बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मादी डान्स आइडलको उपाधि शाहीलाई

मङ्गलबार, १४ माघ २०७६, २२ : ४४
मङ्गलबार, १४ माघ २०७६

कास्की । कास्कीको मादी गाउँपालिकामा आयोजित प्रथम मादी डान्स आइडलको उपाधि मादी– ८ की सोफी शाहीले प्राप्त गरेकी छिन् । गाउँपालिकाभित्रका १२ वटा वडाका नयाँ प्रतिभाको खोजी गरी उनीहरुको प्रतिभा विश्वसामु चिनाउन सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगिताअन्तर्गत गत वैशाख महिनाबाटै गाउँपालिकाका वडामा वडाध्यक्षको रोहबरमा एक देखि १२ सम्म १२ वटा आइडलको अडिसन सञ्चालनका लागि उपसमिति गठन गरिएको थियो । आदिम कलामञ्चको आयोजना एवं मादी गाउँपालिकाले सहकार्यमा आयोजित प्रतियोगिताअन्तर्गत भदौ १ गतेबाट पहिलो चरणको अडिसन शुरु भएको थियो । 
    
उपाधिसँगै शाहीले रु एक लाख नगदसहित पुरस्कार, ट्रफी र प्रमाणपत्र तथा म्युजिक भिडियोमा अवसर पाएकी छिन् । उनलाई एक वर्षसम्म आइडल भत्ताबापत मासिक रु दुई हजारका दरले थप २४ हजार प्रदान गरिने छ । प्रतियोगितामा अर्पिता गुरुङ फष्ट रनरअप बन्दै ५० हजार रुपैयाँ नगदसहित पुरस्कार, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर प्राप्त गरिन् । 
    
त्यस्तै कुशुम गुरुङ सेकेन्ड रनरअप बन्दै रु २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर प्राप्त गरिन् । प्रतियोगितामा शशीमाया गुरुङले उत्कृष्ट वेषभूषा, नीरज राईभाट र कमल गुरुङले उत्कृष्ट नृत्य निर्देशकको उपाधि प्राप्त गरिन् भने ललित गुरुङले प्रोत्साहन पुरस्कार प्राप्त गरे । 
    
प्रतियोगिताका उत्कृष्ट २० जनालाई रु तीन हजार नगदसहित प्रमाणपत्र एवं आदिम कलामञ्चको तर्फबाट छ महिनाको निःशुल्क नृत्य प्रशिक्षणको मौका र ट्रफी प्रदान गरियो । प्रतियोगिताका विजयीलाई पुरस्कृत गर्दै मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्ने मात्र नभइ मादी गाउँपालिकाकै शान उच्च राख्ने बताए । कार्यक्रमका सभापति एवं आदिमकला मञ्चका निर्देशक लब्सन गुरुङले सबैको साथ र सहयोगमा प्रतियोगिता सम्भव भएको र यसले नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुगेको धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप