शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई डबल स्टयान्डर्ड जीवन मन पर्दैनः सभामुख सापकोटा

बिहीबार, १६ माघ २०७६, १४ : ४१
बिहीबार, १६ माघ २०७६

काठमाडौं । सभामुख अग्नि सापकोटाले आफुलाई डवल स्ट्याण्डर्ड जीवन मन नपर्ने बताएका छन् । बिहीबार संसदीय पत्रकार समाजले सिंहदरवारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले सो कुरा बताएका हुन् । 

उनले संसदलाई जीवन्त राख्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि जनाए । ‘सदनलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ । सम्वाद र छलफलको वातावरण बनाएर नै अघि बढ्दा सवैलाई फाइदा हुन्छ’, सभामुख सापकोटाको भनाई छ ।

उनले पत्रकारहरुले गर्ने स्तरीय रिपोर्टिङले पत्रकार र संसद दुवैको उचाई बढ्ने भन्दै राज्यका प्रमुख तीन अङ्गमध्ये धेरै कुराको सुरुवात हुने अंग संसद भएको प्रस्ट पारे ।  नवनिर्वाचित सापकोटालाई पत्रकारहरुले संसदभित्र लवि रिपोर्टिङको व्यवस्था गर्न तथा मिडिया कक्ष व्यवस्थित बनाउन सुझाव दिएका थिए । त्यसक्रममा सभामुख सापकोटाले आफु देखेको कुरा प्रस्ट भन्ने भन्दै आफुलाई डवल स्ट्याण्डर्ड मन नपर्ने बताए । ‘मलाई डवल स्ट्याण्डर्ड जीवन मन पर्दैन, १५ वर्ष संसदीय अभ्यास र १० बर्ष जनयुद्धमा सहभागी बने, म आफ्नो प्रस्ट धारणासहित अघि बढ्दै आएको छु’, सभामुख सापकोटाको भनाई छ । 

उनले यसअघि पनि आफु सरकार र पार्टी प्रवक्ताको जिम्मेवारीमा रहँदा पत्रकारहरुको सम्पर्कमै रहेको भन्दै अब पनि सम्पर्कमै रहनुपर्ने भएकाले आफुलाई पुनर्मिलन लागेजस्तो अनुभव भएको बताए । कुनैपनि विषयमा सम्झौतावादी हुन नहुने सापकोटाको भनाई छ । 

‘अब काममा सँगै जाऊ, म कति गर्नसक्छु । तपाईँहरुले दिएको सुझाव राम्रा छन् । हाम्रो कार्यभार भनेको यो राष्ट्रको, यो व्यवस्थापिकाको र लोकतन्त्रको विस्तार र सुदृढिकरण हो । यो विस्तारका लागि मैले सकेसम्म बुद्धि विवेक प्रयोग गर्नेनै छु’, पत्रकारहरुको सुझाव सुनेपछि सापकोटाले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप