बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध : मन्त्रीले भने, ‘मेलम्ची–२ बनाउन खोजिदैछ’

मङ्गलबार, १४ माघ २०७६, १० : ४१
मङ्गलबार, १४ माघ २०७६

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधिन बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा फेरि अवरोध आएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माणस्थलको अनुगमन गरेका छन् ।

उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बञ्चरेडाँडामा निर्माण कार्य ठप्प भएपछि मन्त्री मानन्धर सडक विभागका इन्जिनियरहरुसहित निर्माणस्थल पुगेका हुन् ।

बञ्चरेडाँडालाई ‘मेलम्ची–२’ बनाउन खोज्नेहरु सलबलाईरहेको बताउँदै मन्त्री मानन्धरले राज्यको लगानीमाथि खेलवाड गर्नेहरुलाई कारबाही गरिछाड्ने बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न र प्रधानमन्त्रीको सपना साकार पार्न यो परियोजना तोकिएकै समयमा सक्नुको विकल्प नभएको बताउँदै मन्त्री मानन्धरले आयोजनालाई दुहुनो गाई बनाउन खोज्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

‘मेलम्ची खानेपानी आयोजना सकिन कति वर्ष लाग्यो ? यस अघि दर्जनौँ सरकार आए, तर कम्युनिस्ट सरकारहरु नै जनताप्रति उत्तरदायी भएर काम गरेको इतिहास छ,’ मन्त्री मानन्धरले भने, ‘बञ्चरेडाँडालाई पनि मेलम्चीकै हालतमा पु-याउन खोज्नेहरु सलबलाइरहेका छन् । अब मेलम्चीको पानी काठमाडौंमा आउन रोक्नेहरुको र बन्चरेमा फोहर व्यवस्थापनमा अवरोध गरेर उपत्यकालाई सर्वसम्पन्न सहर निर्माण हुन नदिनेहरुको दिन सकिए । किनकी नेपालमा नेकपाको सरकार छ । हामी जनताको सेवक हौँ ।’

मन्त्रीसहितको टोली पुग्दा निर्माण स्थलमा क्रसर उद्योगले गिटी, बालुवा र ढुंगा पैठारी गरिरहेको पाइएको छ । ल्याण्डफिल्ड साइट निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागको हेलचक्राईंका कारण निर्माण स्थलमा अवरोध आएको स्थानीयले आरोप लगाएका छन् ।

गत पुस पहिलो साता मन्त्री मानन्धरसँगै बन्चरेडाँडा पुगेका सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल र आयोजना निर्देशक पदम मैनालीले फागुन पहिलो साताभित्र फोहर व्यवस्थापन गर्नेगरी तीन सिफ्टमा काम गर्ने प्रतिबद्वता जनाएका थिए । तर विभागकै कारण काम रोकिएपछि स्थानीय थप आक्रोशित बनेका छन् ।

सोमबार मध्यान्ह मन्त्री मानन्धरसँगै सडक डिभिजन कार्यालय काठमाडौंका डिजी कुबेर नेपाली, इन्जिनियर अशोक शाक्य र मधुसुदन लामिछाने पनि पुगेका थिए ।

बञ्चरेडाँडासम्म पुग्ने सडक पिच तत्काल गर्नेगरी काम अघि बढाइएको नेपालीले बताए । बञ्चरेडाँडा पुग्ने छोटो दुरीको सडक निर्माणका बारेमा पनि अध्ययन थालिने छ ।

मन्त्री मानन्धर गत बिहीबार पनि एक्लै आयोजना स्थल पुगेका थिए । मन्त्री मानन्धरले आयोजना स्थलमा देखिएको अवरोध अन्त्यका लागि पहल स्वरुप बञ्चरेडाँडा गएको बताए । ठेकेदारले काम रोकेको खबर पाएपछि अनुगमनमा गएको बताउँदै मन्त्री मानन्धरले आयोजना सम्पन्न गर्नका लागि बजेटको अभाव नभएको बताए ।

काम रोक्ने ठेकेदार र आयोजना प्रखुखसँग मन्त्रीले स्पष्टिकरण लिने तयारी गरेका छन् ।

आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । आयोजना सम्पन्न गर्न सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप