बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्रकारका लागि लाइसेन्स: पक्ष र विपक्षमा सांसदहरु

मङ्गलबार, १४ माघ २०७६, १८ : ३५
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुले परीक्षा दिनुपर्ने प्रावधानको सत्तापक्ष र विपक्षी दलका नेताहरुले पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका छन् । राष्ट्रियसभाका सदस्यहरुले पत्रकारिता पेशामा नयाँ आउनेहरुका लागि लाइसेन्स परीक्षाको व्यवस्था हुनुपर्ने प्रावधान विधेयकमा राखेको प्रावधानको पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई दिनुपर्ने बताए । दक्षिण एसियाका कुनै पनि देशमा यो अभ्यास नभएको र अहिले नेपालमा यस्तो अभ्यासको आवश्यकता नरहेको उनले बताए । ‘पाठक, दर्शक र स्रोतालाई नै छुट दिनुपर्छ ।

कुन पत्रकारले कस्तो कुरा गर्दैछ भन्ने कुरा पाठकलाई किन नछोड्ने ? यो अनुपयुक्त कुरामा हामीले अभ्यास गरिरहेका छौँ । जुन कुरा साउथ एसिया, बेलायत, अमेरिका कुनै पनि देशमा छैन् । हरेक कुराको परीक्षण हामीले किन गर्ने ? राष्ट्रियसभाबाट यो पास हुने अवस्था छ तर हामी विरोध गर्छौँ’, उनले भने ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट राष्ट्रिसभामा प्रतिनिधित्व गरिरहेका बृखेशचन्द्र लालले पत्रकारीतालाई कुनै घेराभित्र राख्न नहुने बताएका छन् । विधेयक स्वस्थ र मर्यादित पत्रकारिता बनाउनका लागि आएको भएपनि लाइसेन्स लिनुपर्ने प्रवधान राख्न नहुने धारणा उनले राखे । उनले भने, ‘आचारसंहिताको पालना हामीले गर्नुपर्छ भन्ने मुल कुरा हो । तर यसमा लाइसेन्सको कुराले अलिकति अफ्ठ्यारो हुनसक्छ । पत्रकारितालाई एउटा सीमा भित्र नियन्त्रण गर्ने प्रयास भएजस्तो लाग्छ । यसमा राजपा र काँग्रेसले आफ्नो धारणा राखिसकेको छ ।’

यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद दिनानाथ शर्माले पत्रकारहरुको ‘स्ट्याण्डर’ कायम राख्नका लागि यो प्रावधान ल्याइएको बताएका छन् । पत्रकारको पहिचान र स्ट्याण्डर कायम होस् भन्ने हिसाबले यो प्रावधान राखिएको उल्लेख गर्दै उनले यो उपयुक्त र राम्रो भएको बताए । विधेयकका विषयमा पहिले पनि धेरै प्रश्नहरु उठेको सन्दर्भ उल्लेख गर्दै उनले प्रश्न उठाउनेहरुको इज्जतमाथि उठाउने गरी यो व्यवस्था गरिएको बताए । ‘जसरी पहिले धेरै प्रश्न उठे विवाद भयो । प्रश्न उठाउनेहरुको चित्त प्रशन्न हुने गरी, इज्जत माथि उठाउने गरी यो व्यवस्था गरिएको हो । यसले उहाँहरुको स्ट्याण्डर कायम गर्छ’, उनले भने ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने नयाँ व्यक्तिले लाइसेन्स लिनुपर्ने प्रावधान विधेयक पारित गरेपछि यसको विरोध भइरहेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले समेत यस्तो व्यवस्था उपयुक्त नहुने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप