शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिन्दू र मुस्लिमका सद्भाव ‘मुसबेटवा बाबा’

मङ्गलबार, १४ माघ २०७६, १२ : ३८
मङ्गलबार, १४ माघ २०७६

बाँकेको खजुरा गाउँपालिका–३ मा मुसबेटवा बाबाको मन्दिर छ । यस मन्दिरले हिन्दू र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको छ ।

मनोकांक्षा पूरा विश्वासका कारण दुवै समुदायका व्यक्ति यस मन्दिरमा दर्शन गर्न पुग्छन् । मुसबेटवा बाबासँग मागेको कुरा पूरा हुने धार्मिक विश्वास हिन्दू र मुस्लिम दुवै समुदायमा छ । 

सरस्वती पूजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दू र मुस्लिम दुवै धर्मालम्बीको भीड लाग्ने गर्छ । हिन्दू र मुस्लिम धार्मिक सहिष्णुता झल्काउने ऐतिहासिक मुसबेटवा बाबा मन्दिरलाई साझा धार्मिकस्थलका रुपमा लिनुका साथै धार्मिक सहिष्णुताका रुपमा दुबै धर्मका समुदायको उच्च आस्था रहेको खजुराका युवा समाजसेवी सतिश निरौलाको भनाइ छ । 

करीब ५५ वर्षभन्दा पहिलेदेखि मुसवेटवा बाबा मन्दिरमा हिन्दू मुस्लिम दुवै समुदायले पूजाआजा गर्दै आएका छन् । “यहाँ २०२३ सालदेखि नै हिन्दू र मुस्लिम समुदायले पूजाआजा गर्दै आएको किंवदन्ती रहेको छ”, समाजसेवी निरौलाले भन्नुभयो । उहाँका अनुसार मुसबेटवा बाबासँग मागे पूरा हुने धार्मिक विश्वास हिन्दू र मुस्लिम दुवैमा रहेको छ । 

हिन्दू र मुस्लिम दुवै धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा धार्मिक र ऐतिहासिक महत्व बोकेको मुसबेटवा बाबा मन्दिरको ऐतिहासिक महत्व दर्शाउन संरक्षण जरुरी रहेको समाजसेवी निरौलाले बताए। “मन्दिरले हिन्दू र मुस्लिमबीच सद्भाव कायम गराएको छ । जहाँ दुवै धर्मावलम्बी पूजाआजा गर्छन्”, उनले भने । 

यहाँ पुस्तौँदेखि नै यो सद्भाव र सहिष्णुता चल्दै आएको छ । मन्दिरको नाम रहेको जग्गा अतिक्रमणले मेला लगाउने ठाउँ खुम्चिँदै गएको छ । “हिन्दू र मुस्लिम समुदाय साझा धार्मिकस्थलका रुपमा रहेको मुसबेटवा बाबा मन्दिर संरक्षण गर्नुपर्ने ठूलो चुनौती रहेको सिर्जना भएको स्थानीयको भनाइ छ । 

मुसबेटवा बाबा धार्मिक तथा ऐतिहासिक महत्वलाई प्रचारप्रचार गर्नसकेमा आन्तरिक तथा पर्यटनको सम्भावना रहेको छ । “यो संसारकै यस्तो ऐतिहासिक महत्व भएको स्थान कमै पाइन्छ । जहाँ दुई धर्म आस्था जोडिएको हुन्छ”, स्थानीय राम सोनकरले भने, “यसको ऐतिहासिक तथा धार्मिक महत्वबारे प्रचारप्रसार गर्न स्थानीय तहले पनि ध्यान दिनुपर्छ ।” 

हिन्दू र मुस्लिम दुवै समुदायका व्यक्तिले प्रत्येक वर्ष मुसबेटवा बाबालाई च्यादर चढाउँछन् । मुसबेटवा बाबालाई च्यादर चढाएमा मागेको कुरा पुग्छ भन्ने दुवै धर्मावलम्बीको विश्वास छ । चाहे हिन्दू होस् या मुस्लिम, दुवै समुदायलाई धार्मिकरुपमा मुसबेटवा बाबाले एकतामा बाँधेर आपसी सद्भावलाई बलियो बनाएको स्थानीयको भनाइ छ ।

मन्दिरका संरक्षक मो। कलिम शाहले दुवै धर्मका मानिसले मुसबेटवा बाबाको पूजा गर्ने गरेको बताए । उनले भने, “२५ वर्षदेखि म यहाँ छु । यहाँ धेरै त हिन्दूहरु आएर च्यादर चढाउनुहुन्छ ।” पहिला जङ्गल हुँदासमेत मानिस आएर यहाँ मेला लगाउने गरेको कुरा बूढापाका बताउँछन् । 

स्थानीय ह्यात अलि बठुवाले भने, “मेरो तीन पुस्ताले यहाँ च्यादर बेचेको छ । बाजेले च्यादर बेचे, “बुबाले बेच्नुभयो, अहिले म पनि च्यादर बेच्दाबेच्दै बूढो भइसके । यो मन्दिर कति पुरानो हो भन्ने यकिन छैन । यहाँ पहिले घना जङ्गल थियो रे, त्यही जङ्गलको बीचमा यो मजार । टाढा टाढा मेला भर्न यसबेला मान्छे आउथे भनेर मेरा बा बाजेले भन्नुहुन्थ्यो ।”
    
बठुवाका अनुसार दुई छुट्टाछुट्टै धर्म मान्ने धर्मावलम्बीको साझा भगवान्का रुपमा मुसबेटवा बाबालाई लिइन्छ । यस मन्दिरले ‘धर्म जे भए पनि भगवान सबैका एक हुन्’ भन्ने पनि देखाएको छ । साथै मुसबेटवा बाबाले दुई धर्मबीचको धार्मिक एकतालाई थप मजबुत बनाएको भन्ने पनि दर्साउँछ । यस कारण ऐतिहासिक महत्व बोकेकाले यसको संरक्षण जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप