शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुटिङको क्रममा शाहरुखलाई पुलिसले गरेका थिए पक्राउ, मलमूत्र भएको जेलभित्र बिताए पूरा रात

बिहीबार, १६ माघ २०७६, ११ : २७
बिहीबार, १६ माघ २०७६

हुन त बलिउडमा स्टार्सको पुलिस थानासँग पुरानो नाता भइसकेको छ । आजकाल कोही न कोही नायकमाथि यस्ता घटना घटित भइरहेका छन् जसका कारण उनीहरुले जेलको चिसो छिँडिमा रातसमेत बिताउनु पर्छ । संजय दत्तदेखि सलमान खानसम्मका सेलिब्रिटीलाई  जेल जानबाट कसैले पनि रोक्न सकेका छैनन् । यसैबीच चर्चित अभिनेता शाहरुख खानले पनि एकपटक आफ्नो व्यवहारका कारण जेलमा बास बस्नु परेको छ । आखिर शाहरुख खान किन जेल जानुपर्यो, त्यसबारे जानकारी लिऔं ।

हालै शाहरुख खान एउटा कार्यक्रममा पुगे । त्यतिबेला उनले आफ्नो जीवनसँग सम्बन्धित विभिन्न रोचक किस्साबारे खुलासा गरे । त्यतिबेला उनले आफूलाई पुलिसले पक्राउ गरेको घटनाबारे पनि सुनाए ।

उक्त कार्यक्रमका बेला शाहरुख खानलाई थुप्रै वर्षअघि एक म्यागजिनमा छापिएको लेखबारे सोधियो जसमा उनी जेल जानुपर्ने कारण लुकेको थियो । तब शाहरुख खानले यसबारे खुलासा गर्दै म्यागजिनमा छापिएको एक लेख पढेपछि आफूलाई अत्यधिक रिस उठेको र रिसमा उनले म्यागजिनका सम्पादकलाई फोन गरेर धम्कीसमेत दिएको बताए । उनले गाली गर्दा  सम्पादकले आफूलाई यसका लागि कूल रहन र ‘उक्त लेखलाई मजाकको रुपमा लिन’ आग्रह गरेको पनि उनले बताए ।

सम्पादकले त्यस्तो भनेपछि आफू सिधा म्यागजिनको कार्यालयमा गएर उनीमाथि रिस पोख्दै गाली गलौच गरेको पनि शाहरुखले जानकारी दिए ।

शाहरुखका अनुसार उक्त घटना भएको भोलिपल्ट सुटिङ हुँदै गर्दा सेटमा पुलिस आए र उनलाई आफूसँग जान भने । यहाँ रोचक कुरा के छ भने त्यतिबेला शाहरुखले ती पुलिसकर्मी उनका प्रशंसक भएको र सुटिङको सेटमै आफूलाई भेट्न आएको र आफूसँगै जान निम्तो दिइरहेको ठाने । तर आफूबारे तथानाम लेख्ने म्यागजिनका सम्पादकको ऊजुरीपछि उनलाई पक्राउ गरिएको भन्ने थाहा पाएपछि उनी झसङ्ग भए ।

यसबारे शाहरुखले जानकारी दिए, ‘पुलिसले मलाई पक्राउ गरेर एउटा सेलमा हाले । मैले पहिलो पटक सेल देखेको थिएँ जुन निकै सानो थियो । त्यहाँ निकै फोहोर थियो । त्यहाँ मल मूत्र पनि देख्न सकिन्थ्यो ।’

शाहरुखले एक रात उक्त जेलमा बिताए । त्यसको भोलिपल्ट उनी जमानतमा रिहा भए ।

कुन कुराले रिसाएका थिए शाहरुख ?

सन् १९९३ मा रिलिज भएको फिल्म ‘माया मेमसाहब’ को दृश्य उद्धृत गर्दै उक्त म्यागजिनमा शाहरुख बारे केही लेखिएको थियो जसका कारण उनी रिसाएका थिए । वास्तवमा शाहरुखले फिल्म निर्देशककी श्रीमतीसँग एक लभ सीन क्रिएट गर्नु थियो । ९० को दशकमा यस्तो सीनलाई निकै बोल्ड मानिन्थ्यो । उक्त फिल्मको सीनबारे म्यागजिनमा लेखिएको थियो, ‘फिल्मका निर्देशक केतन मेहताले शाहरुख खानलाई आफ्नी श्रीमतीसँग एक रात बिताउन भनेका थिए । यस्तो गर्दा उनीहरुले एकअर्कालाई चिन्ने र त्यसपछि लभ सीन सुट गर्न सजिलो हुन्छ भन्ने निर्देशकको मान्यता थियो ।’

यो लेख पढेपछि शाहरुखलाई रिस उठ्यो । त्यसपछि उनी म्यागजिनको अफिस गएर लेखकलाई ज्यान मार्ने धम्कीसमेत दिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप