बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

मङ्गलबार, १४ माघ २०७६, १० : ०१
मङ्गलबार, १४ माघ २०७६

चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ । 

डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे ।

मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराइनेछ । 

गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो । आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो । घर नजिकै पुग्ने बेलामा चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर तल खोल्सामा फेला परेको थियो ।

चितुवाको आक्रमणबाट तनहुँमा २० महिनाको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीति रहेको छ । यसअघि मृत्यु भएका सबै बालबालिकाका परिवारलाई राहत रकम प्रदान गरिसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप