कारको टायरमा गोली हानी गाँजा तस्कर पक्राउ
काठमाडौँ । गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेको छ। मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको हो ।
बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी देखेपछि भाग्दै गरेका उनीहरु सवार कारको टायरमा गोली प्रहार गर्नुपरेको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । सुरुमा प्रहरीले उनीहरुमाथि प्रहरीले हवाई फायर गरेको थियो ।
पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन् । एसपी राठौरका अनुसार भारत मुजफ्फरपुरका अजयमल सवारी चालक, सञ्जीव पासवान र जाहेरा खातुन पक्राउ परेका हुन् ।
गाडीमा महिलालाई बिरामी बनाएर र एकजना बिरामी कुरुवा बनेर उनीहरुले गाँजाको तस्कर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी राठौरले बताए ।
उक्त कारमाथि शङ्का लागेपछि प्रहरीले सुरुमा मकवानपुरको मनहरीमा नियन्त्रणमा लिन खोजेको थियो । तिव्र गतिमा रहेको कारण प्रहरीले नियन्त्रणमा लिन सकेन ।
यस्तै लेवटमा पनि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिन खोज्यो, तर सकेन् । त्यहाँबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर अगाडि पुगेको सो कारलाई चेकजाँच गर्न खोज्दा पनि रोकेन् ।
लागूऔषध लिएर आइरहेको तीन ठाउँमा प्रहरीले नियन्त्रणमा लिन नसकेपछि वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थानाभर्याङमा नियन्त्रणमा लिन खोज्दा भागेको थियो ।
प्रहरीलाई देखेपछि भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ३२ किलो गाँजा बरामद भएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी भ्यानलाई ठक्कर
थानाभर्याङबाट गाँजा तस्कर पक्राउ गरेर फर्कने क्रममा प्रहरीको भ्यानलाई बसले ठक्कर दिएको छ । बसको ठक्करबाट इन्सपेक्टर ईश्वरीप्रसाद भण्डारीसहित पाँचजना घाइते भएका छन् ।
हेटौंडा–११, थानाभर्याङबाट हेटौंडातर्फ आउँदै गरेको वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी भ्यानलाई बसले ठक्कर दिएको एसपी राठौरले पुष्टि गरे ।
प्रहरी भ्यानलाई काकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना.५ ख ५५८२ नम्बरको बसले ठक्कर दिएको हो ।
यसअघि पनि मकवानपुर प्रहरीले पुस १९ गते तीनजना गाँजा तस्करलाई गोली प्रहार गरी पक्राउ गरेको थियो । डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतीय कारमा सवार उनीहरु प्रहरी देखेपछि भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
प्रहरीले कार चालक भारत मोतिहारीका ३७ बर्षीय दिलिपकुमार सिंह, उज्वलकुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका–४ का २४ बर्षीय विकास सिंहलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट पनि ३२ किलो गाँजा बरामद भएको थियो ।