शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सौराहामा पर्यटकको चहलपहल शुरु

शुक्रबार, ०९ भदौ २०७४, १४ : ३५
शुक्रबार, ०९ भदौ २०७४

 

चितवन -पर्यटकको आगमन शुरु भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ । 

साउन २९ गते राति बाढीले अधिकांश होटल डुबानमा परेपछि त्यहाँ रहेका पर्यटकलाई उद्धार गरिएको थियो । डुबानका कारण होटलमा रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याँक छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार त्यहाँका ११० वटा होटलमध्ये आधाभन्दा बढी पुनः सञ्चालनमा आएका छन् । राप्ति नदी छेउमा नै रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव परेको थियो । 

आंशिक प्रभावमा परेका धेरैजसो होटल मर्मत सम्भार गरी पुनः सञ्चालनमा आएको उहाँले बताउनुभयो । बाढी गएका दिन सौराहामा ६०० पर्यटक रहेका थिए । त्यसपछिको दुई साता न्यून पर्यटकमात्र रहेका थिए । आजसम्म आइपुग्दा पर्यटकको संख्या दैनिक एक सयजना नाघेको घिमिरेले बताउनुभयो । उक्त समयमा भएका बुकिङ रद्ध हुँदा रु चार करोडभन्दा बढी नोक्सान भएको उहाँले बताउनुभयो । आउँदो साताबाट क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीले गरेका छन् । 

होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले कोठामा पानी नपसेकाले बाढी गएको तेस्रो दिनबाटै होटल सञ्चालनमा आएको बताउनुभयो । सौराहाका १५ वटा होटलले बाढी गएको तीन दिनपछि नै सेवा शुरु गरेका थिए । दुवाडीले आज पनि होटलमा १० जना पर्यटक रहेको बताउनुभयो । बाढी गएका दिन सो होटलमा ५७ जना पर्यटक रहेका थिए । 

पर्यटकको चहलपहल शुरु भएपछि सौराहामा हात्ती, जिप, डुंगा सफारी शुरु भइसकेको छ । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने अवरोधले सौराहामा पर्यटन क्षेत्र प्रभावित भएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप