मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आर्थिकस्तर उकास्न सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ

आइतबार, १२ माघ २०७६, २१ : २१
आइतबार, १२ माघ २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीको सरकार विपन्न नागरिकको आर्थिकस्तर उकास्न लागीपरेको बताएबका छन् ।

मध्यनेपाल नगरपालिका–४ स्थित बोटेगाउँमा आज जनता आवास कार्यक्रम लमजुङअन्तर्गत निर्माण गरेको बोटे समुदायको आवास भवन हस्तान्तरण कार्यक्रममा घर सम्पन्न प्रमाणपत्र र साँचो वितरण गर्दै मुख्यमन्त्री गुरुङले संविधानमा पनि मौलिक हकअधिकारमा खाना, छाना र नाना रहेकोले यसको कार्यन्वयन गर्ने प्रक्रियामा सङ्घीयदेखि प्रदेश सरकार लागीपरेको बताए । 

विपन्न नागरिकको आयस्रोत उकास्न कृषिलाई आधुनीकरण, यान्त्रीकरण र व्यवसायिकीकरण गर्नुपर्ने र त्यसका लागि सङ्घीय र प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

गण्डकी प्रदेशलाई आगामी पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रयासमा प्रदेश सरकार अघि बढेको उनको भनाइ छ । त्यसका लागि १५ वर्षीय योजना निर्माण प्रदेश सरकारले गर्न लागेको मुख्यमन्त्री गुरुङले बताए । 

प्रदेशलाई पर्यटन क्षेत्र, विद्युत्, सडक, खानेपानी, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा अगाडि बढाउन लगानी गरिरहेको उनले बताए ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इन्चार्ज तथा प्रदेश सांसद मायानाथ अधिकारीले कम्युनिष्ट सरकारले नै मुलुक विकास निर्माणको काम गरिरहेकाले छिट्टै विकासले मुलुकको फट्को मार्ने बताए ।

शहरी विकास तथा भवन कार्यालय गोरखाले निर्माण गरेको लोपोन्मुख बोटे समुदायको ५० वटा नयाँ घर हस्तान्तरण भएको छ ।

जिल्लामा रहेको बोटे समुदायमध्ये रम्घामा रहेका २८ घर, बेँसीशहर नगरपालिका भरबोटस्थित नौ वटा घर र दोर्दी गाउँपालिकास्थित भीरकुनामा रहेका १३ घर उक्त कार्यक्रमअन्तर्गत नयाँ घर निर्माण गरी बोटे समुदायलाई हस्तान्तरण गरेको हो । 

जनता आवास कार्यक्रम लमजुङको संयोजक तथा प्रदेश सांसद धनञ्जय दवाडीका अनुसार प्रत्येक घर निर्माणका लागि रु तीन लाख ३२ हजार ५०० का दरले रकम दिएको थियो । 

वर्षौदेखि झुपडीमा जीवन बिताउँदै नयाँ घरको सपना देखेका बोटे समुदायले नयाँ घर पाएपछि निकै हर्षित भएका छन् । नयाँ घर पाएर खुशी भए पनि अझै धेरै विकासको अपेक्षामा बोटे समुदाय रहेको ४५ वर्षीय हेविन्द्र बोटेले बताए । 

धेरै वर्षदेखिको वृद्ध पूर्णबहादुर बोटेको सपनाका दृश्य केही परिवर्तन भएता पनि पूर्णरुपमा अझै परिवर्तन भएको छैन । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा र व्यवसाय लोप भएको र यसको विकल्प खोल्नुपर्ने बोटे समुदायको भनाइ छ । 

उचित शिक्षा नपाउँदा बस्तीमा चेतनास्तरसमेत माथि उकासिन नसकेको र शिक्षा नै नभएकाले स्वास्थ्य, सरसफाइ, रोजगारीजस्ता क्षेत्रमा पनि सुधार सरकारले गरिदिनुपर्ने निरा बोटेले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप