बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : काँग्रेस पार्टी कार्यालयमा हानाहान, आस्था राउत ४ दिन हिरासतमै

सोमबार, १३ माघ २०७६, २१ : २१
सोमबार, १३ माघ २०७६

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका छन् । 

पदभारग्रहण पछि आफ्नो कार्यकक्षमा पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले आफ्ना विरुद्ध सडकमा भइरहेको प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताए । 

 सभामुख सापकोटाले लोकतान्त्रिक प्रकृयामा विरोध र समर्थन हुनु स्वभाविक भएको बताए । सापकोटा सभामुखमा निर्वाचित भएसँगै मानवअधिकारवादीहरुले विरोध जनाइरहेका छन् । सोमबार मात्रै सभामुख सापकोटा विरुद्ध प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ । 

सापकोटाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सबै सांसदहरुको धारणा समेटेर अगाडि बढ्ने बताएका छन् । 

 एमसीसीका विषयमा बाहिर बहस चलिरहेपनि आफूले अध्ययन गर्नै बाँकी रहेको र अध्ययनपछि मात्रै केही भन्न सक्ने अवस्था हुने उनले बताए ।  

प्रधानमन्त्रीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा सापकोटाले यसलाई अन्यथा नलिन आग्रह गरे । 

 सपथग्रहणपछि सबैको साझा भएपनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेटनु स्वाभाविक भएको उनले बताए । 

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

यसैबीच नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छिन् । 

आइतबार सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी हुन् ।  यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरेकी थिइन् । सो क्रममा राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको बताइएको छ ।  नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कुटनीतिक नियोगको पहिलो व्यक्ति हुन् । 

मुद्दा हेर्दाहेर्दैमा

यता, सभामुख सापकोटाविरुद्धको मुद्दामा सोमबार सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए।  

काँग्रेसमा फेरियो अधिवेशनको कार्यतालिका
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकले ११ पुसमा बसको केन्द्रीय समितिबाट बहुमतका आधारमा  गरिएका केही निर्णय सच्याएको हो ।

महाधिवेशको मिति २०७७ फागुन ७–१० लाई कायम राखेर तालिका तहको अधिवेशन तालिका संशोधन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । संशोधन गरिएको कार्यतालिका अनुसार वडा अधिवेशन – १६ कात्तिक, गाउँ तथा नगरपालिका अधिवेशन – १८ कात्तिक र ३३० क्षेत्रीय अधिवेशन – २१ कात्तिकका लागि तय गरिएको छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्र र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन – २१ कात्तिक र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन – २३ कात्तिक हुने छ ।
 यता ७ प्रदेशको अधिवेशन–२९ मंसिरका लागि तय गरिएको छ । बैठकले ७ सदस्यीय क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि गरेको छ । यसअघि मंसिरबाट सुरु हुने गरी तल्लो तहको अधिवेशनकाको कार्यतालिका तय गरिएको थियो । यसअघि मंसिरबाट सुरु हुने गरी तल्लो तहको अधिवेशनकाको कार्यतालिका तय गरिएको थियो ।

संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा छलफल भएको थियो । सदस्यमा सभापति शेरबहादुर देउवा पक्षबाट ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला  पक्षबाट एक जनालाई समावेश गरिने छ ।समितिका संयोजक र सदस्यहरुको मनोनयन सभापतिले आवश्यक परामर्श गरी गर्ने छन् । 

पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जन सहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय भएको छ । अर्को बैठक माघ  २३ गते बोलाइएको छ ।

त्यसैगरी पार्टीको क्रियाशील सदस्यता वितरण गर्नु अघि माघ मसान्तसम्ममा पार्टी विधानको दफा ७२ बमोजिम तल्लो तहमा अन्तरिम संरचना समायोजन गर्न बाँकी कार्य टुंगो लगाउने सहमति भएको छ। यसअघि विवाद चर्किएर नगएको भए उक्त समायोजनको प्रक्रिया पुसभित्रै गरिसक्ने कार्यतालिका रहेको थियो।

त्यसपछि लगत्तै फागुन र चैतभित्रमा क्रियाशील वितरण र नविकरण विधान बमोजिम गरिसक्ने र त्यसपछि चरणबद्ध रुपमा क्रियाशील सदस्यतामाथिको दाबी विरोध, छानविन लगायतका प्रक्रिया साउन भित्र सक्ने तयारी काँग्रेस गरेको छ।

यस्तै अब बन्ने समितिले १३ औं महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको समितिलाई दिएको टीओआर नै दिने सहमति यसअघि नै भएको छ ।

काँग्रेसमा हानाहान 

नेविसंघमा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए । सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएका छन् ।  अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ । 
यसैबीच दुई पक्षबीच सोमबार बेलुका पनि झडप भएको छ । 

अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह गरेका छन् । 

अर्थ समितिको सोमबारको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोष नाफा कमाउने उद्देश्य राखेपनि बैंकहरु जस्तो नाफा मुखि संस्था नभएकाले यसको पूँजी कम भएपनि फरक नपर्ने बताए । उनले ट्रष्टी संस्थाको रुपमा बचतकर्ताको योगदानलाई फाइदा दिने गरी कोषले काम गर्ने बताए ।  उनले सर्वसाधारणको समेत सहभागिता होस भन्ने उद्देश्यले २० प्रतिशत स्वामित्व सर्वसाधारणको राख्ने व्यवस्था गरिएको बताए । 

पर्यटन मन्त्री भट्टराई

पर्यटन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । 

सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई कोरोना भाइरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । 

उनले नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइरसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताए ।  त्यसका लागि पर्यटकहरु आउने नाकाहरुमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका हुन् । 

मन्त्री भट्टराईले पर्यटकीय क्षेत्र पोखरा, लुम्बीनि, चितवन, जनकपुर, पशुपतिनाथ लगायतका ठाउँमा पर्यटकहरु पुग्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरे । 

 उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेडिकेटेड हेल्थ डेस्क राखिएको भन्दै पहिला सानो भएको डेस्कमा अहिले कोरोना भाइरसलाई ध्यान दिंदै थप कोठा उपलब्ध गराउने र इक्युपमेन्ट राख्ने काम भइसकेको समेत बताए । 

कोरोना संक्रमित 

त्यसैगरी, नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको प्रमाणित भएको छ । नोबेल कोरोना भाइरसको शंकामा स्याम्पल परीक्षणका लागि हङकङ पठाइएका २ जनामध्ये एक जनामा सो भाइरसको संक्रमण भएको प्रमाणित भएको हो ।  

यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । ल्याब टेष्टका लागि हङकङ पठाइएको स्याम्पल रिपोर्टमा नोबेल कोरोना भाइरस देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । योसहित नेपालमा २ जनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको छ । संक्रमितलाई अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।चीनको हुवानबाट सुरु भएको सो भाइरसको संक्रमणबाट चीनमा हालसम्म ८१ जनाको ज्यान गइसकेको छ । करिब २ हजार ७ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । 

मन्त्री पद्मा अर्याल

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले बालुवाटार स्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताएकी छिन् । 

मन्त्री अर्यालले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र मन्त्रालयले काम गरिरहेको र केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन् । तर अवको केही दिनमा कारबाही गर्ने उनले बताइन् ।  

मन्त्री अर्यालले देशभर जग्गाको व्यवस्थापन गर्न कठिन हुँदै आएको समेत बताइन् । 

मन्त्री अर्यालले सार्वजनिक सरकारी जग्गा जाँचबुझ आयोगले दिएको प्रतिवेदन अनुसार कुल ४ सय ४६ विगाहा ४३ रोपनी जग्गा फिर्ता गर्नुपर्ने बताइन् । 

त्यसैगरी, अहिले सम्म १ सय ८ वटा मालपोत कार्यालयमा अनलाइन सम्पन्न गरिएको र बाँकी कार्यालयलाई पनि अनलाइन गरिने कार्यलाई तिब्रता दिइएको बताइन् । 

आस्था राउत 

जिल्ला प्रशासन कार्यालय काठमार्डौले गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति दिएको छ ।  प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत प्रशासन समक्ष म्याद थपका लागि अनुरोध गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
 सामाजिक सञ्जाल फेसबुकबाट प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि प्रहरीले आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

 पुर्जी जारी भएपनि राउत सोमबार बिहान आफै प्रहरी कार्यालयमा उपस्थित भएकी थिएन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवानसँग माघ १ गते राउतको विवाद भएपछि फेसबुक मार्फत प्रहरीलाई अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको थियो । राउतसँग विवाद भएपछि प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप