शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुट जोगाउन सिटौलाको सक्रियता बढ्दो : देश हाँक्ने ‘अर्जुन’को खोजी

आइतबार, १२ माघ २०७६, १३ : १५
आइतबार, १२ माघ २०७६

काठमाडौँ । नेपाली काँग्रेसमा १३औँ महाधिवेशनबाट तेस्रो ध्रुवको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको सक्रियता पछिल्लो दिन निकै बढ्दो छ ।

उनको सक्रियता बढ्नुमा पार्टीभित्रको आन्तरिक विवादसँगै आफू नेतृत्वको ध्रुवमा आएको डगमगको करण देखिन्छ ।

मङ्सिर २६ गतेबाट काँग्रेसभित्रको सिर्जित विवादमा सिटौला निकट नेताहरु गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल, शिव हुमागाईंबीच तादम्यता मिलेन ।

गगन र प्रदीप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको कित्तामा उभिए भने चौधरी र हुमागाईं सभापति शेरबादुर देउवाको कित्तामा । तर सिटौला भने आफ्नो गुटको अस्तित्व देखाउन व्यस्त थिए ।

सोहीअनुसार उनले १५ पुसको साँझ बूढानीलकण्ठ पुगेर सभापति देउवालाई लिखित पत्र बुझाए । पूर्वका जिल्लाको भ्रमणमा निस्किए सिटौला । उनी पूर्वका जिल्लामा रहेका बेला २१–२३ पुसमा पौडेल पक्षले बोलाएको बैठकमा गगन र प्रदीपको उपस्थिति थियो ।

तर उनी उपत्यका बाहिरबाट जिल्ला सभापतिको परामर्श बैठकमा समेत सहभागी हुँदा चौधरी र गुमागाईं झुल्केनन् । अनि काँग्रेस वृत्तमामा सिटौला गुट १४औैँ महाधिवेशनसम्म के हुन्छ भनी प्रश्न उठ्यो ।

२९ पुसमा सिटौलानिकट विद्यार्थी नेता बलदेव तिमिल्सिनाको संयोजनमा गिरिजाप्रसाद (जीपी) कोइराला, लोकतन्त्र संवद्र्धन केन्द्रले तेस्रो समूहमा रहेका सबै नेतालाई एउटै मञ्चमा राख्न प्रयत्न भयो । जसमा सिटौलासहित नेताहरु प्रदीप पौडेल, शिव हुमगाईं, भीमसेनदास प्रधान, धना खतिवडा र कालीकोट जिल्ला सभापति हर्ष बम, सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामा, उदयपुरका जिल्ला सभापति  विदुर बस्नेत, ताप्लेजुङका जिल्ला सभापति  लिला बोखिमलगायत सहभागी थिए ।

त्यही मञ्चबाट सिटौलाले १३औँ महाधिवेशनदेखि आफूसँग जोडिएका सबै नेता तथा कार्यकर्ता एकै ठाउँ रहेको दलिल पेस गरका थिए ।

नेता प्रधानले सोही कार्यक्रममा अब महाभारतमा कृष्णजस्तो सिटौलालाई काँग्रेसभित्र पनि सारथि बन्न सुझाएका थिए ।

तर सिटौलाले भने देउवा र पौडेलको सारथि बन्न आफू तयार नरहेको पनि बताए ।

‘भीमसेनजीले मलाई कहिलेकाहीँ भन्नु हुन्छ, ‘तपाईं महाभारतको सारथि’,’ उनले भने, ‘अर्जुन पाए त सारथि हुनु, अर्जुन कोही नहुने म कताबाट कसका लागि सारथि हुने ? समस्या यहाँ छ ।’

उनले अगाडि थपे, ‘मलाई देश हाँक्ने अर्जुन चाहियो, जबसम्म देश हाँक्ने सारथि देख्दिनँ तबसम्म कसैको सारथि बन्न आवश्यक छैन ।’

तर उनी १४औँ महाधिवेशनमा अर्जुन बन्ने मनस्थितिमा भने देखिँदैन । अर्को कुुरा आफूनिकट नेताहरु १४औँ महाधिवेशनसम्म साथमा रहन्छन्, रहँदैनन्, सिटौलालाई आशङ्का छ । आफ्नो गुट यथावत् रहेको सन्देश दिन राखिएका कार्यक्रमा गगन र चौधरीको अनुपस्थितले त्यो आशङ्काको ठाउँलाई थप फराकिलो बनाएको देखिन्थ्यो । किन कि सिटौलाको पार्टीको कार्यगत एकता पनि स्थिर छैन । १४औँ महाधिवेशनपछि ०७४ को आम निर्वाचनसम्म उनी सभापति देउवासँगै थिए ।

देउवासँगको कार्यगत एकता सिटौलाले केही भ्रातृ संस्थाहरूमा बलियो ढङ्गले स्थान जमाए । तर निर्वाचनपछि भने उनी मुद्दागत रूपमा पौडेल नजिक छन् ।

काँग्रेसमा सिटौलाको उपस्थति अर्थपूर्ण पनि देखिन्छ । उनी पौडेलसँग नजिकिएपछि भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनमा देउवा पक्ष पराजित हुन पुगेको थियो ।

बेलाबेला देउवा–पौडेल पक्षको केही नेताहरुले सिटौलाको ‘हैसियत’माथि प्रश्न उठाए काँग्रेसभित्र उनको स्थान जर्बस्त देखिन्छ ।

त्यसैले पनि उनी देउवा– पौडेल समूहमा मिसिन चाहँदैन । सिटौलालाई पौडेल समूहमै एकाकार गराउने प्रयास दुई वर्षदेखि चल्दै आएको छ । यता सभापतिको आकाङ्क्षी महामन्त्री शशाङ्क कोइरालाले देउवाबाट नेतृत्व खोस्न सिटौलाको साथ अपरिहार्य भएको सार्वजनिक मञ्चबाटै भन्ने गरेको पाइन्छ ।

यता पार्टी विवाद समाधानका विषयमा आफूले समन्वयका लागि स्पेस नपाएको गुनासो गर्दै आएका सिटौलाले पछिल्लो चरणमा त्यो पनि पाए । उनी देउवा र पौडेलदेखि उसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीचको छलफलमा आफ्नो गुटको अस्तित्व रक्षाका लागि ‘बार्गेनिङ’ मा थिए । त्यसमा सिटौलालाई पूर्ण सफल मिलेको  देखिन्छ । किनेभने काँग्रेसका अर्थपूर्ण भ्रातृ सङ्गठन नेविसङ्घ र तरुण दलमा बलियो थियो, र बन्दै गएको छ ।

शुक्रबार देउवा निवासमा भएको सहमतिमा पनि उनी हाबी भएको देखिन्छ । नेविसङ्घमा उनी २८ प्रतिशतभन्दा बढी हिस्सा खोस्न सफल भए । तरुण दल र महिला सङ्घमा पनि उनको संस्थान निर्णायक नै देखिन्छ ।

महाधिवेशनको मुखमा थप शक्ति सञ्चय गर्न उनी भरथेग प्रयासमा देखिन्छन् ।

तर उनी १४औँ महाधिवेशनमा देउवा– पौडेलको विकल्पमा सशक्त अर्को समूह बनाउने मनसाय देखिन्छ ।

जसका लागि सिटौलाले शशांकभन्दा शेखरमा ‘अर्जुन’ देख्ने गरेको कतिपयको बुझाइ छ । तर उनले अर्जुनका रूपमा कुनै पनि पात्रलाई अगाडि सारेका छैनन् ।

पछिल्लो समय सिटौला र गगनसँग शेखरको हिमचिम पनि बोक्लो छ । पछिल्लो उदहारण हो, २० पुसमा जिरिजाप्रसाद कोइराला फाउन्डेसन प्रदेश नम्बर १ द्वारा धनकुटामा आयोजित कार्यक्रममा एउटै माला पहिरिनु ।

जसलाई काँग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । यता १४औँ महाधिवेशनमा ‘हार्ने’ गरी उम्मेदवार नबन्ने सिटौला पक्षको रणनीति देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप