बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी अनुदानबारे वर्तमान सम्झौता जस्ताको त्यस्तै पास गरिनुहुँदैन : साझा पार्टी

आवश्यक संशोधनको लागि कार्यदल गठन गर्न सुझाव
सोमबार, १३ माघ २०७६, १४ : ४३
सोमबार, १३ माघ २०७६

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत नेपाललाई दिने भनिएको अनुदानको वर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनुहुँदैन भन्ने पार्टीको अडान रहेको साझा पार्टीले स्पष्ट पारेको छ ।

एमसीसीबारे साझा पार्टीको धारणाका सम्वन्धमा व्यापक टिकाटिप्पणी भएपछि पार्टीले आफ्नो धारणालाई अझ स्पष्ट पार्न यो विज्ञप्ती जारी गरेको हो ।

तीन हप्ताअघि सार्वजनिक गरिएको विज्ञप्तीमा साझा पार्टीले नेपालको ‘परराष्ट्र नीति र राष्ट्रिय स्वार्थमा कुनै प्रकारको आँच नआउने सुनिश्चितता गर्दै एमसीसी परियोजनालाई स्वीकृत गरिनु पर्ने’ उल्लेख गरेको थियो ।

पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको कानूनसँग बाझिने वा नेपालको कानून अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो मुलुकको सहमति लिनु पर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत देखिन्छन् । यस्ता संवेदनशील विषयहरूको निरूपण बिना सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त देखिँदैन ।’

राजनीतिक तह र जनस्तरमा समेत ध्रुवीकरण निम्त्याएको यो मुद्दाको ठोस निरूपण केहि समाचारमा आएजस्तो संसदको संकल्प प्रस्तावबाट हुन नसक्ने पार्टीको ठहर छ ।

वर्तमान विवादले संयुक्त राज्य अमेरिकासँग लामो समयदेखि रहिआएको नेपालको सुमधुर सम्बन्धमा नै तिक्तता उत्पन्न गराउने खतरा निम्त्याएकोमा पार्टीले चिन्ता पनि व्यक्त गरेको छ । ‘यो सुखद विषय होइन । त्यसको मूल कारण वैदेशिक सहयोगका विषयमा राजनीतिक तहमा रहेको अस्पष्टता, नेपाल सरकारको कमजोर तयारी र संवाद तथा एमसीसीको पक्ष  रविपक्षमा आइरहेका अतिरञ्जित तर्क, वितर्क नै हुन् । यसबाट सबैले पक्षले पाठ सिक्न जरूरी छ,’ पार्टीले विज्ञप्तीमा भनेको छ ।

यो जटिलता सुल्झाउन साझा पार्टी नेपाल सरकारलाई सम्वन्धित पक्षसँग तुरून्त कुटनीतिक संवाद अगाडि बढाउन आग्रह गरेको छ । साथै नेपालको बृहतर हितलाई केन्द्रमा राखी प्रस्तावित सम्झौताको समीक्षा र आवश्यक संशोधनको सुझावका लागि विषय विज्ञ र सरोकारवाला संलग्न एक कार्यदल गठन गर्नु उपयुक्त हुने साझा पार्टीको निष्कर्ष रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप