बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरस्वती पूजाको उत्तम योग

बिहीबार, १६ माघ २०७६, ०९ : ३८
बिहीबार, १६ माघ २०७६

सुरेश रिजाल
 

यस वर्ष तीनवटा शुभ योगमा सरस्वती पूजा हुँदैछ ।

काठमाडौँ । वसन्त पञ्चमी माता सरस्वतीको विशेष उपासना गर्ने महत्त्वपूर्ण पर्व हो । माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने उक्त पर्व विशेषगरी विद्याकी देवीका रूपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रूपमा रहेको छ । यस वर्ष माघ १६ गते बिहीबार गुरु वृहस्पतिकै बारमा पञ्चमी तिथि परेकाले पनि यो वर्षको सरस्वती पूजालाई  विशेष रूपमा हेरिएको छ । यस्तो संयोग परेको समयमा विद्या आरम्भ गर्नका लागि अति नै शुभ हुने भएकाले साधनामा लाग्नेहरुका लागि भने विशेष  दिन रहनेछ । शास्त्रमा वर्णन भएअनुसार यस पवित्र दिनमा भगवान विष्णु तथा कामदेवको पूजाको पनि वर्णन गरिएको छ । सर्वप्रथम भगवान श्रीकृष्णले ज्ञानादष्टादी श्री सरस्वतीको पूजा गरेर दिव्य ज्ञान प्राप्त गरेकाले पनि पञ्चमी तिथिलाई पूर्ण तिथिका रूपमा पूर्ण ज्ञान प्राप्ती कामनाले पूजा तथा आरधना गर्ने नियम रहिआएको शास्त्रमा उल्लेख गरिएको छ ।

विद्या आरम्भ यस दिनदेखि गर्दा कुनै प्रकारको साइत हेरिरहनु नपर्ने ज्योतिषीहरुले बताउने गरेका छन् । वर्षमा चारवटा नवरात्रहरु पर्दछन् । त्यसमा माघ शुक्ल पक्षको समयलाई पनि गुप्त नवरात्र भनेर पनि भनिएको छ । भगवती सरस्वती सत्वगुण सम्पन्न भएकीले मन, बुद्धि र ज्ञानकी अधिष्ठात्रीका रूपमा पूजा तथा साधना गर्नाले मानव जातिको सम्पूर्ण कामना पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । यस्ता प्रकारका कामना पूर्ण हुनका लागि शुभ समयमा र शुभ योगमा मात्रै हुने भएकाले तिथि तथा पूर्ण योगको खगोलीय तरिकाबाट गणना गरिन्छ ।

पञ्चमी तिथिका देवता नाग हुन् । उक्त तिथि पूर्ण तिथि भएकाले यस दिनमा शुभ कर्म गर्न कुनै साइत कुर्नुनपर्ने र गरिएको कर्मले दीर्घकालसम्म माताको कृपा रहिरहने धार्मिक विश्वास रहिआएको छ । नाक तथा कान छेड्नका लागि पनि यो दिन शुभ हुने कुरा उल्लेख छ ।

अध्ययनरत हरेक मानिसले उत्तिकै मिहिनेतका साथ पढिरहेका हुन्छन् । त्यसमा कसैलाई राम्रो सफलता मिल्दछ भने कसैको पढाइ पूरा हुनै पाउँदैनन् । शास्त्रअनुसार कुन मानिसले कस्तो प्रकारको पढाइमा सफलता पाउने र कतिसम्म पढ्ने भनेर पहिले नै निर्धारण भइसकेको हुन्छ । त्यही कुरालाई जानेर पढाइमा लगाउनेहरुले विशेषगरी सफलता प्राप्त गरेको ज्योतिषीहरुले जानकारी गराएका छन् । प्राचीन कालमा पनि यस्ता कुराको वर्णन व्यापक रूपमा गरिएको पाइन्छ । शास्त्रहरु लेख्रे तथा शस्त्र अस्त्रहरु चलाउने फरकफरक व्यक्तिले गर्ने भएकोले पनि अहिले कस्ता योग भएकाहरुलाई कुन प्रकारको शिक्षा दिने भन्ने जानेर मात्रै अध्ययनमा लगाएमा मात्रै सफल हुने जानकारहरु बताउँदछन् । हरेक व्यक्तिलाई माता सरस्वतीको कृपा फरक फरक तरिकाबाट हुने गरेको छ । कसैलाई घोक्ने तरिका राम्रो हुन्छ भने कसैलाई सपमूलक काममा राम्रो हुन्छ । जसरी भएपनि माताको कृपा हरेक मानिसमा कुनै न कुनै प्रकारको हुन्छ नै । शास्त्रमा भनिएको छ, बुद्धि र ज्ञान दुबै फरक फरक कुरा हुन् तर बुद्धि तथा ज्ञान दुबैको तालमेल मिलेमा मात्रै सफल हुनेछ । बुद्धि दिने ग्रहका रूपमा बुध ग्रहलाई हेरिन्छ भने ज्ञानको कारक ग्रहणका रूपमा बृहस्पति ग्रहलाई हेरिन्छ । माघ १६  गते ज्ञानदिने ग्रह बिहीबार बृहस्पति ग्रहको बार परेकाले पनि साधना गर्नेहरुलका लागि विशेष दिन रहनेछ ।

कसरी गर्ने पूजा र साधना ?

यस दिन ब्रह्म मुहूर्तमा उठेर स्नान तथा नित्यकर्म पश्चात् पञ्चगव्य खाएर पूजा तथा अध्ययन कोठामा माता सरस्वतीको मूर्ति तथा प्रतिमा स्थापना गरेर वैद्धिक विधिपूर्वक दूध, दही, घिउ, मह तथा सक्खरले मूर्ति तथा प्रतिमामा चढाएर र फूलमाला लगाइ र धुप बत्तीले आरति गरेपछि सरस्वती स्तोत्रको पाठ गर्नुपर्ने विधान रहेको छ । सक्नेले १०८ पटक सरस्वतीको मन्त्र जप गर्दा वाणीमा सिद्ध हुने पनि बताइएको छ । यसरी पूजा तथा आराधना गरेमा हरेक प्रकारका कर्मसिद्ध हुने छ । उक्त दिन सरस्वती यन्त्र बनाएर साना बच्चाहरुलाई धारण गरिदिएमा बुद्धि तथा ज्ञान खुल्ने पनि शास्त्रमा उल्लेख गरिएको छ ।

वर्षमा चारवटा नवरात्रहरु पर्छन् । पहिलो आषाढ शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्मको समय त्यस्तै आश्विन शुक्ल पक्क्षको प्रतिपदादेखि मनाउने बडादसैँको नवरात्र त्यस्तै सरस्वती पूजाको पक्ष अर्थात माघ शुक्लपक्ष प्रतिपदादेखि स्वस्थानी साङ्गेदेखि पूर्णिमासम्मको समयलाई गुप्त नवरात्र भनेर भनिएको छ । वर्षको अन्तिममा चैत्र शुक्लपक्षको नवरात्र पर्छ, जुन समयमा चैते दसैं तथा रामनवमीसम्मको पर्व पर्ने गरेको छ । यसरी हेर्दा कुनै प्रकारले शक्तिकै आरधना हो भनेर पनि भन्न सकिन्छ । सरस्वती पूजाको पनि विद्याको आरधना तथा साधना गर्ने पवित्र पर्व हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप