शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भान्सामा इन्डक्सन चुल्हो : महसुल नघटे झनै महँगो पर्छ बिजुली

अहिलेकै पूर्वाधारले सम्भव छैन इन्डक्सनको प्रयोग
सोमबार, १३ माघ २०७६, ११ : ५९
सोमबार, १३ माघ २०७६

इन्डक्सन चुल्होकै माध्यमबाट भान्सामा खाना तयार । सुन्दा त खुब आनन्द आउँछ । ग्रिन इनर्जीका लागि पनि योभन्दा उत्तम विकल्प त अरू के नै हुन सक्छ र ? अझ नेपालजस्तो जलविद्युत्मा धनी भएको देशका लागि इन्डक्सन चुल्हो एक मात्रै विकल्प भएको र नेपाली धनी हुने आधार मानिरहेका छौँ हामी ।

तर के साँच्चै नै इन्डक्सन चुल्होको माध्यमबाट खाना पकाउँदा सस्तो पर्ला त ? के यथाअवस्थामा इन्डक्सन चुल्होको प्रयोग सम्भव छ त ? यो प्रश्न भने निकै पेचिलो बन्दै गएको छ ।

केही समय अगाडि एउटा अनुसन्धान गरियो । अनुसन्धानका क्रममा आधा किलो चामल लिएर इन्डक्सन चुल्हो र ग्याँस बालेर दुवै स्थानमा पकाइयो । अनुसन्धानले इन्डक्सन चुल्होबाट खाना पकाउँदा छिटो पाक्यो भने लागत मूल्य पनि कम भएको देखायो ।

तर कुनै एउटा सामान्य कुरा पकाएर मात्रै गरिएको उक्त अध्ययन व्यवहारमा भने त्यति प्रभावकारी छैन । अहिलेकै मूल्यलाई आधार मान्ने हो भने इन्डक्सनमा खाना पकाउँदा झनै महँगो पर्ने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल इन्जिनियर सागर ज्ञवालीका अनुसार उपभोक्ताले प्रयोग गर्ने विद्युत्को मूल्य घटेको अवस्थामा मात्रै इन्डक्सन चुल्हो ग्याँसभन्दा केही सस्तो पर्ने देखिएको छ ।

फोटो : इ. सागर ज्ञवाली, असिस्टेन्ट म्यानेजर, नेपाल विद्युत् प्राधिकरण

यदि अहिले काठमाडौँ उपत्यकामा ४ सय युनिटभन्दा बढी विद्युत् खपत भएको अवस्थामा प्रतियुनिट १३ रुपैयाँ तिर्नुपर्छ भने २ सय ५१ युनिटदेखि ४ सय युनिटसम्म विद्युत् खपत भएको अवस्थामा प्रतियुनिट १२ रुपैयाँका दरले विद्युत्को महसुल तिर्नुपर्छ । उपत्यकाका अधिकांश घरायसी ग्राहकले १ सय ५१ युनिटदेखि २ सय ५० युनिटसम्म विद्युत् खपत भएकाले उनीहरुले प्रतियुनिट ११ रुपैयाँका दरले विद्युत्को महसुल तिरिरहेका छन् ।

तर यदि कुनै ग्राहकको घर ठूलो छ, उक्त घरमा पानीको मोटर, वासिङ मेसिन, हिटर आदि प्रयोग गरिन्छ भने उक्त घरमा ४ सय युनिटभन्दा बढी पनि विद्युत् प्रयोग हुने गरेको छ । यस्तो अवस्थामा उनीहरुले प्रतियुनिट १३ रुपैयाँका दरले विद्युत् महसुल तिर्नुपर्छ । इन्जिनियर ज्ञवालीका अनुसार यदि विद्युत्को महसुल नघटेको अवस्थामा भने इन्डक्सन चुल्हो ग्यासभन्दा पनि महँगो पर्ने छ ।

फोटो : महसुल दर

अब कुरा गरौँ १३ रुपैयाँका दरले विद्युत्को महसुल तिरेर इन्डक्सन चलाउँदा सस्तो पर्ला त ?

पहिले इन्डक्सन र ग्याँस चुल्होबीचको मूल्य अन्तरको हिसाब गरौँ ।

अहिले एक सिलिन्डर ग्याँसको मूल्य १ हजार ४ सय ३० रुपैयाँ पर्छ । उक्त ग्याँसको तौल १४ दशमलब २ किलोग्राम हुन्छ । अहिले सामान्य रूपमा १४ दशमलब २ किलोग्राम भएको ग्याँसको मूल्यलाई १ हजार ४ सय मात्रै राखेर हिसाब गरौँ ।

१४ दशमलब २ किलोग्राम भएको ग्याँसलाई प्रयोग गरी खाना पकाउँदा आउने शक्ति वा तापलाई आधार मान्ने हो भने इन्धनबाट तापमा रूपान्तरण हुँदा करिब ६० प्रतिशत मात्रै ताप दिने गर्छ । यदि ग्याँस चुल्होबाट १ लिटर पानी तताउने हो भने ५ मिनेट ३६ सेकेन्ड लाग्छ । यता त्यही १ लिटर पानी इन्डक्सन चुल्होमा तताउने हो भने २ दशमलब ५८ सेकेण्डदेखि ४ दशमलब ४ मिनेटसम्म लाग्छ । यसैलाई आधार मानेर यदि महिनाभरको हिसाब निकाल्ने हो र एउटा सिलिन्डरले एक महिनासम्म खाना पकाउन पुग्छ भनेर हिसाब गर्ने हो भने एक महिनामा सकिने ग्याँसको मूल्य १ हजार ४ सय रुपैयाँ हुँदा यदि इन्डक्सन चुल्हो प्रयोग गर्ने हो भने १ हजार ३ सय ४२ रुपैयाँ ७७ पैसाको विद्युत् खपत भएको हुन्छ ।

तर उक्त मूल्य भने प्रतियुनिट ११ रुपैयाँका दरले तिर्दा मात्रै हो । यदि विद्युत्को मूल्य प्रतियुनिट १३ रुपैयाँ छ भने ग्याँसभन्दा प्रतिमहिना करिब १ हजार ५ सय ८६ रुपैयाँ ९१ पैसा पुग्छ । जुन ग्याँसभन्दा महँगो पर्न जान्छ ।

अहिले काठमाडौँ उपत्यकाका धेरै ग्राहकले प्रतियुनिट १२ रुपैयाँका दरले विद्युत्को महसुल तिरिरहेका छन् । त्यही मूल्यलाई आधार मान्ने हो भने पनि इन्डक्सन चुल्हो ग्याँस चुल्होभन्दा करिब ६५ रुपैयाँ महँगो पर्न जान्छ । तर जब प्रत्येक घरमा इन्डक्सन चुल्होको प्रयोग हुन थाल्छ, विद्युत्को खपत बढ्न गई मूल्य करिब १३ रुपैयाँ प्रतियुनिट नै पुग्छ । जसको कारण यसको मूल्य ग्याँसको भन्दा बढी नै हुन्छ ।

उपत्यकामा तत्काल सम्भव छैन इन्डक्सन चुल्हो

अहिले ग्याँसभन्दा इन्डक्सन चुल्हो सस्तो पर्ने भनेर दाबी गरिए पनि अहिलेकै महसुल दरमा त्यो झनै महँगो पर्छ । त्यसबाहेक अहिलेकै संरचनाले काठमाडौँ उपत्यकामा इन्डक्सनको प्रयोग सम्भव छैन । किनभने इन्डक्सन प्रयोगका लागि आवश्यक पूर्वाधार प्राधिकरणसँग छैन । त्यहाँबाहेक ग्राहकको घरमा भएको पूर्वाधारले पनि इन्डक्सन चुल्होको प्रयोगलाई थेग्न सक्ने अवस्था रहेको छैन ।

अहिले ग्रामीण भूभागका अधिकांश स्थानमा ५ एम्पीएरको एमसीबी राखिएको हुन्छ । जबकि एउटा इन्डक्सन मात्रै प्रयोग गर्दा पनि त्यसले करिब ५ एम्पिएर विद्युत् प्रयोग गरिरहेको हुन्छ । त्यसकारण ग्रामीण भूभागमा राखिएको ५ एम्पिएरको एमसीबीले इन्डक्सन चुल्हो धान्नै सक्दैन ।

सहरी क्षेत्रका अधिकांश पुराना घरमा पनि १५ एम्पिएरको मात्रै एमसीबी राखिएको हुन्छ । तर एउटा मात्रै बर्नर भएको इन्डक्सनका लागि पनि करिब १५ एम्पिएरको एमसीबी चाहिन्छ । किनभने उक्त इन्डक्सनले १२०० देखि १८०० वाटसम्म विद्युत् खपत गर्न सक्छ । यदि एउटाभन्दा बढी बर्नर भएको इन्डक्सन प्रयोग गर्ने हो भने त्यसले विद्युत् खपतसमेत बढाउँछ र त्यसका लागि ५० एम्पिएरसम्मको एमसीबी आवश्यक हुन्छ । किनभने इन्डक्सन चुल्होसँगै अन्य विद्युतीय उपकरणको पनि प्रयोग भइरहेका कारण इन्डक्सन चुल्होको मात्रै क्षमता हेरेर हुँदैन । त्यसैले १५ एम्पिएर क्षमता भएको घरमा एउटा मात्रै बर्नर भएको एउटा इन्डक्सन चुल्हो चलाउन सम्भव देखिन्छ ।

सहरी क्षेत्रको घर नयाँ हो र त्यहाँ ३० एम्पिएरको एमसीबी उपलब्ध गराइएको छ भने उक्त घरमा एकै पटक दुईवटासम्म इन्डक्सन चुल्हो प्रयोग गर्न सकिन्छ । तर एमसीबी वा एम्पिएरको क्षमता मात्रै बढेर पनि पुग्दैन, घरभित्रको वायरिङ कुन गुणस्तर वा क्षमताको छ भनेर पनि बुझ्नुपर्छ । यदि घरमा सानो तार प्रयोग गरी विद्युत्को लाइन् बनाइएको छ वा १५ एम्पिएरसम्मका लागि मात्रै विद्युत् पास हुने तार प्रयोग गरिएको छ भने त्यस्तो घरमा इन्डक्सन चुल्हो चल्न सम्भव छैन । किनभने पावर सकेटदेखि घरभित्रको वायरिङको लागि आवश्यक तार पनि त्यही गुणस्तरको हुनु आवश्यक छ ।

सामान्यताः सहरीक्षेत्रको एउटा घरमा कम्तीमा २ वटा भान्सा रहेको हुन्छ । त्यसकारण पनि कम्तीमा दुईवटा भान्सा प्रयोग गर्ने हुनाले २ वटा भान्सामा इन्डक्सन राख्ने हो भने त्यही अनुसारको संरचना आवश्यक हुन्छ र विद्युत्को क्षमता पनि त्यही अनुसारको हुनु आवश्यक छ । तर काठमाडौँ लगायत सहरीक्षेत्रको अधिकांश घरहरु १५ एम्पिएर क्षमताका विद्युत् र त्यही अनुसारको तार प्रयोग गरिएकाले तत्कालै इन्डक्सन चुल्होको प्रयोग गरी खाना पकाउन सम्भव छैन ।

तार र ट्रान्सफर्मरले धान्दैन

अहिले विद्युत् प्राधिकरणले तयार पारेको पूर्वाधार पनि इन्डक्सन चुल्होका लागि उपयुक्त छैन । अहिले नै पिक आवर (बढी बत्तीको प्रयोग हुने समय) मा विद्युत्को लोड धान्न नसकेर प्राधिकरणले विभिन्न स्थानको बत्ती काटिदिने गरेको छ । खासमा विद्युत् नभएर भन्दा पनि ट्रान्सफर्मर तथा तारको क्षमताले नभ्याएर हो । पिक आवरमै उपभोक्ताले बत्ती बाल्ने, वासिङ मेसिन र मोटर चलाउने, इन्डक्सन चुल्हो प्रयोग गर्न थाले भने पनि ट्रान्सफर्मरले धान्न सक्ने अवस्था रहँदैन । त्यसकारण हामी ग्याँस सिलिन्डर विस्थापित गरी इन्डक्सन चुल्होमा जाने हो भने पहिले प्राधिकरणले आफ्नो ट्रान्सफर्मर तथा तारको क्षमतामा वृद्धि गर्नुपर्ने हुन्छ । नत्र यथाअवस्थामा इन्डक्सनको प्रयोग गर्न थाल्ने हो भने ट्रान्सफर्मर जल्ने क्रम सुरु हुनेछ ।

आगामी वर्षदेखि नेपालमा उत्पादित विद्युत्ले सामान्यतः यहाँको माग धान्नसक्ने अवस्था देखिन्छ । तर सन् २०२५ लाई आधार मानेर विद्युत् खपतको कुरा गर्ने हो भने सन् २०२५ पछि विद्युत् के गर्ने भन्ने अन्योल कायम नै रहन सक्छ । त्यसकारण पनि ग्याँस र पेट्रोलजन्य पदार्थको बिस्तारै कम प्रयोग गरी क्लिन इनर्जी अर्थात् विद्युत्मा जानुको विकल्प छैन । तर त्यसका लागि घरदेखि प्रसारणलाइनको क्षमतामा वृद्धि गर्नैपर्छ ।

ग्याँस सिलिन्डरको बिस्थापन तत्काल सम्भव छैन

अहिले कतिपयले ग्याँसभन्दा विद्युत् सस्तो भनेर हौवा फिँजाएको भए पनि तत्कालका लागि ग्याँस नै सस्तो पर्ने देखिन्छ । तर यदि प्राधिकरणले घरायसी ग्राहकका लागि प्रतियुनिट ८ रुपैयाँमा विद्युत् उपलब्ध गराएको अवस्थामा भने इन्डक्सन चुल्हो केही सस्तो पर्ने देखिन्छ । तर विद्युत्को महसुल घटेको अवस्थामा पनि तत्कालै ग्याँस सिलिन्डरको बिस्थापन सम्भव भने छैन ।

किनभने कुनै समय केही भएर विद्युत् आपूर्ति बन्द भएको अवस्थामा ग्याँसको विकल्प रहँदैन । दोस्रो इन्डक्सन चुल्होमा सबैखाले खानेकुरा पकाउन सम्भव पनि छैन ।

इन्डक्सन चुल्होमा खानेकुरा पकाउँदा त्यसमा प्रयोग हुने भाँडा पनि हामीले प्रयोग गरिरहेका भाँडा हुन सक्दैन । त्यसका लागि अर्कै प्रकारका भाँडा चाहिन्छन् । फलाम वा स्टिल भएको भाँडा मात्रै इन्डक्सन चुल्होका लागि उपयुक्त हुन सक्छ ।

इन्डक्सन चुल्होले सोझै पानीमा ताप दिएर उम्लने काम गर्छ । इन्डक्सनले विकिरण फाल्छ र त्यो सोझै पानीले लिन्छ अनि मात्रै त्यो पानी वा तरल पदार्थ तात्न वा पाक्न सक्छ ।

उदाहरणका लागि इन्डक्सन चुल्होमा खाना पाकाउने, दाल पकाउने, पानी तताउने आदि गर्न सकिन्छ । किनभने त्यहाँ सोझै पानीको मात्रा रहेको हुन्छ । तर त्यहाँ तकारी भुटेर पकाउन सकिँदैन ।

तर यदि इन्डक्सन चुल्हो इन्फ्रारेड भएको छ भने चाहिँ त्यस्तो भाँडोमा जस्तोसुकै खानेकुरा पनि पकाउन सकिनेछ । किनभने इन्फ्रारेड प्रयोग भएको विद्युतीय चुल्होले ताप नै फाल्छ र त्यसले भाँडो नै तताउँछ । जसका कारण इन्फ्रारेड प्रयोग भएको इन्डक्सन चुल्हो मात्रै तत्कालका लागि सम्भव जस्तो देखिन्छ ।

भविष्य भने विद्युतीय चुल्होमै

तत्कालका लागि ग्याँस विस्थापन गरेर इन्डक्सन चुल्होमा गइहाल्ने अवस्था नरहेको भए पनि भविष्यमा भने इन्डक्सन चुल्होमा जानुको विकल्प छैन । किनभने नेपालले वार्षिक झण्डै ४० अर्बको ग्याँस मात्रै भारतबाट खरिद गर्ने गरेको छ । यसले एकातिर देशको अर्थतन्त्रको ठूलो हिस्सा ग्याँस खरिदमा खर्च भइरहेको छ भने आगामी ५ वर्षभित्रमा नेपालमा ठूलो मात्रामा विद्युत्को उत्पादन भइसक्ने छ । त्यसकारण पनि आगामी ५ वर्षपछि नेपालको भविष्य इन्डक्सन चुल्होमै रहनेछ ।

तर त्यसका लागि मुख्य ३ वटा कुरा बाधक छन् । पहिलो, ग्राहकको घरमा रहेको पूर्वाधार । जबसम्म ग्राहकको घरमा भएको पूर्वाधारमा सुधार हुँदैन, इन्डक्सन चुल्होको प्रयोग सम्भव छैन ।

दोस्रो भनेको नेपाल विद्युत् प्राधिकरणले बनाउने आफ्नो पूर्वाधार हो । अझै पनि पुरानै ट्रान्सफर्मर र तारको भरमा प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाउन सक्दैन । त्यसकारण विद्युत् प्राधिकरणले आगामी एक वा दुई वर्षभित्रमै प्रसारणलाइनको तारको गुणस्तरमा परिवर्तन र ट्रान्सफर्मरको क्षमता बिस्तार गरिसक्नुपर्ने हुन्छ ।

र, तेस्रो तथा महत्त्वपूर्ण कारक भनेको विद्युत्को महसुल नै हो । जबसम्म विद्युत्को महसुल घट्न सक्दैन र कम्तीमा पनि घरायसी ग्राहकका लागि प्रतियुनिट १० रुपैयाँभन्दा सस्तोमा विद्युत् प्राप्त गर्न सकिँदैन, इन्डक्सन चुल्हो सस्तो भन्ने हौवा मात्रै हुनेछ । बरु इन्डक्सन चुल्हो र त्यसमा प्रयोग हुने उपकरणका लागि ठूलो रकम विदेश पलायन मात्रै हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप