शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२५ प्रतिशतले बढ्यो लक्ष्मी बैंकको नाफा

मङ्गलबार, १४ माघ २०७६, १५ : २९
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । लक्ष्मी बैंकले आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ९० करोड रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ खुद मुनाफा कमाएको जनाएको हो । यो अघिल्लो वर्षको नाफाको तुलनामा करिब २५ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैंकको नाफा ७२ करोड ३७ लाख रुपैयाँ थियो । 

बैंकले पुस मसान्तसम्ममा ८८ अर्ब २३ करोड निक्षेप संकलन गरी ८५ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ८ अर्ब र ११ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप ८० अर्ब ३२ करोड र कर्जा ७४ अर्ब ६१ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैंकको जगेडा कोष २ अर्ब ३० करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा ३ करोड रुपैयाँले मात्रै बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८९ करोडले बढाएर ९ अर्ब ८१ करोड रुपैयाँ पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा १ अर्ब १ करोड रहेको देखिएको छ । 

लक्ष्मी बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब २० करोडबाट बढेर ४ अर्ब ९७ करोड पुग्दा ब्याज खर्च २ अर्ब ७५ करोडबाट ३ अर्ब २३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । कर्मचारी खर्च ४६ करोडबाट बढेर ५९ करोड र अन्य सञ्चालन खर्च करिब २८ करोडबाट ३३ करोड रुपैयाँ पुगेको देखिएको छ । 

पुस मसान्तसम्म सो बैंकको पुँजी पर्याप्तता अनुपात १३.१७ प्रतिशत छ यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । निष्क्रिय कर्जा अनुपातलाई १.११ प्रतिशतबाट ०.८८ प्रतिशतमा झार्न सफल हुनु बैंकको सकारात्मक पक्ष हो । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ ।

पुस मसान्तसम्म यो बैंकको कस्ट अफ फण्ड ७.२१ प्रतिशत र बेसरेट १०.०९ प्रतिशत छ । बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैंकको प्रावधान छ ।

बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.२३ प्रतिशत छ । बैंकले बचत खातामा ५.५ प्रतिशतदेखि ६.५ प्रतिशत र मुद्दति खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा १ प्रतिशतदेखि ६ प्रतिशतसम्म थप गरेर लिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप