शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमसीसीलाई संसदबाट पारित गर्न ढिलाइ गर्न हुँदैन : प्रधानमन्त्री

मङ्गलबार, १४ माघ २०७६, १४ : ३८
मङ्गलबार, १४ माघ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विवाद र बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् । दुनियाँको विकासको गतिलाई पक्रनलाई सरकार र सदनले आफ्ना कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने जिकिर गर्दै प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘हामी अलिकति विलम्ब भएका छौँ । सभामुख चयनमा विलम्ब भयो । अब विलम्ब गर्नुहुँदैन । सरकार, संसदले कामहरु तीव्र गतिमा अगाडि बढाउनुपर्छ । नत्र हामी वास्तवमा पछाडि पर्छौं,’ संघीय संसदअन्तरगत प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नैछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ । छ–सात वटा प्रधानमन्त्रीको कार्यकालहरु गुजार्दै आएर संसदसमक्ष प्रतिक्षा रहेका एमसीसीजस्ता कुराहरु पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् ।’

विकास, विज्ञान–प्रविधि, भौतिक पूर्वाधारजस्ता विषयमा विश्व तीव्र गतिमा अगाडि बढेको जिकिर गर्दै यो तीव्र गतिलाई पक्डन नसके हामी पछाडि परिने प्रम ओलीको भनाइ थियो । ‘ विकासको यस गतिलाई समाउन सकेनौँ भने हामीले समयलाई खेर फालेका हुन्छौँ हामीलाई समयलाई पर्खदैन ।’ उनले विकासको दिशामा देशलाई अगाडि बढाउने कामको नेतृत्व अहिलेको सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले देश अहिले राजनीतिक आन्दोलनको चरण पार गरेर विकासको चरणमा प्रवेश गरेको उल्लेख गरे । अबको एजेन्डा सुशासन र विकास हुनुपर्ने बताउँदै यसमा सबै दल एकताबद्ध अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘हाम्रो समाजको चरित्र पनि मेलमिलाप ढंगले अगाडि बढ्नेछ । हामीले लोकतान्त्रिक प्रणाली स्थापित गरिसक्यौँ । जनतामा सार्वभौम शक्ति आइसक्यो । हामीले लोकतान्त्रिक प्रणाली मात्र नभएर प्रक्रिया अवलम्बन गरेका छौँ । यस्तो अवस्थामा सुशासन र विकासको मुद्दामा सम्पूर्ण प्रयास र विचारलाई केन्द्रीत गरेर अगाडि बढ्नुपर्नेछ,’ प्रम ओलीले भने ।

दलहरु एकताबद्ध भएर अगाडि बढ्दा सफलता र एकताबद्ध नहुँदा असफलता हात पारेको दृष्टान्त अगाडि सार्दै उनले यसमा पनि सबै दल एक भएर अगाडि बढ्नुपर्ने जिकिर गरे । ‘बहुदलमा मतभेद हुनसक्छन् तर हामी आधारभूत र महत्त्वपूर्ण कुरामा एकमत भएर स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि जान सक्छौँ,’ उनले भने, ‘हिजो लोकतन्त्रको आन्दोलनमा साथसाथ अगाडि बढेका थियौँ । हाम्रा तरिका बाटा अलग भए पनि गन्तव्य एउटै थियो । विभिन्न असहमतिका बावजुद सहमतिको विन्दुमा पुगेर आज यो स्थानमा छौँ । ’

‘पछिल्ला समयमा जहाँ हामी एकताबद्ध भएनौँ, त्यहाँ असफलता हात पार्यौँ । निरंकुश रप्रतिगामी कदम हामी एकताबद्ध हुन नसकेको बेला भए,’ उनले भने, ‘एकताबद्ध हुँदा माघ १९ जस्ता कदम र राजतन्त्रको निरंकुश बन्ने सपनालाई पराजित गर्यो ।

प्रम ओलीले दलहरु एकताबद्ध भएर नै संविधान जारी गर्न सकेको र निर्वाचन सम्पन्न गर्न सकेको पनि उल्लेख गरे ।

उनले अब हाम्रो एजेन्डा सुशासन र विकासतर्फ केन्द्रीत गर्न जरुरी रहेको भन्दै यसमा निष्ठापूर्वक लाग्नुपर्नेमा जोड दिए । आजको समय सैद्धान्तिक मतभेदमा अल्झ्निे र ती मतभेदले सत्यलाई अस्वीकार गर्ने जस्ता कुरा गर्न नहुने सुझाव दिए ।

प्रधानमन्त्री ओलीले हाम्रो संसदले प्रभावकारी ढंगले अगाडि बढाउने गम्भीर अभिभारा आएको बताउँदै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई कार्यकालको सफलताको शुभकामना दिएका छन् । ‘सर्वसम्मत निर्वाचित हुुनु खुसीको कुरा हो । यो राम्रो लक्षण हो,’ प्रम ओलीले भने, ‘असहमति विरोधको पक्षहरु रहेनन् । यही भावका साथ संसद आगामी दिनमा अगाडि बढ्नेछ भन्ने आशा गरेका छौँ । यहाँले संविधानको रक्षा गर्दै त्यसको मर्मअनुसार मर्यादित ढंगले संसदलाई अगाडि बढाउनुहुनेछ  भन्ने आशा गरेका छौँ । यसमा सरकारको तर्फबाट पूर्ण सहयोग हुनेछ र सकारात्मक भूमिका रहनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप