत बस्दै छ । किन होला ?

म कुतूहल मेट्न फेसबुक खोल्छु । ऊ अफलाइन रहेछ । म्यासेज छोड्छु । दर पाक्यो ? एकछिनमा उसको उत्तर आउँछ । पाक्दै छ । दिदी पकाउँदै हुनुहुन्छ । तिम्रो घरमा पाक्यो ? म पाक्दै गरेको खीर र तरकारीको फोटो पठाउँछु । उसको स्वादिस्ट खाना भन्ने शब्दले मलाई फुर्क्याउँछ । म हिजो रातिको कुरामा विश्वस्त हुन फेरि प्रश्न गर्छु । तिमी भोलि व्रत बस्ने होइन त ? तुरुन्त उसको उत्तर आउँछ । ‘हो ।’ अनि साथमा मेरा लागि जटिल प्रश्न पनि । “अनि तिमी ?” साँचो भनौ या झुट बोलौं । म अलमलमा पर्छु । ऊ त्यही प्रश्नलाई फेरि लम्ब्याएर सोध्छ । म साँचो कुरा बताउँछु । म व्रत बस्दिन । मैले अहिलेसम्म व्रत बसेको  छैन । ऊ स्माइली मिसाएर भन्छ । ‘त्यसो त यो पालिदेखि बसन ।’ मनले हसको भाषा बोलिरहेको भए पनि म टाइप गर्छु । नाइँ । उसको किन भन्ने प्रश्नमा अड्को थाप्छु । यदि तिमीले किन तीजमा व्रत बस्न थालेको भन्यौ भने म भोलि व्रत बस्छु । उसको प्रतिउत्तर आउदैन । मलाई मैले लेखेको कुरा फिर्ता ल्याऊँ जत्तिकै लाग्छ  । डिलिट हानु लाग्छ । तर उसले देखिसकेको छ । त्यसैले मोबाइल छाडेर खाना खान जान्छु । 

म खाना खाँदै गर्दा भोलि व्रत बस्ने घोषणा सुनाउँछु । फुपूको अनुहारमा चमक आउँछ । ममी पञ्चामीको दिन पूजा लाउने योजना बुन्न थाल्नु हुन्छ । भाइ कर्के आँखा म पट्टि लगाउँछ । म भने आफ्नै बोलीको विश्वास गर्न सक्दिनँ ।  राति दर खान उठ्नुपर्ने भएकाले चाडो सुत्नु भन्ने ममीको सल्लाहलाई मनन गर्दै म कोठामा छिर्छु । निन्द्रा परे पो चाडो सुत्नु । उही फेसबुक चलाउँछु । रूउसको म्यासेज आएको रहेछ । व्रत त राम्री केटी पाउन बस्ने नि । उत्तर पायौ नि । अब व्रत बस्छौ नि ?’ मलाई कारण यति मात्र हो भनेर उसलाई कृष्ण कसम खुवाउन मन लाग्छ । तर फेरि  लेख्छु । वास्तवमा मलाई तीज मन पर्दैन । ऊ लेख्छ । भर्खर यति मिठो दर खाएर यस्तो भन्न सुहाउँछ । किन मन नपरेको र ?’ तीज भनेको हामी महिला महिनावारी हुँदा छुन नहुने भनी राखिएको दायरा नाघेर छोएको पाप पखाल्न मनाइने रे । यस्तो पनि कहीँ हुन्छ । अझ महिनावारि हुँदा अरुलाई छोयो भने कुकुर्नी हुने रे । मैले सानैमा यी कुरा सुनेको भएर तीज मनाइन । मैले बुझेको छु । महिनावारी हुँदा बार्नुको कुनै औचित्य छैन । अनि नाबार्दामा कुकुर्नी पनि हुइँदैन । 

मैले यति भनेर टाइप त गरेँ । यी सब लेखिरहन आवश्यक लाग्दैन । सबै हटाएर फेरि लेख्छु । यसमा रहेको कुरीतिले गर्दा हो । उसको लामो जवाफ आउँछ । चाडवाड र संस्कार भनेको त्यतिबेला मानिसको चेतना र रहनसहन अनुसार उत्पत्ति भएको हुन्छ । ती सबै कुरा अहिलेको समयमा मेल खान्छन भन्ने छैन । परम्परा र संस्कार भनेको समय अनुसार फेरबदल गर्दै लैजानुपर्छ । तर मान्दै नमान्नु चाहिँ राम्रो होइन । किनकि यही परम्परा र संस्कारसँग धेरै राम्रा कुरा जोडेर आएको हुन्छ । म उदाहरण खोज्छु । ऊ लेख्छ । जस्तो कि तीजमा माइत जाने नियम । के यो राम्रो छैन ? पञ्चमीमा नुहाउने चलन । पञ्चमी जुन माटो र दत्तिउन प्रयोग गरिन्छ । त्यसको फाइदा धेरै रहेको कुरा त सुन्दै आएका छौँ । ‘तिमीलाई यति धेरै कुरा कसरी थाहा भयो ?’ चासो राखेर भन्ने उसको उत्तरले मलाई उसमा रहेको घमण्डीपनको बोध हुन्छ । ऊ फेरि लेख्छ । पहिले तीज राम्रोसँग मानेर हेर । अनि राम्रा लागेका कुरा अपनाऊ । नराम्रा लागेका कुरा छाडिदेऊ । मलाई योभन्दा बढी कुरा लम्ब्याउन मन लाग्दैन । म गुरुजीको जय होस् भन्दै शुभ रात्रि भन्छु ।  

बिहान उठ्दा अबेर भएछ । आज व्रत बस्ने दिन । कलेज नजाने मेरो मनसायमा ममी र फुपूको सहमति मिल्छ ।  म मन्दिर जाँदैगर्दा सम्झिन्छु । ऊ पनि मन्दिरमा पूजा गर्न आयो होला त ? ममी र फुपू नाचगानमा रमाउछन । म चाहिँ फेसबुकमा अल्झिन्छु । ऊ अझै अफलाइन रहेछ । साथी सबले नयाँ फोटो र स्टाटस हालिसकेछन् । मलाई पनि स्टाटस राख्ने उमङ्ग चल्छ । करिब तीसवटा जतिको फोटो सेसन पछि बल्ल एउटा फोटो मनपर्छ । तीजको रौनक भन्दै म त्यो फोटो पोस्ट गर्छु । उसको सबभन्दा पहिलो लाइक आउँछ । उससँग कुरा गर्ने इच्छा ममीको घर जाने हतारोले रोकिन्छ ।  घर पुग्नासाथ म्यासेन्जर अन गर्छु । उसको म्यासेज थियो । पानी खाऊ । आफ्नो स्वास्थ्य ख्याल गर । उसको म्यासेजले हामी बीचको सम्बन्ध अझ नजिकिए जस्तो लाग्छ । 

कुराकानीको प्रसङ्ग जोड्न प्रश्न गर्छु  । मन्दिर गयौ ? ‘मन्दिर गएर भगवानसँग तिमीजस्तै राम्री केटी पनि मागी सकेँ । अनि तिमीले भगवानसँग के माग्यौ त ?’ ला हतारमा पूजा गर्दा मैले भगवानसँग माग्न पो भुलँेछु । उसको अर्को म्यासेज आइपुग्छ । तिमीले चाहेको मान्छे मेरो प्रोफाइलको फोटोमा छ । अस्ति उसको फोटो परिवर्तन गर्ने शर्त बल्ल मलाई याद आउँछ । हतारिँदै फेसबुक खोल्छु । हरे ! उसले त अर्को कोरियन हिरोको फोटो हालेछ । अघिपछि भएको भए त्यस फोटो देखेर दङ्गदास पर्थे हुँला  । तर आज त्यो फोटो मेरो  खिन्नाताको कारण बन्छ  । आफ्नो फोटो हालेको भए भैहाल्थ्यो नि ? म मनमनै असन्तुष्टि पोख्छु । 

ममीको चर्को आवाजले निन्द्रा खुल्छ । पञ्चमी पूजालाई छिटो तयार पर । अल्छी मान्दै उठ्छु । उठ्दै गर्दा चाल पाएँ । म त महिनावारी भएछु । तीनदेखिको मेरो पूजा लाउने इच्छा एकछिनमा टुट्छ । त्यो इच्छालाई नमार्न एउटा उपाय फुर्छ । महिनावारी भएको खुलासा नगर्ने  । अनि पूजा लगाउने । धेरैबेरको अन्तरद्वन्द्वपछि आफूले आफैलाई परीक्षणको रुपमा हेर्नेमा सहमत गराउँछु । डर र उत्साह दुवै बोकेर म पूजा लगाउन जान्छु । सबजना मैले पूजा लगाउन लागको देखेर आश्चार्य मान्छन् । म आफू भने सबजनालाई ढाँटेको देखेर आश्चर्यमा पर्छु । मोबाइलमा आएको म्यासेजको आवाजले मेरो ध्यान मोबाइलपट्टि खिचिन्छ । तर फुपू मलाई भगवानमा लीन भई पूजा लाउने पर्ने भनी मोबाइल नचलाउन सुझाव दिनुहुन्छ । फेरि  फुप्ू मेरो कानमा आएर भन्नुहुन्छ । तैले महिनावारी हुँदा कतै छोएर गल्ती गरेकी छेस् भने तेरो पाप कट्टी हुन्छ । मलाई मेरो पूजा लगाई एउटा व्यङ्ग्य लाग्छ । म चुचाप पूजा लगाउँछु । पुजारीले पूजा सकेर मेरो हातमा डोरो बान्दै गर्दा मलाई सोध्न मन लाग्छ । मेरो पाप कति कट्टी भयो भनेर ?  बिना लवजको प्रश्न मैमा अड्किन्छ ।

कोठामा पुगेर म्यासेज हेर्छु । मेरो नजर उसले लेखेको हामी कहिले भेट्नेमा पर्छ । म  फुरुङ्ग पर्दै आज टाइप गर्छु । आफ्नो उत्साह लुकाउन आज मेटाएर भोलि लेख्छु । खानाले हाम्रो कुराकानी रोकिन्छ । खानापछिको नाचगानामा म मजा लिन सक्दिनँ । त्यसैले आफ्नो कोठातिर लाग्छु । पूजा कोठामा आइपुग्दा मेरो पाइला टक्क अड्किन्छ । कता कता मलाई अघिको प्रतिक्रिया एक गल्तीझँै लाग्छ । म माफीका लागि तम्तयार भई भगवानको अघि उभिन्छु । मेरो ध्यान देवी, लक्ष्मी, सरस्वतीको फोटो र मूर्तिमा जान्छ । म आफूले आफैलाई सान्त्वना दिन्छु । पूजा भने भगवतीको गर्ने । अनि यति सानो कुरामा डराउने । अब मलाई राहत मिल्छ ।

राहत पाएको मन शान्त बन्छ । शान्त मन उसलाई सम्झिन्छ । उसले भेट्ने योजना बनाएर मसँग सहमति खोजेको रहेछ । भेट्ने ठाउँ मेरो पायक  होइन । तर पनि सहमति जनाउँछु । पञ्चमी त नुहाएनौ नि भन्ने मेरो व्यङ्ग्यपूर्ण सोधाइलाई उसले सहजतापूर्वक जवाफ दिन्छ । ‘नुहाइन ।’ म भूमिका बाँध्दै उसलाई प्रश्न गर्छु । के तिमीले व्रत राम्री केटीका लागि सुरुवात गरेको हो त ? हा...हा..सँगै उसको जवाफ आउँछ । हो नि । पोहोरको व्रतले गर्दा  यसपालि तिमीसँग भेट भयो ।
यसपालिको व्रतले आगाउ तिमी र म ... मलाई वाक्य पूरा गर भन्न  मन लाग्छ । तर म लेख्छु । मैले पत्याइन । केही त रहस्य हुनुपर्छ यसमा ।’ त्यस्तो ठूलो भयानक रहस्य त छैन । तर केही चाहिँ छ । भोलि भेटेर सुनाउँछु तिमीलाई ।’ उसको रहस्य प्रस्फुटन हुने कुराले ममा खुल्दुली मडारिन्छ । म यो कौतुहलतालाइ भोलिका लागि साँचीराख्छु ।
बिहानको समय सुलुलु चिप्लियोस भनेको एउटा क्लास सिद्धयाउन नै हम्मे हम्मे पर्छ मलाई  । कलेज सिध्याएर स्वयम्भुतर्फ लाग्छु । स्वयम्भु पुगेपछि चाल पाएँ । न मैले उसको नम्बर लिएको रैछु न मलाई ऊ कस्तो छ भन्ने नै थाहा छ । म आफ्नो हुस्सुपनलाई गाली गर्दै मोबाइल डाटा अन गर्छु । ला ऊ त अफलाइन रहेछ । नोटिफिकेसन अन गरी बारबार मोबाइल हेर्छु । उसको अत्तोपत्तो छैन । उसले दिएको समयभन्दा दुई घण्टा  बढी बित्दा पनि ऊ आउँदैन । अब एक घण्टा मात्र कुर्ने अडानलाई थपेर अर्को घण्टा समय व्यतित गर्छु । तर पनि ऊ आउँदैन । म लज्जित बन्दै घर फर्कन्छु । मलाई बाटोमा हिँड्ने सबैले उल्लु केटी भन्दै गिज्याए जस्तो लाग्छ । सुरुमा म घुर्क्याउन फेसबुक खोल्दिन । रात परेपछि ऊ कतै अनलाइन आइहाल्यो कि जान्न मन लाग्छ । फेसबुक खोल्छु । ऊ अझ अफलाइन रहेछ । 

भोलिपल्ट पनि ऊ अनलाइन आउँदैन । मैले उसँग कुरा गर्नु नै हुने थिएन । म आफैसँग गुनासो पोख्छु । तर ऊसँगको वार्तालापले गर्दा चाडपर्वप्रति आएको मेरो परिवर्तित धारणा म नकार्न सक्दिनँ । त्यसैले उसँगको कुराकानी लाभदायक वा पीडादायक म छुट्याउन सक्दिनँ । उसको रहस्यको साझेदारी गर्न पर्खिरहेको बेला ऊ आफै मेरा लागि रहस्य बन्यो । थाहा छैन यो रहस्य उहीसँग हराउँछ वा मसामु आइपुग्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप