शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूपू सैनिकबाट लुटिएको ५० लाखले मोटरसाइकल खरिद ! (भिडियो सहित)

बल्ने ढुङ्गाको नाममा लुटपाट, ६ जना पक्राउ
आइतबार, १२ माघ २०७६, १५ : ०६
आइतबार, १२ माघ २०७६

काठमाडौँ । अवकाश प्राप्त भूपू सैनिकबाट लुटपाट भएको रकमबाट लुटेराले मोटरसाइकल किनेको खुलासा भएको छ । प्रहरीले लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमार बहादुर बुढाथोकी, तेन्जिङ बहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।

माघ १० गते उनीहरुले भगवानपाउ बस्ने सेनाका अवकाशप्राप्त सुवेदार बच्चुराम गुरुङको ५० लाख रुपैयाँ लुटेको महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले पुष्टि गरे ।

भीमबहादुरले आफूसँग ‘बल्ने ढुङ्गा’ छ खरिद गर्ने हो भन्दै बच्चुरामलाई तार्केश्वर नगरपालिका–२ काभ्रेस्थली शान्तिधाम मन्दीर नजिकै बोलाएर आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको एसएसपी थापाको भनाइ छ ।

चोरी गरेको रकमबाट भीमबहादुर घर्तीमगरले २०० सिसीको मोटरसाइकल किनेको पाइएको एसएसपी थापाले बताए । थापाले भने, ‘भीमबहादुरले लुटपाट गरी पाएको ७ लाखमध्ये ३ लाख ३० हजारमा लु५९प २१३५ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल किनेको छ ।’

पैसा लुटेकै दिन भीमबहादुरले मोटरसाइकल किनेको एसएसपी थापाको दावी छ ।

यस्तै सञ्जित वाइवाले डाँका गरी पाएको रु ५ लाखमध्ये २ लाख ११ हजार सानिमा विकास बैङ्कमा जम्मा गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । यस्तै ७७ हजारमा सुनको औंठी बनाएको, १९ हजारमा ओपो मोबाइल किनेको र १ लाख रुपैयाँ घर बनाएको ऋण तिरेको पाइएको छ ।

दावा छिरिङ तामाङले डाँका गरी पाएको नगद रु ५ लाखमध्ये १ लाख ५० हजार ऋण लिएको रकम तिरेको खुल्न आएको सम्मेलनमा महाशाखाका प्रवक्ता मुकेश कुमार सिंहले जानकारी दिए ।

यता, कुमार बहादुर बुढाथोकीले डाँका गरी पाएको ४ लाख ५० हजारमध्ये ७५ हजार कोठाभाडा तिरेको र १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको प्रवक्ता सिंहको भनाइ छ ।

नकुर तामाङले डाँका गरी पाएको ५ लाखमध्ये ३० हजार फाइनान्सको किस्ता तिरेको र बाँकी नगद खाईपिइमा खर्च गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साथहरुबाट ४ थान मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । सञ्जित वाइवाको साथबाट २३ हजार ५ सय, तेन्जिङ बहादुर तामाङको साथबाट ५ लाख ८० हजार, भिमबहादुर घर्तीमगरको साथबाट ३ लाख ५ हजार, नकुर तामाङको साथबाट ४ लाख ३१ हजार, कुमार बुढाथोकीको साथबाट २ लाख ५ हजार र दावा छिरिङ तामाङको साथबाट ३ लाख ३१ हजार बरामद भएको छ ।

यस्तै मोबाइलहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र अलौकिक चिजवस्तुहरु जस्तै बल्ने ढुङा, वनझाक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शङ्ख, नक्कली सुन, नक्कली डलर, पुरातात्त्विक सामानलगायतका चिजवस्तुहरु आफूसँग छ भनि खरिदका लागि एकान्तमा बोलाई समूह मिली लुटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप