शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेवि सङ्घमा तदर्थ समिति आउँदै : यी हुन् पदाधिकारी

नयाँ कमिटीविरुद्ध आमरण अनशनको तयारी
सोमबार, १३ माघ २०७६, १३ : ३४
सोमबार, १३ माघ २०७६

काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)ले ११ महिना १५ दिनपछि नयाँ नेतृत्व पाउँदै छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा गत शुक्रबार भएको शीर्ष नेताहरुबीचको सहमतिअनुसार नयाँ कमिटी ल्याउन लागिएको हो । नेवि सङ्घको तदर्थ समिति १२७ सदस्यीय हुनेछ ।

जसमा सभापति देउवा पक्षबाट सभापतिसहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एउटा कोषाध्यक्ष र ४० जना सदस्य रहनेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्य रहनेछन् । यता कृष्णप्रसाद सिटौला पक्षबाट २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य रहेछन् ।

नेवि सङ्घका विषयमा उपसभापति विजय गच्छदारको समूहसँग छुट्टै डिल हुनेछ । तदर्थ समिति बनिसकेपछि गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइनेछ । आज अपराह्न नेविसङ्घको तदर्थ समितिको घोषणा गर्न लागिएको हो ।

नेवि सङ्घको नेतृत्व सम्हाल्ने तयारीमा रहेका राजीव ढुङ्गानाका अनुसार नेविसङ्घले पूर्ण कमिटी पाउने केही दिन लाग्ने छ । आज सभापति र महामन्त्रीसहितको कमिटी मात्र आउने छ ।

देउवा पक्षबाट सभापतिमा ढुङ्गाना, महामन्त्रीमा शुभराम बस्नेत, मनोज वैद्य र महेश्वरी कुँवरले नेवि सङ्घमा जिम्मेवारी पाउँदै छन् ।

ढुङ्गाना र वैद्य सभापति देउवाको रोजाइका व्यक्ति हुन् भने बस्नेत महामन्त्री पूर्णबहादुर खड्का र कँुवर देउवा पत्नी आरजु राणाकी ।

देउवा पक्षमा अन्य पदाधिकारी र केन्द्रीय सदस्यको भने टुङ्गो लागेको छैन । यता वरिष्ठ नेता पौडेल पक्षले पनि महामन्त्रीको टुङ्गो लगाएको छ ।

वरिष्ठ नेता पौडेलले दीपक भट्टराई, पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रकाश राना मगर र महामन्त्री शशांक कोइरालाले उर्मिला थपलियालाई सिफारिस गरेको स्रोतले जनाएको छ ।

उपाध्यक्ष र सहमहामन्त्रीमा रघु कार्की, जेनुका राना मगर, ममता महतो, हरिहर शर्मा, सोपाम बोहोरा, दीपक भण्डारी, आरसी भट्टराई, गोकुल सापकोटा, विश्व लामा, नितिकेन्द्र श्रेष्ठ र सुनिल शाहको नाम चर्चामा छ । कसलाई कुन जिम्मेवारी दिन भन्ने पौडेल पक्षले कुनै टुङ्गो लगाउन सकेको छैन ।

यता सिटौला पक्ष भने महामन्त्रीमा बलदेव तिमल्सिना र मुक्ति पौडेलको नाम टुङ्ग्याएको छ ।

जसमा तिमल्सिना गगन थापा र पौडेललाई प्रदीप पौडेलले सिफासिर गरेको बुझिएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यको कुनै टुङ्गो लागेको छैन । साथै सिटौला समूहमा पूर्वमहामन्त्री कुन्दनराज काफ्ले टोलीलाई मनाउन निकै सकस परेको छ । काफ्ले टोली आमरण अनशनको तयारीमा जुटेको छ ।

४१ दिनदेखि पार्टी कार्यालय सानेपामा रिले अनशनमा रहेको सो समूहले विधानविपरीत तदर्थ समिति ल्याउन लागिको भन्दै रिले अनशनलाई आमरण अनशनमा रूपान्तरण गर्न लागेको हो । नेवि सङ्घको विधानमा ३२ वर्ष उमेर हदको व्यवस्था गरिएको छ ।

अनशनकारीलाई मनाउन सिटौला समूहले हिजो दिनभर प्रयास गरेका थियो । गगन, प्रदीप कुन्दनबीचको छलफलमा सहमति हुन सकेन ।

अनशनकारीलाई अनशन स्थगित गर्न वरिष्ठ नेता पौडेल, सिटौला र महामन्त्री खड्काले पनि आग्रह गरिरहेको बुझिएको छ । तर उनीहरु आमरण अनशनको तयारीमा पुगेका छन् ।

यता, ढुङ्गानाले नेताहरुसँग छलफल भइरहेको भन्दै समावेशी ढङ्गले कमिटी ल्याउने तयारी भइहरको बताए ।

को हुन् ढुङ्गाना ?

विद्यालय पढ्दै गर्दा ०४३ बाट ढुङ्गानाको काँग्रेस यात्र सुरु भयो । त्यसपछि ०४६ को जनआन्दोलनमा पनि उनी सहभागी भए । ०४६  मै १६ वर्षको उमेरमा उनी नेवि सङ्घ सुनसरीको जिल्ला सदस्य भए । त्यसपछि ०४९ मा उनी सुनसरीको जनता क्याम्पसमा स्ववियु अध्यक्षमा उठे । तर पराजित हुन पुगे । ०५२ मा उनी नेवि सङ्घ सुनसरीको सचिव पनि भए । ०५७ मा ढुङ्गाना नेवि सङ्घको केन्द्रीय राजनीतिमा प्रवेश गरे ।

०५७ मा भएको नेविसङ्घको ८औँ महाधिवेशनबाट वर्तमान पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेवि सङ्घको सभापतिमा निर्वाचित हुँदा उनी केन्द्रीय सदस्य निर्वाचित भए । ०५९ मा काँग्रेस विभाजित भयो । अनि देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिक निकट नेवि सङ्घको तदर्थ समिति सभापति किशोरसिंह राठौर बने । पछि २०६४ जेठ ८ गते पार्टी विभाजनकै बेला संस्थापन नेवि सङ्घको चितवनमा भएको महाधिवेशनबाट प्रदीप पौडेल अध्यक्ष हुँदा सोही वर्ष असार २६ गते नेपालगन्जमा प्रजातान्त्रिक (देउवा खेमा) नेवि सङ्घमा कल्याण गुरुङ अध्यक्ष बनेका थिए । गुरुङ नेतृत्वको नेविसङ्घमा ढुङ्गाना कोषाध्यक्ष बनेका थिए । पार्टी एकीकरणपछि २०६४ असोजमा पौडेल नयाँ अधिवेशन गर्ने जिम्मेवारीका साथ तदर्थ समिति अध्यक्ष बन्दा ढुङ्गाना उपाध्यक्षमा बने ।

महाधिवेशन गर्न नसकेपछि पौडेललाई हटाएर २०६८ फागुनमा रञ्जित कर्णलाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनको जिम्मा दिइएको थियो । त्यसपछि ढुङ्गाना नेवि सङ्घको राजनीतिबाट किनारा लागेका थिए । तर, ११औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महरको कार्यसमितिले राजीनामा दिएपछि ढुङ्गाना फेरि नेवि सङ्घ राजनीतिमा फर्किएका छन् । उनको नेतृत्वमा आज नेवि सङ्घको तदर्थ समिति आउँदै छ ।

ढुङ्गानाका अनुसार पार्टीको केन्द्रीय समिति बैठकपछि सभापति देउवाको निर्देशनमा प्रवक्ता शर्माले नेवि सङ्घ तदर्थ समितिको घोषणा गर्दैछन् । प्रदेश १  नयाँ सारथीको खोजीमा रहेका देउवाले ढुङ्गानालाई अगाडि सारेको बुझिन्छ । प्रदेश १ बाट पार्टीमा कोइराला परिवारको बलियो उपस्थिति रहेकाले देउवाले ढुङ्गानालाई अगाडि सारेको काँग्रेस वृत्तमा चर्चा हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप