शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई टाउके करेत सर्पसम्बन्धी नेपाली अनुसन्धानकर्ताको लेख अमेरिकी जर्नलमा प्रकाशित

मङ्गलबार, १४ माघ २०७६, १४ : २९
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं– सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा र उनको समुहले अध्ययन अनुसन्धान गरेको विश्वकै अनौठो दुई टाउको भएको सर्पसम्बन्धी लेख ‘रेप्टाइल एण्ड एम्फिबियन कन्जरभेसन जर्नल’ (सरिसृप र उभरचर संरक्षण) मा प्रकाशित भएको छ । 

सरिसृप तथा उभरचर संरक्षणमा लेख प्रकाशित गर्दै आएको अमेरिकाबाट प्रकाशित हुने सो जर्नलको जनवरी २०२० को अङ्कमा देवकोटाको अनुसन्धानमुलक लेख समेटिएको हो । 

नवलपुरका जुद्धविर श्रीष मगरले आफनो घरमा देखेको अनौठो करेत सर्प कालिगण्डकी अस्पतालमा लगेका थिए । अस्पतालका प्रमुख एवं सर्पदंश विज्ञ डा. छबिलाल थापाले अनौठो सर्प देखेपछी प्रीजर्ब गरि राखेका थिए । 

सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समुहले सर्पको विस्तृत अध्ययन अनुसन्धान गरि लेख तयार गरेको देवकोटाले बताए । देवकोटा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ अन्तर्गत सर्प विशेषज्ञ समुह (बीपीएसजी)का नेपाल सदस्य हुन् ।

करेत प्रजातीको दुई वटा टाउको भएको सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक तथा नेपालमा पहिलोपल्ट भेटिएको हो । यस अघि दुई टाउके करेत सर्प भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भी.आर. झाको समुहले फेला पारेका थिए । 

नेपालमा भने पहिलो दुई टाउके सर्प जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्पविज्ञ करण बहादुर शाहको समुहले सन् १९८३ मा फेला पारेका थिए । उक्त सर्पको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्रहालयमा राखिएको छ । 

नेपाल टक्सिनोलोजी संघका उपाध्यक्ष समेत रहेका देवकोटा र उनको समुहले अविषालु जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस (ब्यान्डड कुक्र्री) सर्प नवलपुरको दलदले मा फेला पारेका छन । उक्त सर्पको सामान्य अध्ययन गरि चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्जका कर्मचारीको रोहवरमा जिउँदै छाडिएको देवकोटाले बताए ।

दुबै सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेशनल युनिभर्सिटीस्थित ली कोग चेन प्रकृति विज्ञान संग्रहालयमा राखिएको छ । ब्यान्डड कुक्र्रीको बारेमा तयार पारिएको बिस्तृत अध्ययन अनुसन्धान जर्नलमा बुझाइसकेको र जर्नलको आगामी अंकमा प्रकाशित हुने देवकोटाले बताए । 

म्युटेशनका कारण जन्मने यस्ता सर्पलाई लामो उमेरसम्म बाच्न धेरै समस्या हुने गर्दछ । अनौठा सर्पका साथै अन्य सर्पहरु अझै पनि हाम्रो समाजमा अन्धविश्वासका कारण मारिने गर्दछन । सर्प र सर्पको टोकाई सम्बन्धि जनचेतनाको कमीले गर्दा नेपालको तराई भू–भागमा वर्षेनी मानिसहरुको मृत्यु हुने गरेको छ । सर्प सम्बन्धि अध्ययन अनुसन्धान र सचेतनाका कार्यक्रममा बढावा दिनु पर्ने देवकोटा बताउँछन । 

देवकोटा र उनको समुहले विगत ३ वर्षदेखि तराईका रुपन्देही, कपिलबस्तु, नवलपरासी, चितवन, सर्लाही लगायत विभिन्न जिल्लाहरुमा काम गर्दै आइरहेको छ । रुपन्देही जिल्लामा मात्र २३ प्रजातीका सर्प भेटिएको अनुसन्धानकर्ता देवकाटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप