बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्टक डिलरले सेयरमा डुब्नबाट रोक्छ ?

केही दिनमै खुसीको खबर दिँदै नागरिक लगानी कोष
बिहीबार, १६ माघ २०७६, १५ : ४७
बिहीबार, १६ माघ २०७६

नागरिक लगानी कोष (सीआईटी) ले ‘नागरिक स्टक डिलर लिमिटेड’ नामक सहायक कम्पनी स्थापना गर्ने अन्तिम गृहकार्य अघि बढाएको छ ।  नागरिक लगानी कोषको बहुमत सेयर स्वामित्व रहने र नेपाल पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको समेत लगानी रहनेगरी स्टक डिलरको काम गर्नेगरी उक्त कम्पनी दर्ता गर्न लागेको कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए ।

कार्यकारी निर्देशक नेपालले भने अब २, ४ दिनभित्रै लगानीकर्तालाई खुसीको खबर दिने बताए । ‘हामीले स्टक डिलर खोल्छौँ भनेर बोलेको धेरै भइसक्यो । तपाईंहरु सोध्नुहुन्छ, नबोलौँ बोलेन भन्नुहुन्छ, बोल्न के बोल्ने ? तर अब २, ४ दिनमै खुसीको खबर सुनाउँछौँ,’ नेपालले भने ।

उक्त कम्पनीको संस्थापनाका लागि प्रबन्धपत्र, नियमावली, विवरणपत्र जस्ता कागजातको मस्यौदा तयार भइसकेका छन् । तर पुनर्बिमा र नेपाल टेलिकमले लिने सेयर स्वामित्व र सञ्चालक समितिमा प्रतिनिधित्व जस्ता प्राविधिक विषयहरु मिलाउन बाँकी छ । सबै तयारी पूरा भइसके पनि नेपाल टेलिकमको सञ्चालक समितिबाट स्टक डिलरको स्वामित्व लिने विषयमा औपचारिक निर्णय नहुँदा प्रक्रिया अड्किएर बसेको छ । स्रोतका अनुसार टेलिकमले निर्णय गर्नासाथ दर्ता प्रक्रिया अघि बढ्छ ।

कोषभन्दा ठूलो सहायक कम्पनी

संस्थापनाका लागि तयारी गरिएको स्टक डिलर कम्पनीको प्रारम्भिक चुक्ता पुँजी नै ५ अर्ब हुनेगरी तय गरिएको छ । यसमध्ये कम्तीमा पनि २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम नागरिक लगानी कोषले व्यहोर्नुपर्छ । तर नागरिक लगानी कोष आफ्नै चुक्ता पुँजी भने अहिले १ अर्ब १० करोड रुपैयाँ मात्रै छ ।

चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ मात्रै भए पनि कोषसँग ४ अर्ब ६७ करोड रुपैयाँको जगेडा कोष छ । यो कोषको रकममध्ये अधिकांश रकम ‘फ्री रिजर्भ’को रूपमा रहेकाले कम्पनीले ५ अर्बको कम्पनीमा बहुमत सेयर लगानी गर्न सक्षम देखिएको हो । कोष अहिले नागरिक लगानी कोष ऐन २०४७ अनुसार सञ्चालनमा छ । सहायक कम्पनी भने कम्पनी ऐनअनुसार दर्ता हुने भएकाले यसमा कम्पनी ऐन आकर्षित हुन्छ । उक्त ऐनले कुनै पनि कम्पनीले आफ्नो सहायक कम्पनीमा चुक्ता पुँजी र ‘फ्री रिजर्भ’को ६० प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने उल्लेख गरिएको छ ।

नागरिक लगानी कोष ऐन संशोधन विधेयक अहिले संसदमा छ । संसदीय समितिमा दफावार छलफल सकिएको उक्त विधेयकमा कोषको चुक्ता पुँजी ३ अर्ब राख्ने व्यवस्था गरिएको छ । ऐनले तोकेकै चुक्ता पुँजीलाई आधार मान्ने हो भने पनि माउ कम्पनीभन्दा सहायक कम्पनी नै ठूलो हुने अवस्था देखिन्छ ।

स्टक डिलर कि मार्केट मेकर ?

स्टक डिलर कम्पनी स्थापनाका लागि एक वर्षअघिदेखि तयारी थालेको कोषलाई अर्थमन्त्री युवराज खतिवडाले गत सोमबार ‘मार्केट मेकर’को काम अघि बढाउन निर्देशन दिए । हामीले कायकारी निर्देशक नेपाललाई तपाईंहरु ‘स्टक डिलर’ खोल्ने कि ‘मार्केट मेकर’ भनेर सोध्यौँ, उनले दुवै शब्दले यो अवस्थामा एउटै प्रकृतिको कामलाई जनाउने बताए । ‘मार्केट मेकरले बजारको निर्माण गर्छ तर स्टक डिलर अहिले रहेको बजारलाई नियन्त्रण गर्ने काम मात्रै गर्ने हो । तर अहिलेको अवस्थामा यी दुई शब्दको प्रयोग हामीले स्थापना गर्न लागेको कम्पनीले गर्ने कामकै सन्दर्भमा भएको छ,’ उनले भने ।

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोषका अध्यक्षसमेत रहेका कोषमा कर्मचारी देव गुरागाईं पनि यी दुई शब्दबीच तार्किक अन्तर नभएको बताउँछन् । ‘बजार निर्माता भनेर राष्ट्र बैङ्कले बैङ्कहरुलाई लाइसेन्स दिन्छ, ती संस्थाले सरकारी बिल र बन्डहरुमा लगानी गर्छन् तर हामी त्यसो गर्दैनौँ, त्यसैले हामीले त्यसलाई स्टक डिलर भनेका हौँ’, उनले भने ।

स्टक डिलर खुलेपछि सेयरमा डुब्नुपर्दैन ?

पछिल्लो साढे ३ वर्षको घट्दो बजारले लगानीकर्तालाई ‘पेनिक’ बनायो । स्टक डिलर कम्पनी खुलेपछि त्यसले बजारलाई नियन्त्रण गर्छ र लगानीकर्ताले घाटा व्यहोर्नुपर्दैन भन्ने बुझाइ लगानीकर्ताहरुको छ । गुरागाईं यो बुझाइमा आंशिक सहमति जनाउँछन् । उनका अनुसार बजारमा माग तथा आपूर्तिमा हुने कृत्रिम उतारचढावलाई स्टक डिलरले रोक्ने काम गर्छ तर स्वाभाविक रूपमा हुने उतारचढाव बजारमा रहिरहन्छ । ‘बजारमा मूल्यको निर्धारक भनेकै माग र आपूर्ति हो । स्टक डिलरले बजारको अस्वाभाविक उतारचढाव रोक्न माग र आपूर्तिको फ्लोद्वारा नियन्त्रण गर्छ तर स्वाभाविक रूपमा हुने बजारको उतारचढाव भने जारी नै रहन्छ । स्टक डिलर कम्पनी आएपछि ‘कर्नरिङ’को समस्या भने एक प्रकारले समाधान हुनसक्ने विश्वास लगानीकर्ताको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप