बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च रक्तचाप छ ? यी खानेकुराहरु खानेगर्दा रक्तचाप कम गर्न सहयोग गर्छ

बुधबार, १५ माघ २०७६, ११ : ५८
बुधबार, १५ माघ २०७६

आधुनिक जीवनको विलासी एवं लापरवाह शैलीले दिएका भयानक ‘सजाय’हरुमध्येको एक हो उच्च रक्तचाप । कुनै बेला धनीमानी ्र उमेर ढल्केकाहरुलाई लाग्ने रोगको रुपमा गनिइन्थ्यो उच्चरक्तचाप । तर अहिले यो के धनी, के गरिब: के बूढापाका के जवान, जो कोहीलाई पनि सजिलै र कुनै पनि बेला लाग्ने रोग बन्न पुगेको छ । नसर्ने रोगमध्येका एक प्रमुख रोग रक्तचापकै कारण अमेरिका जस्तो विकसित देशमा मात्रै पनि प्रत्येक तीनजना वयस्कमा १ जना उक्त रत्तःचापका रोगी छन् । त्यहाँका ७ करोड ७९ लाख वयस्क मानिसहरु उच्चरक्तचापले पीडित छन् । यो भनेको वयस्कहरुको ३२ प्रतिशत हुन आउँछ । सन् २०१४ को तथ्यांकअनुसार अमेरिकामा उच्च रक्तचाप मृत्युको मुख्य कारणको रुपमा रहेको र सोहीकारण ४ लाख १० हजार मानिसको मृत्यु भएको थियो । उता बेलायतमा मात्रै पनि १ करोड ६० लाख मानिसहरु उच्च रक्तचापले पीडित छन् ।

सन् २०१६ को नेपाल डेमोग्राफिक एण्ड हेल्ट सर्भे रिपोर्टका अनुसार नेपालमा १५ वर्ष उमेरमाथिका मध्ये ८० प्रतिशत महिला र ६५ प्रतिशत पुरुषले रक्तचाप जँचाएका छन् र तीमध्ये १३ प्रतिशत महिला र १८ प्रतिशत लाई उच्च रक्तचाप छ ।

उच्च रक्तचाप हुँदा हाम्रा धमनी र रक्तनलीहरुम बढी नै चाप पर्छ । त्यसलाई औषधी तथा खानपानको पथपरहेजबाट बेलैमा नियन्त्रण गरिएन भने अन्ततः हाम्रा रक्तनलीहरुलाई कमजोर बनाइदिन्छ, त्यसले मुटुका रोग, मृगौलाका रोगहरु र अन्ततः हृदयघात नै गराइदिन सक्छ ।

गम्भीर कुरा चाहिँ के छ भने नियमित रुपमा स्वास्थ्य परीक्षण नगराउने मानिसमा उच्च रक्तचाप लामो समयसम्म थाहा नपाइकनै भइरहेको पनि हुन सक्छ । जब उच्च रक्तचापले गम्भीर समस्याहरु देखापर्न थाल्छ, तब मात्र हामीलाई उच्च रक्तचापको समस्या रहेको थाहा पाइन्छ । त्यसैले आफ्नो शरीरको रक्तचाप थाहा पाउनका लागि नियमित रुपमा रक्तचाप जँचाउने गर्नु राम्रो हुन्छ ।

उच्च रक्तचापलाई बेलैमा औषधीहरुबाट नियन्त्रण गरिएन भने त्यसले मानिसको ज्यानै जाने हुन सक्छ । त्यसैले उच्च रक्तचाप हुनेबित्तिकै चिकित्सकको सल्लाहबमोजिम नियमित औषधी खाइहाल्नु पर्छ । औषधीका अलावा खानपीनले पनि उच्च रक्तचापलाई नियन्त्रण गर्न ठूलो भूमिका खेल्ने गर्छ ।

 उच्च रक्तचापलाई नियन्त्रण गर्नको पोटिसियम, म्याग्नेसियम र फाइबर बढी भएका तथा सोडियम कम भएका खानेकुराहरु राम्रा मानिन्छन् । 

 आउनुहोस्, आज हामी उच्च रक्तचापलाई नियन्त्रण गर्ने केही खानेकुराहरुका बारेमा चर्चा गरौं ।

हरियो सागपात

उच्च रक्तचाप गराउने कारणहरु थुप्रै हुन्छन् । खानेकुराको सन्दर्भमा चाहिँ सोडियमले सबैभन्दा ठूलो भूमिका खेल्ने गर्छ । सोडियम भएका खानेकुराहरु बढी खाइयो वा शरीरमा सोडियमको मात्रा बढी भयो भने उच्च रक्तचाप हुने सम्भावना बढेर जान्छ । हाम्रो शरीरमा बढी भएको सोडियममलाई पिसाबको माध्यमबाट शरीर बाहिर निकाल्ने काम मृगौलाले गरिरहेको हुन्छ । त्यस काममा पोटासियमयुक्त खानेकुराहरुले मृगौलालाई सहयोग पुर्याइरहेको हुन्छ ।

हरियो सागपातहरुमा हाम्रो शरीरका लागि आवश्यक थुप्रै भिटामीन तथा खनिजहरुका साथसाथै पर्याप्त मात्रामा पोटिसियम पनि पाइन्छ । त्यसैले उच्च रक्तचापका रोगीहरुले हरियो सागपातहरु बढी नै खाँदा फाइदा हुन्छ ।

बेरीहरु

खानेकुरा तथा फलफूलमा उच्च रक्तचापका लागि बेरीहरु अत्यन्तै फाइदाजनक हुने गर्छ । बेरीहरुमध्येमा पनि ब्लुबेरीमा फ्लावोनोइड नाम गरेका स्वस्थकर यौगिकहरु पाइन्छन् । ती यौगिकहरुले उच्च रक्तचापलाई कम गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।

 फ्लावोनोइडमा एन्टीइन्फ्लामेटोरी र एन्टिअक्सिडेन्ड तत्त्वहरु पाइन्छन् । यस अर्थमा पनि ब्लुबेरी खानु उच्च रक्तचापका लागि मात्रै हैन, समग्र स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

चुकुन्दर

चुकुन्दरमा पर्याप्त मात्रामा नाइट्रिक अक्साइड पाइन्छ । नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुल्न र रक्तचापलाई कम गर्न भूमिका खेल्छ । विभिन्न अध्ययनहरुले देखाएअनुसार, चुकुन्दरको रस सेवन गर्दा उच्च रक्तचाप नियन्त्रणमा आउँछ ।

दही

दहीमा पाइने फाइदाजनक तत्त्वहरुले हाम्रा रक्तनलीहरु खुम्चन  र फैलिनमा सहयोग गनुका साथै रक्तचापलाई पनि नियन्त्रित राख्न भूमिका निर्वाह गर्ने गर्छ । दहीमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउनुका साथै हाम्रा मांसपेशीहरु फैलिने र खुम्चिने काममा पनि मद्दत गर्छ ।

अमेरिकन हार्ट एशोसिएसनका अनुसार दहीको नियमित सेवन गर्दा उच्च रक्तचाप हुने सम्भावना २० प्रतिशत कम हुन्छ ।

ओट

पर्याप्त मात्रामा फाइबर पाइने ओट उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने एउटा उपयोगी खानेकुरा हो । १०० ग्राम ओटमा हामी १० ग्राम फाइबर, ३५२ मिलिग्राम क्याल्सियम र ३५९ ग्राम पोटासियम पाइन्छ । यी तीनवटै चीजहरु उच्च रक्तचापलाई नियन्त्रित अवस्थामा राख्नका लागि शरीरका लागि अत्यन्तै अपरिहार्य हुन्छन् ।

केरा

माथि उल्लेख भइसकेको छ, रक्तचाप नियन्त्रणको लागि पोटासियमले महत्वपूर्ण भूमिका खेल्छ । बताइबस्नै पर्दैन, केरा प्रशस्त मात्रामा पोटासियम पाइने फलफूलमध्येमा पर्छ । पोटासियमले रगतमा भएको अत्यधिक सोडियमलाई पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ । मानिसमा रक्तचाप बढाउने एउटा प्रमुख कारण सोडियम बढी हुनु पनि हो ।

केरामा पोटायिसयमका अलावा स्वस्थकर प्रोटिन, फाइबर, म्याग्नेसियम, भिटामीन बी६ र भिटामीन सी पनि पाइन्छ ।

लसुन र अन्य मसलाजन्य जडीबुटीहरु

चुकुन्दरमा जस्तै लसुनमा पनि नाइट्रिक अक्साइट पाइन्छ, जसले हाम्रा धमनीहरुलाई फैलिन सहयोग गर्छ । लसुनको नियमित सेवनले उच्चरक्तचाप नियन्त्रणमा आउँछ ।

लसुन बाहेक,  तुल्सी, दालचिनी, अलैंची, अदुवा र सेलेरीको बियाँले पनि उच्च रक्तचापलाई कम गर्न सहयोग गर्छ ।

कालो चकलेट

कालो चकलेटको सेवन पनि उच्चरक्तचाप नियन्त्रणमा सहयोगी हुन सक्छ । हावर्ड विश्वविद्यालयको एक अध्ययनमा कालो चकलेटको एउटा सानो टुक्रा नियमित खाने हो भने उच्च रक्तचाप कम गर्न सहयोग पुग्छ । चकलेटमा हुने कोकाले रक्तनलीहरुलाई नरम बनाएर रक्तचापलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

त्यति मात्र हैन, कालो चकलेटले मधुमेह र मुटुको रोगबाट पनि रक्षा गर्ने अध्ययनमा देखिएको थियो ।

त्यसो त औषधीको प्रयोगबाट उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । औषधीबाहेक, उच्च रक्तचापमा सबैभन्दा जरुरी कुरा खानपीनमा पथपरहेज पनि हो ।  जिब्रोको मिठासलाई भन्दा पनि स्वस्थ रहनको लागि खानेकुरा खाने हो भन्ने तथ्यलाई मूलमन्त्रको रुपमा लिएर धूमपान, मध्यपान, अत्यधिक नूनिलो तथा तारेका खानेकुराहरु, मासुहरु लगायतका रक्तचाप बढाउने खानेकुराहरुको सेवनबाट बच्ने वा कम सेवन गर्ने हो भने पनि उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

तथ्य एवं फोटो स्रोत:  http://www.foodeatsafe.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप