शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए’ डिभिजन लिगमा रङ्गभेद र फिक्सिङको गन्ध

बुधबार, १५ माघ २०७६, ११ : ३१
बुधबार, १५ माघ २०७६

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि होड र रेलिगेसनको घम्साघम्सी रोचक बन्दै गएको छ । लिगको अङ्कगणितीय रोमाञ्चकतासँगै खेलाडी र क्लबहरु मैदानमा अनुशासनहीन हर्कत गर्न कस्सिएका छन् ।

मङ्गलबार एन्फा कम्प्लेक्स मैदानमा भएको छुट्टा छुट्टै दुई खेलमा फरक–फरक दृश्य र घटना भए । लिगको पहिलो खेलमा रेलिगेसनको दबाबमा रहेको सरस्वती र हिमालयन शेर्पा क्लबबीचको खेलको नतिजा अस्वाभाविक निस्कियो । प्याराफिटमा रहेका समर्थक र फुटबलका पदाधिकारीले नै थाहा पाउनेगरी गोल भयो । लिगको नवौँ खेलमा आएर सरस्वतीले शेर्पालाई ४–३ गोलले हरायो । सरस्वतीको जितमा काजिम बुसारीले पाँचौँ र ८३ औँ मिनेटमा दुई गोल गरे । विनोद केसीले ३५ औँ र मनिष थापाले ८८ औँ मिनेटमा एक–एक गोल गरे । शेर्पाका आशिष गुरुङले १०औँ, विजय श्रेष्ठले ४५औँ र रवि थापामगरले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

यस खेलमा अब गोल हुन्छ भन्ने कुरा दर्शकलाई पहिले नै थाहा हुन्थ्यो । सरस्वतीले बल अगाडि बढाउनासाथ दर्शकले यो गोल निश्चित हुन्छ । यो फिक्सिङ (मिलेमतो) खेल हो भन्दै चर्चा गरिरहे । दर्शकले भनेजस्तै नतिजा पनि आयो । यसअघि आठ खेलमा जम्मा दुई गोल गरेको सरस्वतीले एउटै खेलमा चार गोल गर्यो । रेलिगेसनमा रहेको सरस्वतीलाई शेर्पाविरुद्धको जित निकै महत्त्वपूर्ण थियो । यसैगरी यसअघिका खेलमा मच्छिन्द्रजस्तो बलियो टोलीलाई हराएको शेर्पाले लिगकै कमजोर टोली सरस्वतीसँग चार गोल खानुलाई दर्शकले समेत पचाउन सकेनन् । त्यसैले खेलमा जसरी गोल भए, ती शङ्कास्पद देखिन्थे ।

सरस्वती र शेर्पाबीचको अस्वाभाविक नतिजाले रेलिगेसनकै दबाबमा रहेको एपीएफलाई चुनौती थपिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस पटकको लिगमा एक टोली घटुवा गर्ने नियम राखेको छ । नवौँ खेलमा आएर पहिलो जित निकालेको सरस्वतीले चार अङ्क बनाएको छ । यद्यपि सरस्वती अझै अन्तिममा छ । पाँच अङ्क बनाएको एपीएफ सरस्वतीभन्दा अगाडि छ । हिमालयन शेर्पा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हो । कर्मा आफै क्लबको पनि अध्यक्ष छन् । यसैगरी सरस्वती एन्फा उपाध्यक्ष शिक्षित पराजुलीको क्लब हो । शिक्षित सरस्वतीका पनि अध्यक्ष हुन् ।

भरतमाथि रङ्गभेदको आरोप    

लिगको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई यस पटक उपाधिको दाबेदार मानिएको छ । त्यसैले उपाधि जित्न आर्मीका खेलाडी कस्सिएर लागेका छन् । आर्मीका कप्तानसमेत रहेका भरत खवास यस पटक आफ्नो कप्तानीमा आर्मीलाई उपाधि दिलाउन चाहन्छन् । लिगले ४३औँ संस्करण पूरा गर्दा भौतिक संरचना र सुविधासम्पन्न भएर पनि आर्मीले अहिलेसम्म लिग उपाधि चाख्न पाएको छैन । नयाँ इतिहास रच्न पनि आर्मी मैदानमा जोडबल गरिरहेको छ । यही क्रममा मङ्गलबार कप्तान भरत खवासले जाउलाखेलका अफ्रिकी खेलाडी ड्याडी जुनियरमाथि रङ्गभेदी दुव्र्यावहार गरेको आरोप लागेको छ । खेलका क्रममा भरतले ड्यडीलाई मङ्की (बाँदर) भनेर गाली गरेको सरस्वतीका खेलाडी र पदाधिकारीले बताएका छन् ।

पहिलो हाफको अन्तिममा भरतले जाउलाखेलका रक्षकलाई फल खेलेपछि विवाद भएको थियो । विवादकै क्रममा भरतले आफूलाई बाँदर भनेको भन्दै ड्याडीले खेल खेल्न अस्वीकार गरेका थिए । ड्यालीले खेल बहिष्कार गर्न खोज्दा जाउलाखेलकै पदाधिकारीले सम्झाएर उनलाई मैदान पठाएका थिए । राष्ट्रिय स्तरको खेलाडीले अनुशासनहीन काम गरेको भन्दै जाउलाखेलले एन्फामा उजुरी दिने जनाएको छ । मैदानमा भएका रङ्गभेदको विषयलाई रेफ्रीले सुनेर पनि नसुने जस्तो गरेको दुःखेसो पनि जाउलाखेलको छ । लिगको शीर्ष स्थानमा रहन जित्नै पर्ने खेलमा आर्मीले जाउलाखेललाई १–० गोलले हराएको थियो । खेलमा निर्णायक गोल उनै भरतले गरेका थिए ।

फुटबल मैदानमा खेलाडीमाथि रङ्गभेदको घटना अन्तर्राष्ट्रिय स्तरमा भइरहेको छ । रङ्गभेदको विषयमा खेलाडीलाई फिफा र एएफसीले ठूला कारबाहीसमेत गर्दै आएको छ । नेपालमा भने यस्तो घटना बाहिर आएको पहिलो पटक हो । एन्फाअन्तर्गत लिग निर्देशक सञ्जीव मिश्रले मङ्गलबार भएका सबैखाले घटनाको छानबिनगरी दोषीमाथि आवश्यक कारबाही गरिने बताए । मैदानमा भएका घटना र उजुरीको आधारमा फुटेज हेरेर छानबिन गरिने सञ्जीवको कथन छ । तर एन्फा र क्लबका पदाधिकारी एउटै व्यक्ति हुँदा नेपाली फुटबलमा विगतमा घटेका अधिकांश अप्रिय घटना त्यतिकै सामसुम भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप