शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठक : के चाहन्छन् केन्द्रीय सदस्य ?

बुधबार, १५ माघ २०७६, १८ : २७
बुधबार, १५ माघ २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाँच दिने केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा एकताको २१ महिनापछि केन्द्रीय सदस्यहरु नेतृत्वसँगको छलफलमा छन् ।

केन्द्रीय समिति बैठकका लागि मंगलबार साँझ बसेको सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल जारी छ । बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति, सरकारका काम कारबाही र पार्टीका विषयमा उठेको प्रश्नको २ घण्टा ५ मिनेट लगाएर जवाफ दिए ।

केन्द्रीय सदस्यको प्रश्न तेस्रिन नपाउँदै उद्घाटन सत्रमा सरकारको नीति तथा कार्यक्रमझै ओली प्रस्तुत भए । अनि उनी बैठकबाट बाहिरिए । काठमाडौंस्थित राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समिति बैठकमा सहभागी केही केन्द्रीय सदस्यसँग रातोपाटीले पार्टीले लिनुपर्ने नीति, सरकारको कामकारबाही, एमसीसी विवादलगायतका विषयमा लिएको प्रतिक्रियाः

शशी श्रेष्ठ


केन्द्रीय समिति बैठकले पार्टीका लागि एउटा निश्चित मार्गचित्र तयार पारेर अघि बढ्छ । अर्को कुरा एमसीसीको विषयमा बहस हुन जरुरी छ । सचिवालयबाट एमसीसीको विषय एजेण्डाका रुपमा आएको छैन ।

तर हामीले यसका विषयमा छलफल हुनपर्छ भने कुरा राखेका छौँ । त्यो एजेण्डा बनेपछि के हो वास्तविकता थाहा हुन्छ । एमसीसीबारे सबैलाई थाहा हुनुपर्छ । त्यसपछि के गर्ने भन्ने कुरा बैठकले निर्णय गर्छ । 

शेरबहादुर तामाङ


नेकपा नेतृत्वको सरकार छ । जनगुनासोलाई जोड दिने कुराहरु बैठकमा उठ्छन् ।

खास गरी हामी समृद्धितिर जोडिएको छौँ । के गर्दा समृद्धि हुन्छ ? सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अगाडि सारेको छ । यी विषयमा पार्टीले गहन छलफल गर्दा राम्रो हुन्छ ।

यस विषयमा पार्टीले ठोस कार्ययोजना बनाएर अगाडि बढेन भने जनताले पत्याउने अवस्था छैन । त्यसैले सरकारबारे गम्भीर छलफल गर्नुपर्छ ।

पार्टीको विषयमा कुरा गर्दा दुई पार्टीबीचको एकतापछि महाधिवेशन गर्नुपर्ने कार्यभार हाम्रो माझ छ । लोकतान्त्रिक व्यवस्थामा पार्टी बलियो र व्यवस्थित नभएसम्म अन्य कुराहरु व्यवस्थित हुँदैनन् ।  पार्टीका आन्तरिक जीवनलाई कति दिन तदर्थबादबाट चलाउने भन्ने कुरा हुन्छ ? त्यसैले तत्लो तहको अधिवेशन अगाडि बढाउने कुरा पनि बैठकमा जोडतोडका साथ उठ्छ । 

राम कार्की


धेरै ढिलो केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठक सही कुरामा केन्द्रित हुन सक्यो भने परिणाम राम्रो आउँछ । कम्युनिस्ट आन्दोलन कुनै देश, जातिको आन्दोलन होइन ।

यो अन्तर्राष्ट्रिय आन्दोलन हो । त्यसैले हामी सोच्न जरुरी छ, नेपालको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय आन्दोलनको सानो इकाइ हो । त्यसैले विश्वको कम्युनिस्ट आन्दोलन कहाँ पुगेको छ ? विश्वको मानव जातिले कुन प्रकारको स्थितिको सामना गरिरहनुपरेको छ भन्नेबारे छलफल हुनुपर्छ । छलफलका विषय धेरै छन् । समय निकै कम राखिएको छ । एमसीसीको कुरा छ । कसैले दिने सहायताको आधारमा आफ्नो कार्यक्रम बनाउने विगतदेखि जुन परिपाटी थियो, त्यो आजसम्म पनि कायम छ । 

त्यसैले चाहे, एमसीसी होस् वा बीआरआई, हामी उनीहरु अन्तर्गत जाने होइन, आफ्नो कार्यक्रम अन्तर्गत ल्याउने हो । एमसीसी अर्थमन्त्रालय नभएर रक्षामन्त्रायलसँग सम्बन्धित भएकाले नेपाली जनतामा आशंका बढाएको हो । अर्को कुरा नेपाललाई भारतको थु्रबाट हेरिँदा यस्तो अवस्था आएको देखिन्छ । यसबारेमा गम्भीर छलफल गर्नु जरुरी छ । 

बिन्दा पाण्डे


सचिवालयले जुन एजेण्डा तय गरेको छ । त्यहाँभित्र छलफल विषयहरु धेरै छन् । एउटा कुरा हाम्रा संगठनहरु विधान र कानुन अनुसार सञ्चालन भइरहका छ कि छैन भन्नेबारे छलफल गर्छौँ ।

राष्ट्रिय मुद्दाबारे केही विषयमा प्रधानमन्त्रीज्यूले आज प्रष्ट पार्ने कोशिस गर्नु भएको छ । त्यसमा पनि कतिपय प्रश्नहरु छ । त्यी प्रश्नबारे पनि हामी छलफल गर्छौँ ।

मुलरुपमा नेकपालाई श्रमजिवी वर्गको पार्टी भनेर भनिएको छ । श्रमजिवी वर्ग र सीमान्तकृत वर्ग समूदायलाई हामीले पार्टीको दायराभित्र कसरी ल्याउँछौँ र त्यसका लागि हामीले सकारात्मक कदमका के कार्यक्रम ल्याउँछौँ भन्ने कुरा छलफल हुन्छ । 

रामकुमारी झाँक्री

केन्द्रीय कमिटी बैठकका एजेण्डा सचिवालय बैठकले नै तय गरिसकेको छ । त्यसमा विगतमा सचिवालयले गरेका निर्णय अनुमोदन लगायतका विषयहरु छन् । विधानमा पार्टीको सर्वोच्च नेतृत्वदायी निकाय पार्टी एकता महाधिवेशन, त्यसपछि केन्द्रीय समिति बैठक र स्थायी समिति बैठक भन्ने व्यवस्था छ । यता दैनिक कार्य सञ्चालनका लागि सचिवालय राखिएको छ ।  एकता महाधिवेशन पार्टीका एकताको दुई वर्षभित्र गर्ने विधानमै व्यवस्था गरिएको छ ।  विधान छापेर आएदेखि कै कुरा गर्दा पनि डेढ वर्ष जान थाल्यो ।

अबको पाँच– छ महिनामा महाधिवेशन हुने सम्भावन छैन । तर दश–एघार महिनाभित्र अधिवेशन गर्न आजैदेखि पार्टीको एउटा पंक्तीलाई स्थानीय तहको अधिवेशनका लागि खटाउनु जरुरी छ । त्यसो गरको खण्डमा आगामी १० महिनामा महाधिवेशन गर्न सकिन्छ । यो केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोक्नुपर्छ भन्ने मलाई लाग्छ ।

अर्को कुरा विधानमा संशोधन गर्दै जानुभन्दा आगामी महाधिवेशनबाटै धेरै कुरा टुंग्याउनेतिर लाग्दा विचार, संरचना, कमिटी प्रणाली र राजनीति कार्यदिशा तय हुन्छ । अब पार्टीले महाधिवेशन केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्छ । तर, सरकार सञ्चालन गर्न पार्टीलाई महाधिवेशन गर्न चटारो हुन्छ भन्ने कुरा हुँदै होइन । ४४१ जनाको केन्द्रीय कमिटी छ । तर सबै बेरोजगार छन् । राजकीय जिम्मेवारी भएका साथीहरुले पार्टीको जिम्मा नदिए पनि हुन्थ्यो । हामीले जिम्मेवारी दिएर गल्ती ग¥यौँ
अब बाँकी साथीहरुले पार्टीको काम गर्नुहुन्छ । सदस्यता वितरण, नवीकरण र अध्यावधिक गर्ने कुरा छ। हामीले बल्ल केन्द्रीय सदस्यको परिचयपत्र पायौँ ।

हाम्रो एकीकृत पार्टीको सदस्यता पत्र कस्तो हुन्छ भन्ने समेत जारी गरिएको छैन । यी सबै आन्तरिक मामला हुन् । ठूलो कुरा पार्टीलाई विधिसम्मत चलाउनुपर्छ । हामीले कुनै व्यक्ति हेरेर विधि बनायौँ भने विवादमा जान्छ । जब हामी विधि स्थापित गर्छौ । अनि विधिभित्र जे जे कुराहरु पर्छन, सबैले स्वीकार छन् ।

ठाकुर गैरे


यो बैठकको आयोजनाले हामीलाई उत्साहित बनाएको छ । हामी उत्साहित छौँ । योबीचमा केन्द्रीय कमिटीको बैठक तीन पटक भइसक्नुपथ्र्यो । तर आज भएको छ । पार्टीले जे विधि पद्धति बनाएको छ, आगामी दिनमा त्यसको उल्लंघन भयो भन्ने कुराको सुनिश्चितता हामी चाहन्र्छौँ । अर्को कुरा आज यो पार्टीमा विचारको प्रभाव ज्यादै कमजोर बन्दै गइरहेको छ । विचारबारे बहस गर्न कोही पनि तयार नदेखिने, खाली पदका निम्ति र व्यक्तिगत हितमा पार्टी प्रयोग भएको देखिन्छ । जसले जनताको हित गौण भएको छ । जसको कारण हाम्रो वैचारिक स्पष्टताको कमी हो ।

यो बैठकले नेकपाको हरेक कार्यकर्ता विचारमा स्पष्ट हुन्छ र उसले बोकेको विचारको दिशामा हिँड्छ भन्ने कुरामा छलफल हुन जरुरी छ । हामीले समाजवादको कुरा गरिहेका छौँ ।

त्यो कसरी आउँछ र त्यसका लागि सिंगो कार्यकर्ता र आम जनताको साथमा अगाडि बढाउँछौँ भन्ने कुराको प्रत्याभूति यो बैठकबाट दिन सक्नुपर्छ । अर्को कुरा आज हामीले नेतृत्व गरिरहेको सरकार चलिरहँदा विभिन्न ठाउँमा विभिन्न भ्रष्टाचारका प्रश्नहरु हामीमाथि उठिरहेका छन् । नेकपाको कार्यकर्ता कमिशनको खेलमा लाग्दैन, फाइल बोकेर कमाउँछु भन्नेतिर लाग्दैन र कम्युनिस्टको आचरण निर्माण गर्नेगरी लाग्छ भन्नेमा यो बैठकमा जोड दिने कोशिस गरिरहेका छाँै । यस्तै राष्ट्रियताको कुरा छ । भारतले नेपालको यति ठूलो भू–भाग आफ्नो नक्सामा समेटेको छ ।

त्यसका विरुद्ध पार्टी कसरी लड्छ र सरकारले के सफलता प्राप्त गर्न सक्छ भन्ने कुरामा स्पष्ट हुन चाहन्छौँ । एमसीसी, यति होल्डिङ्स, एनसेलका प्रश्नहरु छन् । यस विषयमा छलफल गहन छलफल हुन्छ, र गर्नुपर्छ ।

टंक कार्की


नेपालका विशाल दुई धारबाट भर्खर निर्माण नेपाल कम्युनिस्ट पार्टी यतिबेला संक्रमणकालबाट गुज्रिरहेको छ ।

पार्टी एकताको बेला हामीले अपेक्षा गरेजस्तो पूर्ण सन्तुष्ट हुने उपलब्धी भएको पाइँदैन । तर संक्रमणकालका जुन जटिलताका दबाबहरु छ, यी दबाब पार्टीभित्र परेको होला ।

यो बैठकमा ती जटिलताबाट निकास दिएर एउटा अग्रगामी दिशा तय गर्ने प्रयास हुन्छ  । सरकार र पार्टीभित्र उठेका प्रश्नमा आफ्नो विचार राख्छौँ । पार्टीको उद्देश्य र मिशनतिर निर्दिष्ट गर्नका निम्ति आवश्यक पर्ने कुराहरु राख्छु ।

कर्णबहादुर थापा


केन्द्रीय समिति बैठकलाई प्राविधिक रुपमा हेर्नुहुँदैन ।  विधानमा भएको व्यवस्थालाई कसैले नजरअन्दाज गरेको छैन । पार्टीको काम, नीति र उद्देश्यलाई अगाडि बढाउनका निम्ति पार्टीका बैठकहरुको आवश्यकता हुन्छ । पार्टीका बैठक ६–६ महिनामा मात्र भन्ने होइन, त्यो भन्दा अगाडि पनि बस्नुपर्ने हुन्छ ।

तर अहिले पार्टीका कुनै पनि काम रोकिएको अवस्था छैन । पार्टी राम्रो ढंगले अगाडि बढिरहेको छ ।

केन्द्रीय समिति बठूलो निकाय भए पनि ४४१ सदस्यीय भएकाले सजिलै अयोजना गर्न कठिनाइ छन् । पार्टीको बैठक बस्नु हुँदैन भन्ने होइन, तर व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ । यो बैठकले पार्टी एकताबीचको कामबारे समीक्षा गर्छ ।

सरकार सञ्चालन गरिरहेका पार्टी भएकाले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान सफल पार्न सम्पूर्ण पार्टीपंक्ति र नेपाली जनतालाई एउट सूत्रमा बाध्ने गरी आएका एजेण्डामाथि बैठकमा छलफल हुन्छ । यहाँ विरोध मात्र होइन, भएका राम्रा कुरालाई स्थापित गरेर जानुपर्छ भन्नेमा जोड रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप