शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘क्रान्तिकारी योद्धा रामप्रसाद राईलाई सिंहदरबारमै हत्या गरियो’

आइतबार, १२ माघ २०७६, १० : ३८
आइतबार, १२ माघ २०७६

००७ सालका क्रान्तिकारी योद्धा रामप्रसाद राईलाई सिंहदरबामै हत्या गरिएको लेखक तथा इतिहासविद गणेश अधिकारीले बताएका छन् । जननायकका रुपमा चिनिने रामप्रसाद राईबारे बोल्दै अधिकारीले उनको मृत्युबारे अन्यौलता रहेपनि रामप्रसादसँगै जेल बसेका सहयात्रीहरुले  सिंहदरबारमै हत्या गरिएको बताएको खुलासा गरेका हुन् । काठमाडौंमा रामप्रसाद राईको सम्झना गर्दै गोपाल किरती नेतृत्वको नेकपा माओवादी (केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले बुधबार आयोजना गरेको ६९ औं सिंहदरबार विद्रोह दिवस कार्यक्रममा प्रमुख वक्ता अधिकारीले यस्तो बताएका हुन् ।

‘०२२ सालमा मेरो साथी शरण राईसँग उनको घर (मोरङको बोरामन) पुग्दा उनका बुवा मछिन्द्र बहादुर राईले सिंहदरबारभित्रै रामप्रसादलाई मारिइसकेपछि आत्मसमर्पण गरेर हतियार बिसाएको कुरा गर्नुभएको थियो । हतियार बिसाइसकेपछि पनि उहाँहरुलाई समातेर कोर्रा हानियो’, मछिन्द्रबहादुरलाई उदृत गर्दै अधिकारीले भने– ‘कोर्रा हानिसकेपछि जबसम्म त्रिभूवन बाँचिरहन्छन्, त्यतिन्जेलसम्म तिमीहरु जेलमै कोचिनुपर्छ भनेर उहाँहरुलाई सन्देश दिइयो रे । बरु लेखेर आइन्दा यस्तो नगर्ने भनी लेखेर आत्मसमर्पण गरौं भनेर उहाँहरुले त्यसो गर्नुभएछ । तर पछि आधिकारीक रुपमा चाहिँ यसबारेर उहाँले केही भन्नुभएन ।’ त्यसैगरि उनले ००७ सालको क्रान्तिपछि बैरागीएका एकजना मुक्तिसेनालाई सानै हुँदा आफैँले देखेको र उनले पनि रामप्रसाद राईलाई सिंहदरबारभित्रै मारिएको बताएको जानकारी गराए ।

अधिकारीले कार्यक्रममा रामप्रसादबारे अर्को कथ्य पनि सुनेको बताए । ‘सानोमा मैले सिंहदरबारमा रामप्रसादलाई मारिएको सुनेको थिएँ । तर विस्तारै नारदमुनि थुलुङ र विद्रोह सफल नभइसकेपछि उनी त्यहाँबाट बाहिर गएको पनि सुनें’, उनले भने– ‘जेहोस्, रामप्रसाद सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । पछि सिंहदरबार विद्रोह रामप्रसादको नेतृव्वमा भए पनि केआइसिंहको नाम अगाडि आयो ।’ उनले ००७ सालको क्रान्तिमा राजनीतिक नेतृत्व नारदमुनी थुलुङले र सैन्य कमाण्ड रामप्रसाद राईले गरेको र कांग्रेसबाहेक नै क्रान्ति सफल पार्नेमा उनीहरु विश्वस्त रहेको पनि बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा माओवादी केद्रका अध्यक्ष गोपाल किरातीले भने– ‘क्रान्तिकारीहरुका लागि रामप्रसादको जन्म र मृत्युभन्दा पनि सिंहदरबार विद्रोह मूख्य कुरा हो । त्यसैले उनीहरुले विद्रोह गरेको दिनलाई हामी सम्झना गरिरहेका छौं ।’

यद्यपि रामप्रसाद राईको मृत्युबारे यकिन भने तथ्य भने रहस्यकै गर्भमा छ । यसअघि रामप्रसादकी छोरी लक्ष्मी राईले बुवाको मृत्यु भएको सामान्य खबरको आधारमा आफूहरुले बागमति किनारमा बसेर बुवाको क्रिया गरेको बताएकी थिइन् । तर रामप्रसादको मृत्यु सिंहदरबारमा भयो वा कतिपय लिखित दस्तावेजहरुमा भनिएजस्तो झुँंगा ओढारमा भयो ? भन्ने कुरा यकिन हुन सकेको छैन । रामप्रसाद राईका जीवनी लेखक भोगीराज चाम्लिङले भने ‘रामप्रसाद राईः माझकिरातदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकमा उनको मृत्यु झुँंगामै भएको निश्कर्ष दिएका छन् ।

‘छहरा साप्ताहिक पत्रिकामा तिब्बत जाने क्रममा रामप्रसादसँगै गएका भोजपुरका पदमबहादुर राईले दिनुभएको अन्तरवार्ताको आधारमा यो निश्कर्षमा म पुगेको हुँ’, भोगीराज चाम्लिङले भने– ‘उहाँले त्यो अन्तरवार्तामा रामप्रसादबारे विस्तृतमा बोल्नुभएको छ । नेपालको सीमाना क्रस गरेपछि हिउँ भएको ठाउँमा पुगेको । केआइसिंहलाई चिसो लागेपछि रामप्रसादले आफ्नो ओभरकोट केआइसिंहलाई दिएको र चिसोले आफू विरामी हुन थालेपछि झुँगाको एक ओढारमा छोडेको साथै केही दिनपछि लिन फर्कदाँ पुरिएको अवस्थामा भेटिएको भनेर बताउनुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप