बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भन्सार प्रशासनसँग व्यवसायीका दर्जन गुनासा

आइतबार, १२ माघ २०७६, १४ : ५३
आइतबार, १२ माघ २०७६

काठमाडौं । नेपालको भन्सार प्रशासन सुधारोन्मुख रहेपनि त्यसको अनुभूति भने कम गर्न पाएको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन् । भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुले भन्सार प्रशासनमा अझै पजि एक दर्जनभन्दा बढी सुधार गर्नुपर्ने खाँचो औंल्याएका हुन् । 

उनीहरुले भन्सारको जाँचपासमा अझै पनि सन्दर्भ मूल्य र न्यून बिजकीकरणको समस्या रहेको, चीनसँगका नाकाहरुमा अझैपनि बैंकिङ प्रणालीमार्फत् कारोबार हुन नसकेको, भिसिटिएस (भेइकल एण्ड कन्साइनमेन्ट ट्राकिङ सिस्टम) मो अनुगमन प्रणालीमा अहिले पनि समस्या देखिएको, तेस्रो मुलुकबाट आउने सामान गुणस्तरीय नभएका जस्ता दर्जन भन्दा बढी समस्या औंल्याए । 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले पनि भन्सारमा सामानहरुको वर्गीकरण र मूल्याँकनमा ठूलो समस्या रहेको बताइन् । उनले न्यून बिजकीकरणको निरुत्साहनका लागि गरिएको सन्दर्भ मूल्यको कार्यान्वयन प्रभावकारी नहुँदा व्यवसायीहरुले अझै पनि भन्सारमा दुःख पाइरहेको बताइन् । 

त्यस्तै उनले सिपिङको भुक्तानीमा समस्या देखिएको, भीसिटीएसको अनुगमन प्रभावकारी नभएको भन्दै यसलाई सुधार गर्न अर्थमन्त्री युवराज खतिवडाको ध्यानाकर्षण समेत गराइन् । राणाले भारतबाहेकका तेस्रो मुलुकबाट नेपाल भित्रिएका सामानहरु गुणस्तरीय हुन नसकेको कारण भन्सारले गुणस्तर र क्वारेन्टाइनको परीक्षणको काम गर्नुपर्ने आवश्यकता समेत औंल्याइन् । ‘भन्सार आयात र निर्यातको जाँचपास गर्ने मात्रै निकाय होइन, यसले जनता र जनतालाई जोड्न सक्नुपर्छ, देशको आवश्यकता र जनस्वास्थलाई समेत विचार गरेर नियन्त्रण र सहजीकरणको काम गर्नुपर्छ’ उनले भनिन् । 

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले २० वर्ष अघिको भन्सार प्रशासन र अहिलेको भन्सार प्रशासनलाई हेर्दा भन्सारमा निकै ठूलो परिवर्तन देखिएको भए पनि सुधारका केही कामहरु अझै गर्नुपर्ने धारणा राखे । 

‘म २० वर्ष पहिलेको कुरा सम्झन्छु, विदेशबाट सामान ल्याउनुपरे एकजना वाणिज्य विभागमा, एकजना भन्सार विभागमा र एकजना बैंकमा खटिनुपथ्र्यो, अहिले २१ ओटा निकाय एकैठाउँमा आएका छन्, घरबाटै काम हुन्छ, यो ठूलो उपलब्धी हो ।’ उनले भने– ‘तर अझैपनि हाम्रा केही समस्या छन्, सन्दर्भ मूल्यका कारण व्यवसायीहरुले दुःख पाइरहेकै छन्, त्यसलाई सुधार गर्नुपर्यो । बल्क कार्गोलाई वीरगञ्जबाहेक अरु दुई नाकाबाट आउन दिने भनिएको थियो, त्यसको कार्यान्वयन गर्नुपर्यो ।’ 

मोरले पछिल्लो समय नेपालको आयात घटेको देखिए पनि सरकारी आयात र कर नीतिका कारण चोरी पैठारी बढेको हुनसक्ने आशंका समेत व्यक्त गरे । त्यस्तै उनले ३ वर्षपछि पोष्ट अडिट हुने र त्यसमा फरक देखिए ठूलो जरिवाना गरिने प्रावधानलाई सच्याउन समेत माग गरे । 

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले एक तहको कर नीति ३ तहमा पुगेको भन्दै यसले उद्योगी व्यवसायीमा थप झन्झट थपेको थपेको भन्दै यो समस्या समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराए । उनले भने– ‘स्थानीय कर ४÷५ गुणाले बढ्यो, कर तिर्नकै लागि पुख्र्यौली सम्पत्ति बढ्नुपर्ने अवस्था आयो, यसमा अर्थमन्त्रीले हेर्नुपर्यो ।’

त्यस्तै, उनले उत्तरी नाकाहरुमा अझैपनि बैंकिङ प्रणालीमार्फत् भुक्तानी हुन नसकेको भन्दै चीनबाट आयात हुने सामानमा समेत त्यस्तो व्यवस्था गर्न आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप