मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रहस्यमयी नोबेल कोरोना भाइरस के हो ?

बुधबार, १५ माघ २०७६, १३ : ३६
बुधबार, १५ माघ २०७६

डा. राजन किशोरी केसी
 
चीनको हुवेई प्रदेशको उहान सहरमा पहिलो पटक देखिएको चिनियाँ रहस्यमयी नोबेल कोरोना (२०१९–nCoV) भाइरसको प्रकोप सन् २०१९ को मध्य डिसेम्बरमा देखिएको थियो र उक्त भाइरसको सङ्क्रमण नेपाल, जापान, अमेरिकासहित अन्य २३ देशमा फैलिसकेको हालसम्मको तथ्याङ्ककले देखाएको छ । यस भाइरसको सङ्क्रमणलाई लिएर विश्वव्यापि रूपमा त्रास र चिन्ताको विषय बढिरहेको छ । अझैसम्म यसको आधिकारिक नाम छैन तर पनि यो भाइरसलाई नयाँ उहान कोरोना भाइरस भनेर चिनिन्छ । 

नोबेल कोरोना भाइरसको प्रकोपले हालसम्म चीनको मध्य सहर उहानमा १११ जना मानिसको ज्यान गएको छ र हालसम्म ८ हजारभन्दा बढी सङ्क्रमित केसहरु चीनमा पुष्टि भइसकेका छन् । चिनियाँ सरकारले हुबेईका करिब ५ करोड मिलियन मानिसलाई यो रोगबाट सङ्क्रमण हुन नदिन क्वारेन्टाइनमा (Quarantine) सरुवा रोगको कारण अलग्याउने काम (राखेको छ र लगभग २० भन्दा बढी सहरमा सरकारी तालाबन्दी गरिएको छ र हुबेईका सम्पूर्ण सहरहरुमा सार्वजनिक तथा लामो दूरीका यातायात बन्द गरिएका छन् । त्यसैगरी चिनियाँ सरकारले बजार, रेस्टुरेन्ट र अनलाइनमा वन्यजन्तुको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ भने धेरै सहरमा व्यापार, व्यवसाय र स्कुलहरू केही हप्ताका लागि बन्द गरिएको छ । साथै कोरोना भाइरसको सङ्क्रमण भएको मुख्य केन्द्र उहानमा चीनले उपचार र सङ्क्रमण नियन्त्रणका लागि दुई अस्पताल बनाउँदै गरेको छ । 

केही दिनअघि विश्व स्वास्थ्य सङ्गठनले यो रोगको सङ्क्रमणबारे आधिकारिक धारण सार्वजिनक गर्दै– यो प्रकोप चीनमा आपतकालीन हो तर यो अहिलेसम्म विश्वव्यापी स्वास्थ्य आपतकालीन (ग्लोबल हेल्थ इमर्जेन्सी) बन्न सकेको छैन भनेर आकस्मिक बैठक बसेको थियो । जबकि यो भाइरस छिटो र आक्रामक तरिकाले विश्वव्यापी रूपमा फैलिँदै अझै बलियो हुँदै गएको छ । २०१५ मा एबोला महामारी ढिलो घोषणा गर्दा धेरैको ज्यान गएको थियो । त्यसैले नयाँ कोरोना भाइरस सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनले चाँडोभन्दा चाँडो इमर्जेन्सी घोषणा गर्नु जरुरी देखिन्छ । यदि यो नयाँ भाइरस द्रुत गतिमा फैलिँदै गयो भने यसले चीनको अर्थव्यवस्था र विश्वलाई त हानि पुर्‍याइरहेको छ । यसले ग्लोबल मन्दी निम्त्याउन सक्छ भने कुरा पनि प्रस्ट देखाएको छ । 

नोबेल कोरोना (२०१९–nCoV) भाइरस सन् २००२ मा चीनमै फैलिएको SARs र सन् २०१२ मा मध्यपूर्वको MERs र कोरोना भाइरसभित्रकै समूहहरुको एउटा ठूलो सदस्य हो जुन जनावर र मानिसबीच सर्ने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसले ज्वोरो, रुघाखोकी लाग्नुका साथै फोक्सोको सङ्क्रमण गराई निमोनिया निम्त्याउँछ । केवल यो भाइरस केही घण्टाभन्दा बढी हावामा बाँच्न सक्दैन । यसको ऊष्मायन अवधि (incubation period) अज्ञात भए पनि मोटामोटी रूपमा लगभग १ देखि १४ दिन बीचको अनुमान गरिएको छ । कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा सङ्क्रमण हुन्छ भनिन्थ्यो तर अहिले आएर यो नयाँ प्रकार पत्ता लागेसँगै यसको सङ्ख्या ७ पुगेको छ । 

नोबेल कोरोना भाइरसको स्रोत के हो ?
स्वास्थ्य अधिकारीहरू र तिनका साझेदारहरू नयाँ कोरोना भाइरसको स्रोत पहिचान गर्न दिन ९ रात कडा मिहिनेत गरिरहेका छन् । यद्यपि यसको मूल स्रोत पहिचान नभए पनि वैज्ञानिकहरूले कोरोना भाइरसका सम्भावित कारण उहानको समुद्री खाना तथा पशु बजारमा चमेरा, कोब्रा सर्प जस्ता वन्यजन्तुको उपभोग र त्यहाँबाट भाइरसको एक्सपोजर भएको हुन सक्ने बताएका छन् । 

लक्षण र जटिलताहरु 
प्रारम्भिक लक्षणहरू जस्तै ज्वरो, सुख्खा खोकी, मायाल्जिया (मांसपेसी दुख्ने) थकान हो । त्यसैगरी उत्पादनशील खोकी (जसले कफ उत्पादन गर्दछ) र असामान्य तरिकाले टाउको दुख्ने, हेमोप्टाइसिस (खोकीसँगै रगत देखिने) र झाडापखाला कहिलेकाहीँ हुन्छ । अन्य जटिलताहरूमा निमोनिया, सेप्टिक सक, किड्नी फेल्लियर, कार्डियक इन्जुरी देखिन्छन् ।

भाइरस कसरी फैलिन्छ र सर्छ ? कोरोना भाइरसहरूको ठूलो परिवार भएकाले यसले मानिसको तल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण गर्छ । इन्फ्लुएन्जा जस्तै, यो कोरोना भाइरस दुवै प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा फैलिन्छ । प्रत्यक्ष सम्पर्कः जस्तै नजिकको सम्पर्कको माध्यमबाट साथी र परिवारबीच सूक्ष्मजीवको शारीरिक हस्तान्तरण, चुम्बन, र्‍याल आदिका माध्यमबाट हुन्छ भने अप्रत्यक्ष सम्पर्क चाहिँ सङ्क्रमित व्यक्ति खोक्दा वा हाछ्युँ गर्दा, सङ्क्रमित व्यक्तिले छोएको ठाउँमा छँुदा सर्ने गर्दछ । यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने र यसरी सर्दासर्दै यो मान्छेसम्म पुग्ने गरेको छ । 

वैज्ञानिकहरुले अझै पनि यो रहस्यमय भाइरसको सङ््क्रमण कसरी र कति चाँडो फैलिन्छ भन्न यकिन नभए पनि अन्दाजकै भरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेका छन् । 

जोखिम प्रभावित क्षेत्रहरूमा यात्रा गरिरहेका व्यक्ति र सङ्क्रमित केसहरूसँग सम्पर्क रहेको व्यक्ति, चिकित्सक तथा स्वास्थ्यकर्मी आदि जोखिममा हुन्छन् । मधुमेह, किड्नी फेलेएर, मुटु रोग, एचआईभी, क्यान्सर, रोग प्रतिरक्षात्मक प्रणाली कमजोर भएका, बाल बच्चा, वृद्धहरू बढी जोखिममा हुन सक्छन् । यो रोग लाग्दैमा बिरामीको मृत्यु हुँदैन ।

रोकथाम के छ ? 
नयाँ उहानमा कोरोना भाइरसको खोप छैन । कुनै पनि एन्टिभाइरल औषधि कोरोना भाइरस विरुद्ध प्रभावकारी सावित भएको छैन । यसको कुनै उपचार छैन तर यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार मात्र गर्न सकिन्छ ।  यो रोग लाग्दैमा बिरामीको मृत्यु हुँदैन । यो रोग लाग्न नदिनका लागि निम्नलिखित कुरा ध्यान दिनु आवश्यक छ । 

कम्तीमा २० सेकेन्डका लागि साबुन र पानीले  हात धुने । साबुन र पानी उपलब्ध छैन भने अल्कोहोल रहित सेनिटाइजर प्रयोग गर्ने 
मास्क रोकथामका लागि उपयोगी : उपलब्ध नभएको खण्डमा सजिर्कल मास्क प्रयोग गर्ने
–खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख टिस्यु पेपर वा सफा कपडाले छोप्ने, 
–जथाभावी छोएका हात, आँखा, मुखमा नलाने
–रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने
–आफू बिरामी भएको बेला घरमा बस्ने 
–जङ्गली तथा घरेलु पशुपन्छीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने,
–पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने, 
–बिरामी मानिसको सम्पर्कभन्दा टाढै बस्ने, 
–प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, सागसब्जी, फलफूल, गेडागुडी आदि खाने
–भिडभाड जस्तै– अस्पताल, सिनेमा घर, सार्वजनिक ठाउँ, सार्वजनिक यातयात, सपिङ मल आदिमा नजाने,
–फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने

 (लेखक चीनमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ अध्यनरत हुन् ।)
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप