बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुरूप बाटो हुँदै पुगिन्छ ‘स्वर्ग’ जस्तो कालिञ्चोक !

मङ्गलबार, १४ माघ २०७६, १२ : ५७
मङ्गलबार, १४ माघ २०७६

दोलखाको कालिञ्चोक जति सुन्दर छ त्यति नै दुःख पनि छ पुग्न । कतिपयले कालिञ्चोकलाई धर्तीको ‘स्वर्ग’को उपमा दिने गरेका छन् । भनिन्छ, असल काम गर्ने मान्छे मृत्युपछि स्वर्ग जान्छ तर जो कोहीलाई स्वर्ग पुग्न कठिन छ ।

किनकि लोभ, मोह, क्रोध र खिचातानीको जन्जालमा बाँधिएको मान्छेलाई काल्पनिक रूपमा भनिँदै आएको स्वर्गमा पुग्न कठिन छ । तर भौतिक रूपमा जेले आनन्द दिन्छ त्यसलाई नै वास्तविक स्वर्गका रूपमा पनि लिन सकिन्छ । यस्तै आनन्दित बनाउने ठाउँ हो– कालिञ्चोक ।

कालिञ्चोकको दृश्य जति रोमाञ्चक छ त्यहाँ पुग्न पनि उस्तै सकस छ । अर्थात कालिञ्चोक कुरूप सडक छिचोल्दै पुग्नुपर्छ । दोलखाको कालिञ्चोक जाने सडक पूर्वाधारको अवस्था निकै नाजुक छ । साँघुरो कच्ची सडक तथा स्थानीय सिन्डिकेटको बोलबाला छिचोल्दै पुग्नुपर्ने अवस्था छ, कालिञ्चोक ।

यस संवाददातासहितको टोली शुक्रबार कालिञ्चोक पुग्दा यस्तै अनुभूति हुन पुग्यो । काठमाडौँबाट दोलखाको देउरालीसम्म सहजै गाडीमा पुग्न सकिने भए पनि त्यहाँबाट कालिञ्चोक जान असुविधा छ– कारण के भने कच्ची र साँघुरो सडक ।


देउरालीमा नै गाडी पार्किङ गरेर हाम्रो टोली हिँड्दै कुरीभञ्ज्याङ हुँदै कालिञ्चोक भगवती मन्दिरसम्म जाने कि भन्ने सल्लाह भयो । यसैबीच किराना पसल सञ्चालन गर्दै आइरहेका देउरालीका परशुराम तामाङलाई कालिञ्चोक पुग्न लाग्ने समयबारे सोध्दा गाडीमै ६ घण्टा लाग्ने भन्दै ढाँटे । वास्तवमा पैदल हिँडेरै ६ घण्टामा पुगिने रहेछ ।

सबैजनाको पहिलो अनुभव थियो । त्यसैले हिँडेर भन्दा गाडीमै जाँदा ठीक हुने निष्कर्ष निक्लियो । सोहीअनुसार हामीले फेरि सोध्यौँ– गाडी जान्छ कि जाँदैन ?

उनले भने– ‘जस्तो पायो त्यस्तो गाडी जाँदैन । बोलेरो छ, मिलाएर लगिदिन्छौँ । ५ हजार दिनु ।’

देउरालीदेखि कुरिभञ्ज्याङसम्मको दूरी जम्माजम्मी १३ किलोमिटर हो । तर कच्ची बाटो भएकाले झन्डै २ घण्टा लाग्छ । त्यहाँबाट पनि एक घण्टा पैदल हिँडेर कालिञ्चोक भगवतीको मन्दिर पुगिन्छ । तर नयाँ पर्यटकलाई ठग्नैका लागि स्थानीय व्यापारीहरुले गलत सूचना दिने गरेका छन् ।

उनले आफूहरुसँग गाडी रहेको बताउँदा समस्या हुन सक्ने भन्दै नलैजान सुझाए । परशुराम भन्दै थिए, ‘पहिला पनि धेरै गाडी बिग्रेर सास्ती भएको छ । लैजाँदाभन्दा नलैजाँदा राम्रो ।’

त्यहीबेला एकजना प्रहरी आइपुगे । ती प्रहरीले सही सूचना दिएपछि हामी गन्तव्यतर्फ लाग्यौँ ।

देउरालीमा सञ्चालित अधिकांश पसल÷होटल व्यवसायीका बोलेरो गाडी छन् । कुरीभञ्ज्याङ लगिदिने बहानामा उनीहरुले ठग्दै आएका छन् । नाम बताउन नचाहने देउरालीका एक स्थानीयका अनुसार हिउँ पर्न सुरु भएको बेला कालिञ्चोक जानेलाई स्थानीय व्यवसायीले ३० हजारसम्म भाडा असुल्ने गरेका छन् ।

घना जङ्गल र पहाडको चट्टान हुँदै कुरीभञ्ज्याङ नपुगेसम्म बाटोमा कतै पसल नभेटिँदो रहेछ । तर गाडी र मान्छेको आवतजावत भने बाक्लो । कुरीभञ्ज्याङ नजिकै गाडी पार्किङ गर्ने ठाउँसम्म थिएन । जथाभावी गाडी पार्किङ गरिएको थियो । कच्ची बाटो झनै मान्छेको भीड । लाग्थ्यो कि, त्यहाँ स्थानीय सरकार नै छैन ।

कुरीभञ्ज्याङ आसपासको बाटो निकै जोखिमपूर्ण छ । ढुङ्गा बिछ्याइएको सडक धेरै उकालो छ । देउराली फेदीबाट कुरीभञ्ज्याङसम्म जेनतेन गाडी त जान्छ तर त्यहाँबाट हिँडेर जानुको मज्जा भने बेग्लै छ ।

सडकमा भएको खाल्डाखुल्डीको कुनै हिसाब किताब छैन । खाडलका कारण साना सवारी आवतजावत गर्न निकै कठिन छ । सडक नबन्दा स्वर्गजस्तो कालिञ्चोक जानको लागि कुरूप मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सडककै कारण त्यहाँ चल्ने अधिकांश गाडीहरु छिट्टै बिग्रिने गर्छन् । मेन्टिनेन्समा पनि धेरै खर्च लाग्छ । अर्को कुरा त सवारी बिग्रिहाल्यो भने बनाउने ग्यारेज छैन । टाढाबाट मेकानिक बोलाउनुपर्ने बाध्यता छ ।

यसरी बुझौँ कि कालिञ्चोकको यात्रा असुरक्षित छ । घच्याक घच्याक खाल्डाहरुले यात्रीलाई याद दिलाउँछ, सावधान यो कालिञ्चोक जाने बाटो हो भनेर ।

पहिले कालिञ्चोकसम्म सडक सञ्जाल थिएन । काठमाडौँबाट दोलखा सदरमुकाम चरिकोटसम्म एक दिन र अर्को पूरै दिन पैदल हिँडेर कालिञ्चोक मन्दिर दर्शन गर्न जानुपथ्र्योे । तर अहिले कालिञ्चोक फेदीसम्म जेनतेन मोटरबाटो पुगेको छ । तर मोटरबाटो नाम मात्रको छ ।  यद्यपि कठिन यात्राका बीच पनि कालिञ्चोक पुग्दा स्वर्गीय आनन्द आउँछ ।

कालिञ्चोकको प्राकृतिक सौन्दर्यका अघिल्तिर त्यहाँ पुग्ने दुःख–कष्ट निकै फिका लाग्छ । आँखाअगाडि मुस्कुराइरहेझैँ लाग्ने हिमाल, सबै कष्ट बिर्सिएर एकनास हाँसिरहे सरह लाग्ने आकाशले कसलाई पो पुलकित नगराउला र !

कुरी भञ्ज्याङबाट कालिञ्चोक भगवती मन्दिरसम्म जान केबलकार पनि सञ्चालनमा आइसकेको छ । केबलकारबाट करिब १० मिनेटमा कालिञ्चोक डाँडा पुगिन्छ । केबलकारबाट ओर्लेर पनि १० मिनेट हिँडेपछि मात्रै मन्दिर पुगिन्छ । 

मन्दिर परिसरबाट चारैतिर नियाल्दा साह्रै रमाइलो देख्न सकिन्छ । मन्दिरबाट देखिने हिमाल, डाँडाकाँडा, घना जङ्गल र ठूला–ठूला घाँसे मैदानमा देखिने हिँउले जोकोहीलाई पनि मोहित पार्छ ।

यतिबेला कालिञ्चोकमा आन्तरिक र बाह्य पर्यटकको भीड छ । सबैतिर हिउँले ढाकिएको कालिञ्चाकमा कालिञ्चोक भगवती दर्शन गर्न भारतीय पर्यटकको पनि आकर्षण देखिन्छ ।

जाडोे मौसममा दिनहुँ ५ हजारभन्दा बढी मानिस कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न आउने गरेको भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले जानकारी दिइन् ।

कालिञ्चोक दोलखाको भीमेश्वर नगरपालिका–६ मा पर्छ । कालिञ्चोकमा मङ्सिरदेखि फागुनसम्मै हिउँ पर्ने गर्छ ।

सबै कुरा राम्रो दोलखाको तर कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने सडकको कारण धेरै दर्शनार्थीहरुले निकै दुःख पाउने गरेका छन् । भ्रमण वर्ष २०२० चलिरहँदा यसप्रति सरोकारवाला निकायहरुले ध्यान दिन सके यहाँ पर्यटकको आवागमन थप बढ्ने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप